कार्की क्याविनेटमा रामेश्वर, ओमप्रकाश र कुलमानको इन्ट्री, १३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूको शपथग्रहण सोमबार हुने भएको छ । सोमबार शपथ लिने तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम तय भएको छ । अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रपति पौडेलले शपथ गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् । अन्य मन्त्रीहरूको भने अझै टुंगो लागेको छैन भन्ने जानकारी प्रधानमन्त्री कार्की निकट स्रोतले दिएको छ । 'नवनियुक्त प्रधानमन्त्री कार्कीले विज्ञहरूलाई आफ्नो क्याबिनेटमा समेट्न चाहेकी छन् । तर कार्कीले चाहेजस्ता धेरै विज्ञहरूले मन्त्री बन्न रुचि देखाएका छैनन्,' स्रोतले भने । संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, शहरी विकास तथा पूर्वाधार मन्त्रालयमा विषयविज्ञलाई नियुक्त गर्ने प्रधानमन्त्रीको चाहना रहेको छ । यस्तै अन्य मन्त्रालयमा पनि राजनीतिक दलमा नरहेका र दाग नलागेका व्यक्तिहरूलाई प्रधानमन्त्रीले खोजिरहेकी एक नवनियुक्त मन्त्रीले जानकारी दिएका छन् । स्राेतका अनुसार, कार्की क्याबिनेटलाई ९ देखि १३ सदस्यीय बनाउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई, सहकार्यको प्रतिबद्धता
काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो । चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । 'हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,' उनले भनेको दूतावासको कथन छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनी शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए । जेन–जी प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग र एकैदिनमा ठूलो संख्यामा युवाहरु मारिएपछि उनले राजीनामा दिएका थिए । कार्की नेपालको ४२ औँ तथा प्रथम महिला प्रधानमन्त्री बनेकी हुन् ।