नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूकाे उपस्थित रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् । कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले बिहीबारबाट नै लागु हुने गरी कार्यभार सम्हाल्नेछिन् । ‘उपरोक्त सम्बन्धमा यस कम्पनीको कार्तिक ७ गते सम्पन्न सञ्चालक समितिको २० औं बैठकको निर्णयानुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनी श्री नेपाल होल्डीङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाँउमा भावना बलायर नियुक्त भै आजैका मितिबाट लागु हुने गरी पदभार ग्रहण गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, नेप्सेले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । कार्तिक ७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा अर्ज्याललाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘उपरोक्त सम्बन्धमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मिति २०८१ /०७/ ०७ गते बिहान बसेको ३५३ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य श्री मणिकुमार अर्ज्यालज्यू मिति २०८१ /०७/ ०७ गते देखि लागु हुने गरी सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु,’ नेप्सेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।