खाडीमा रहेका राजदुत भन्छन्ः यहाँ नेपालीको रोजगारी गुम्ने भाे, नेपालमा तयारी गरौं
काठमाडौं । कोरोनाको संक्रमणको कारण विश्व अर्थतन्त्रमा गम्भीर संकट देखिएसँगै नेपालीको बैदेशिक रोजगारीमा धक्का लाग्ने भएको छ । खाडी देशमा रहेका नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको नेपालमा त्यसको तयारी गर्नुपर्ने राजदुतहरुले बताएका छन् । ओमानमा करिब १८ हजार नेपाली कामदार छन् । ओमानमा रहेका नेपालीमा कोरोना संक्रमण भएको छैन । तर, ओमानमा संक्रमण बढेसँगै त्यहाँ कार्यरत नेपाली नेपाल फर्कन चाहेका ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुलीले जानकारी दिईन् । कोरोनाको संक्रमण बढेसँगै नेपाल फर्किन चाहनेको संख्या उच्च रहेको भन्दै उनले कोरोना कहरसँगै धेरैको रोजगारी गुम्ने हुँदा देशमा नै रोजगारी तय गर्ने विषयमा सरकारले योजना बनाएर अगाडी बढ्नु पर्ने धारणा राखिन् । कोरोनाको संक्रमण फैलिएसँगै केही कम्पनीले विदेशी कामदारलाई उनीहरुकै देश फर्काउन थालेकोले त्यसको असर नेपालीमा पनि पर्ने राजदुत पराजुलीको भनाइ छ । त्यस्तो अवस्थामा आफ्नो खर्चले नेपाल फर्कन नसक्ने कामदारको लागि सरकारले उद्धार गर्नुपर्ने उनले राजदुत पराजुलीले बताइन् । करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा पछिल्लो समय ४९ जना नेपालीमा कोरोना संक्रमण पनि फैलिएको छ । करिब १ हजार ९ सय ७३ जना कोरोना संक्रमित रहेको बहराइनमा ७ जनाको सोही कारण मृत्यु भएको छ । सबै संक्रमित नेपालीको अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली राजदुत पदम सुन्दासले जानकारी दिए । ‘धेरै कामदारको श्रम कटौती भईसकेकाले एक प्रकारको त्राससँगै वैदेशिक रोजगारीमा भयावह स्थिति आएको छ’ उनले भने । बहराइनमा गत आइतबार हेटौंडाका एक युवकले आत्महत्या गरेको जानकारी दिँदै सो शव लकडाउनपछि नेपाल पठाउने राजदुत सुन्दासले बताए । कोरोनाको कहर फैलिएसँगै ज्यानसँगै आफ्नो जागिर (रोजगारी) के हुने हो भन्ने कुरामा विदेशमा रहेका नेपाली केन्द्रित भएको गैरआवाशीय ननेपाली संघ (एनआरएनए) कतारका सचिव आरके शर्माले बताए । ‘अहिलेसम्म त विदेशमा भएका नेपालीलाई खान बस्न देऊ भनेर हारगुहार गर्नुपरेको अवस्था छैन, तर परिस्थिति यस्तै रहने हो भने त्यस्तो गुहार माग्नुपर्ने अवस्था पनि आउन सक्छ,’ सचिब शर्माले भने । खाडी मुलुकमा १६ देखि १८ लाख नेपाली कार्यरत छन् । पछिल्लो समय पेट्रोलियम पदार्थ ३ दशकयताकै कम मूल्य कायम भएसँगै खाडी मुलुकका धेरै कामदार कटौती हुने सचिव शर्माले बताए । वैदेशिक रोजगारीबाट फर्किएकालाई सिप अनुसारको काम दिने भन्ने विषयमा सरकारले योजना तय गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । कोरोनाको कहरसँगै पैदा हुने वेरोजगारीलाई व्यवस्थापन गर्न तत्काल रोजगार दिन सक्ने अवस्था सिर्जना नभए पनि रोजगारीमुलक सेवा तथा कृषिजन्य उत्पादनलाई जोड दिएको प्रवक्ता घिमिरेले बताए । वैदेशिक रोजगारीबाट फर्किने सबैको सिप क्षमताको तथ्यांक राख्नुका साथै सरकारले कोभिड १९ नलागेको प्रमाण भएपछि मात्र नेपाल आउन दिने निर्णय गरेको प्रवक्ता घिमिरेको भनाइ छ । कोरोना संक्रमण भई मृत्यु भएको शव नेपाल ल्याउन नपाईने भन्दै सबै देशको दूतावासमा परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । हालसम्म कोरोना बाहेक अन्य कारणले मृत्यू भएका ८० नेपालीको शव विदेशमा रोकिएको छ । विश्वमा एक हजार दुई सयभन्दा बढी नेपाली कोरोना संक्रमित छन्, भने ३० जना नेपालीको मृत्यु भइसकेको छ । वैदेशिक रोजगार पत्रकार समाजसँग डिजिटल कन्फरेन्समा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कुवेतमा २९ जना नेपाली कोरोना संक्रमित
काठमाडौं । कुवेतमा बुधबार मात्र ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म २९ जना नेपाली कोरोना संक्रमित रहेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरोना संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावास बताएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दैसँगै दूतावासमा समस्या राख्ने नेपालीको संख्या बढेको छ । कुवेतमा हालसम्म २ हजार २ सय ४८ जना कोरोना संक्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकीहरुको जागिर जोगाउन आप्रवासीलाई बन्देज लगाउँदै ट्रम्प, नेपालीलाई असर पर्ला ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रुपमा बसाेवास गर्ने आप्रावासीहरुलाई बन्देज लगाउने बताएका छन् । सोमबार साँझ आफ्नो आधिकारीको ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै ट्रम्पले अस्थायी आप्रावासीहरुको अध्यागमनलाई बन्देज गर्ने बताएका हुन् । उनी लेखेका छन्, ‘अदृश्य दुश्मनहरुबाट हुने हमलालाई ध्यानमा राख्दै र हाम्रो महान् अमेरिकी नागरिकहरुको जागिर जोगाउन म संयुक्त राज्य अमेरिकाको आप्रावासी अध्यागमनलाई अस्थाई समयको लागि रोक्नलाई हस्ताक्षर गर्दैछु । ’ यद्यपी उनले अध्यागमनलाई निलम्बन गर्न कुन संयन्त्र प्रयोग गर्नेछन्, यो निलम्बन कति लामो समय सम्म रहन सक्छ र यसले अमेरिकी ग्रीन कार्ड भएका व्यक्तिहरूमा कस्तो असर पार्दछ भन्ने उनले स्पष्ट खुलाएका छैनन् । साथै यसले अमेरिकामा ग्रिनकार्ड पाएर बस्दै आएका नेपालीहरु र अध्ययनको लागि गएका नेपाली विद्यार्थीहरुमा कति प्रभाव पार्ला भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । कोरोनाभाईरसको असरले हाल अमेरिकाले ठुलो संख्यामा अध्यागमन कटौती गरेसँगै शरणार्थी पुर्णवासमा रोक लगाईएको छ । भिषा कार्यालहरु पनि बन्द छन् ।