त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, प्रधानमन्त्रीले छान्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ । तर सिफारिस भएका ३ जनाको नाम सार्वजनिक गरिएको छैन । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेकामा प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी भएको छ । केसरजङ्ग बरालले राजीनामा दिएपछि रिक्त उपकुलपति पदमा प्रधानमन्त्रीले चाँडै निर्णय गर्ने बताइएको छ ।
रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लोहनीलाई चार वर्षका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो । लोहनीको कार्यकाल आगामी साउन १८ देखि लागू हुने कम्पनीले जनाएको छ।
प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालक बने पूर्वसीईओ अर्याल
काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो । लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल गत चैत १२ गते सकिएपछि बैंकको अध्यक्ष पद रिक्त थियो । यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाका रमेश राज अर्याल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन् ।