काठमाडौं विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा अच्युतप्रसाद वाग्ले
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएको छ । आइतबारदेखि पदावधी सकिएपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । केयूका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको जनाइएको छ । विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो । केयूको उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । सरकारले गठन गरेको समितिले उपकुलपति बन्नका लागि मागेको आह्वानबाट १६ जनाले आवेदन दिएका छन् । तर, संस्थापक उपकुलपति सुरेशराज शर्माका भान्जा र एक निजिकका आफन्तले नै आवेदन दिएपछि विवाद सिर्जना भएको छ । सरकारले उपकुलपति नियुक्ति गन्र्न गठन गरेको समिति नै विवादमा मुछिएको हो ।
ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १२ वर्षको अनुभव
काठमाडौं । ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । क्यापिटलको माघ ७ गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसंग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरिन् । नव नियुक्त सञ्चालक श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्न] भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् । ‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।’ उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए । ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति बचत छ ।’ ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपीसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।’ उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा (भट्टराई) ले बताइन् । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।’ सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशीन मन छैन । ‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालिकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाई त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा मङ्गो लाग्यो । हामी यहीँ खुसी छौँ ।’ कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।’ स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ । रासस