सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त
काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वस्त जनाएको छ ।
सेबोन अध्यक्ष श्रेष्ठले गरे कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् । बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानुन विभागमा थिए । यस्तै, अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरीपेक्षण विभागमा थिए । त्यस्तै, कृष्णराज पोखरेललाई सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए । अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, ३३ वर्षको बैंकिङ अनुभव
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए । यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् । नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।