विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख मनोज सिलवालले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्दशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । सिलवालले मंगलबार रत्नपार्कस्थित प्राधिकरणका मुख्यालमा पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।   

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यस अघिका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र सङ्गठन विभाग डा. जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए ।  'देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ', राजीनामा पत्रमा भनिएको छ, 'त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ ।'