वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । निर्देशकको लागि न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्की गरी तीनजनाको नाम सिफारिस गरेको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. दिलिप शर्मालाई अस्पतालको निर्देशकको जिम्मेवारी दिएको हो । डा. शर्मा वीर अस्पतालमै वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत थिए । डा. शर्मा प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएको थियो ।
बेष्ट फाइनान्सको सीईओ बने बीएन घर्ती, दशकपछि बैंकिङ क्षेत्रमा पुनरागमन
काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका छन् । घर्तीमाथि लागेका आरोप अदालतले सफाइ दिएपछि उनी पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका हुन् । बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ । फागुन २६ गतेदेखि लागू हुने गरी घर्ती फाइनान्स कम्पनीको सीईओ बनेका हुन् । उनलाई आगामी ४ वर्षको लागि फाइनान्सको सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जानकारी दिए । उनी तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला मुद्दा परेको थियो । लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् । अब्बल बैंकरका रूपमा पनि परिचित उनले केही समयअघि मात्रै ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।
कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल
काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक सञ्चालक समितिका अध्यक्षरामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक सञ्चालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।