कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ । कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौं मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९ सय ६४ सङ्क्रमित भएको र ६४ हजार ७ सय २७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६ सय ३८ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९ सय ९६ उपचारपछि निको भई घर फर्केका छन् । इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।” कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो । गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताएका छन् । कोरोना सङ्क्रमण तिव्र गतिमा बढिरहे युरोपमा रहेका नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उनले बताए । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको जानकारी दिए । आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए । इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९ सय ४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १ सय ६८ मा सङ्क्रमण भएको तथ्याङ्क छ । तीमध्ये ३४ हजार २ सय १९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ । स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको जानकारी दिए । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भने । उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको जानकारी दिए । कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । सङ्क्रमित नेपालीहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५ सय ६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९ सय ५३ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४ सय ३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र सङ्क्रमण दर बढ्दै गएको छ । कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । “घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भने, “अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।” फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको छ । कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए । फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राससलाई जानकारी दिए । नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए । त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको सङ्क्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४० उपचारपछि घर फर्केका छन् । त्यस्तै बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४ सय ३१ मा सङ्क्रमण भएको पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको सङ्क्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ ले ज्यान गुमाएका छन् । ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले राससलाई जानकारी दिनुभयो । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले भने । बेलायतमा रहेका नेपालीहरुलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उनले बताए । उनले अनुसार यकिन तथ्याङ्क नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ । कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ । बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए । कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । सङ्घका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्याङ्क नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ । बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरुलाई कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सर्तकता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झण्डै तीन लाखमा कोरानाको सङ्क्रमण देखा परेको छ । रासस
विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
कर्णाली प्रदेशमा भित्रिए आठ हजारबढी व्यक्ति विदेशबाट
काठमाडौं । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा ८ हजार ६ सय ५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६ सय ५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो । मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४ सय निगरानी कक्ष बनाइएको र हाल त्यसमा १ सय ९२ व्यक्तिलाई राखिएको उनले बताए । यहाँका १० वटै जिल्लागरी ५ सय २५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उनको भनाइ छ । मन्त्री रावलले भने, “अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५ सय २८ क्वारेन्टाइन, ३ सय ३९ आईसोलेसन, १७ आईसियु र सात भेन्टिलेटर स्थापना गरेको छ ।” नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत यहाँका सबै जिल्लामा पुर्याइ सकिएको उहाँले बताए । उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ । दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ । रासस