पूर्वसुरक्षाकर्मी परिषद् चन्द्रागिरीको अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा थपलिया
काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरि नगरपालिका कार्य समितिको अध्यक्षमा विक्रम पाण्डे निर्वाचित भएका छन् । समितिको चैत ३० गते सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुब्बा थपलिया, उपाध्यक्ष डाक बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवमा दीपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रेशम भण्डारी, सह सचिवमा सरिता पौडेल निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यमा हिमालय खड्का, प्रकाश राज रेग्मी, शान्ति महर्जन चयन भएको वरिष्ठ उपाध्यक्ष थपलियाले जानकारी दिए । विक्रम पाण्डेको अध्यक्षतामा ग्रीनल्यान्ड पार्टी प्यालेस थानकोटमा सम्पन्न भएको समितिको अधिवेशनको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरी रहेका थिए । साथै कार्यक्रममा विशेष अतिथि उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खडकी, वडा नं ५ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं १३ अध्यक्ष कृष्ण केसी , वडा नं १५का अध्यक्ष घनश्याम लुइँटेल, अतिथिहरु ईश्वर लामा, केन्द्रीय उपाध्यक्ष आनन्द सिम्खडा, केन्द्रीय सचिव तथा प्रवक्ता फडिन्द्र राज घिमिरे, उपाध्यक्ष उत्तर कुमार श्रेष्ठ लगायत २ सयभन्दा बढी पूर्वसुरक्षाकर्मीहरूको भेला रहेको थियो ।
नेपाली सेनामा भर्ना खुला : २,६०० भन्दा बढी जनशक्ति माग, वैशाख २७ सम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको जनाएको छ । सेनाले प्रकाशन गरेको सूचनाअनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि इच्छुक उम्मेदवारहरूले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन सक्नेछन् । उम्मेदवारहरूले वैशाख २७ गतेसम्म नियमित रूपमा आवेदन दिन सक्नेछन् । यदि तोकिएको समयमा आवेदन दिन नभ्याएमा दोब्बर दस्तुर तिरेर थप ७ दिन, अर्थात् जेठ ३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेनाले तोकेको न्यूनतम शैक्षिक योग्यता अनुसार, उम्मेदवारले कम्तीमा कक्षा ८ पास गरेको हुनुपर्नेछ । यस अतिरिक्त, शारीरिक मापदण्डमा पुरुषका लागि ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ । नेपाली सेनामा सेवा गर्न चाहने युवायुवतीहरूका लागि यो एक महत्वपूर्ण अवसर हो । योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवश्यक कागजातसहित आवेदन दिन सेनाले अनुरोध गरेको छ ।
बार एसोसिएसनमा डा. मिश्रको प्यानलै निर्वाचित, कसले कति मत पाए ?
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले विजयी भएका हुन् । नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेको छभने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो । निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन् । महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् । सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौं उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौं उपत्यका बाहिर), किरण पौडेल (काठमाडौं उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) रहेका छन् । बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।