सामाजिक सुरक्षा कोषमा गएका योगदानकर्ताको चैतको रकम सरकारले तिर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अहिले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । सामाजिक सुरक्षा काेषमा सहभागी भएका श्रमिकहरूले चैतकाे रकम काेषमा जम्मा गर्नु नपर्ने उनले बताए । काेषमा राेजगारदाताले जम्मा गर्नु पर्ने रकम पनि सरकारले जम्मा गरिदिने अर्थमन्त्रीले जानकारी दिएका छन् । लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको उनले जानकारी दिए । कोषमा हाल श्रमिकको पारिश्रमिकको २० प्रतिशत रोजगारदाताको तर्फबाट र कर्मचारीको तर्फबाट ११ गरी ३१ प्रतिशत रकम जम्मा हुँदै आएको छ । हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३ सय १५ रोजगारदाता र १ लाख ५३ हजार २ सय ७० योगदानकर्ता आबद्ध छन् । उनीहरूबाट हालसम्म कुल ८६ करोड ९९ लाख रुपैयाँ रकम संकलन भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले याे लगायत धेरै प्याकेजकाे घाेषणा गरेकाे छ । सरकारले इन्टरनेटमा २५ प्रतिशत छुट दिएकाे छ । एक महिनाकाे घर वहाल कर छुट दिन सरकारले घरधनीलाइ अनुराेध गरेकाे छ ।
भिसा लागेर पनि विदेश जान पाइएन ? यही व्यवसाय गर्ने हो भने अब ७ दिनमै पाइन्छ सस्तो व्याजमा ऋण
काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको छ । नेपालीका प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेशिया, खाडी राष्ट्र जस्ता देशमा अहिले कामको लागि जानै नपाइने भएको छ । कोभिड १९ संक्रमणको कारण केही नेपालीले वैदेशिक रोजगारीको लागि भिसा पाएर पनि जान पाएका छैनन् । यस्ता नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ । एकातिर वैदेशिक रोजगारी गुमेको र नेपालमै उद्यमशीलता प्रबद्र्धन गर्नुपर्ने आवश्यकता रहेकोले विशेष कार्यक्रम ल्याउन लागिएको राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीको लागि भिसा लागेर पनि जान रोकिएकाहरुलाई व्याज अनुदान दिएर ७ दिनभित्रमा ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको छ । ‘वैदेशिक रोजगारमा जाने अनुमति लिइ जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले सर्कुलर जारी गर्दै भनेको छ । राष्ट्र बैंकले अहिले भूकम्प पीडित, वैदेशिक रोजागरीमा गएर फर्केका व्यक्ति, महिला, परम्परागत शीप तथा क्षमता भएका जस्ता समुहलाई लक्षित गरेर ५ प्रतिशत व्याज अनुदानमा ऋण प्रदान हुने व्यवस्था मिलाइरहेको छ । सो व्यवस्था अनुसार बैंक वित्तीय संस्थाले सम्बन्धित व्यक्तिलाई आफ्नो आधार दरमा २ प्रतिशत मात्रै व्याज लिनेगरी कर्जा दिनुपर्ने र सो व्याजको ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था मिलाइएको छ । यसरी कर्जा लिदा कुनै बैंकको आधार दर १० प्रतिशत छ भने सो बैंकले २ प्रतिशत व्याज थप गरेर १२ प्रतिशत व्याज कायम हुन्छ । सो १२ प्रतिशतमा सरकारले ५ प्रतिशत अनुदान दिँदा सम्बन्धित ऋणीले ७ प्रतिशत मात्रै व्याज तिरे हुने कार्यक्रम अहिले पनि संचालनमा छ । राष्ट्र बैंकले अहिले कामका लागि विदेश जाने भिसा लागेर पनि जान नपाएका व्यक्तिहरुका लागि यस्तै कार्यक्रम ल्याउन लागेको हो । सम्बन्धित सामग्री कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)
विदेशबाट फर्कनेलाई १४ दिन क्वारेण्टीनमा बस्न वैदेशिक बोर्डको अनुरोध
काठमाडाैं । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ । बाेर्डले आइतबार एक सूचना जारी गर्दै १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको सङक्रमणको जोखिम हुने भन्दै १४ दिनसम्म आफ्ना परिवार, साथीभाइ तगा आफन्तसँग भेटघाट नगरी एकान्तबासमा बस्न बोर्डले अनुरोध गरेको हो । बाेर्डले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने वस्ता समस्या देखिएको तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि बोर्डको अनुरोध छ । पछिल्लो समय विदेशबाट फर्किएकामा कोरोनाको सङक्रमण पुष्टि भएकाले विदेशबाट फर्कनुभएको छ भने कोरोनाको लक्षण देखिएको छैन भने पनि क्वारेण्टीनमा बस्न सरकारले पनि अनुरोध गरिरहेको छ ।