सम्पदा लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठलाई
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठले पाएका छन् । मंसिर १० गते सोमबार बसेको कम्पनी सञ्चालन समितिको बैठकको निर्णयअनुसार संस्थाका नायक महाप्रबन्धक पवनकुमार श्रेष्ठले सचिव पदको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जरपश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २८ वर्षको अनुभव रहेको छ । साविक सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई बनेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका ४५ वटा जिल्लामा १५५ वटा शाखा सञ्जालबाट १,७८,३७८ घरधुरीहरूमा सेवा विस्तार गरेको छ । यस वित्तीय संस्थाले ९ अरब ७४ करोड ५७ लाख रुपैयाँ लगानीमा रहेको रकम र २ अर्ब ४७ करोड रुपैयाँ बचत परिचालन गरी रहेको छ ।
पोखरा चाइनिज इटाबाट सय युवालाई रोजगारी
काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान क्लिन इटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल भएको जनाएको छ । यद्यपि उत्पादनको धेरैजसो काम मेशिनमार्फत गरिन्छ । तथापि उद्योगले एक सय जना नेपालीहरूलाई रोजगारी उपलब्ध गराउन सकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आफ्नै ८५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी एक वर्षअघि इटाको उत्पादन सुरु गरेको थियो । झन्डै ५० करोड रुपैयाँ लगानीमा जर्मन होफम्यान क्लिन प्रविधि प्रयोग गरी इटा उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड इटा उत्पादन क्षमता रहेको जनाएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर कृष्णभक्त दुवालले उद्योग स्थापना भएदेखि अहिलेसम्म करिब एक सय नेपाली युवालाई रोजगारी दिन सफल भएको जानकारी गराए । उनले जानकारी दिएअनुसार, यो प्रविधि ४५ वर्षअघि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा प्रयोग गरिएको इटा पोल्ने प्रविधिको आधुनिक रूप हो । ‘सामान्यतया इटा पोल्ने संरचना र जनशक्ति भारतको विहारबाट आएका मजदुरहरूले सञ्चालन गर्दै आएका थिए । तर, पोखराको पोल्याङमा होफम्यान क्लिन प्रविधि प्रयोग गरी नेपाली जनशक्तिबाट नै उत्पादन सुरु गरेका छौं,’ डाइरेक्टर दुवालले भने । कारखाना पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित रहेको छ । जर्मन वैज्ञानिक फ्रेडरिक होफम्यानले सन् १८५८ मा विकास गरेको होफम्यान क्लिन प्रविधिबाट इटा पोल्नका लागि आधुनिक भटाको निर्माण गरी उत्पादन सुरु गरिएको थियो । नेपालमा यो प्रविधि भित्रिएको लगभग आधा शताब्दीपछि यस प्रविधिमार्फत अत्याधुनिक चाइनिज इटा उत्पादन गर्न सफल भएको हो । संसारभरि नै यो होफम्यान प्रविधिलाई इटा उत्पादनमा वातावरणमैत्री प्रविधि मानिन्छ । यस प्रविधिबाट उत्पादन गर्दा अधिकांश काम मेशिनले नै गरिनेछ । ड्रायर बनिसकेपछि वर्षभरि कारखाना सञ्चालन गर्न सकिनेछ । प्रालिले आफ्ना इटा देशभर डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएको छ । नेपालमा यसअघि यो प्रविधिमा आधारित दुईवटा चाइनिज इटा उद्योग—भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग—थिए । तीमध्ये भक्तपुर इटा तथा टायल उद्योग अहिले निजी क्षेत्रद्वारा सञ्चालन हुँदै आए पनि हरिसिद्धि कारखाना बन्द भइसकेको छ ।
कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।