उन्नती सहकार्य लघुवित्तको सीईओमा प्रेम बहादुर पाठक नियुक्त

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रेम बहादुर पाठक नियुक्त भएका छन् । असार २६ गते बसेको संस्थाको सञ्चालक समितिको १५० औं बैठकले उनलाई आगामी ४ (चार) वर्षसम्मका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पाठकले असार २६ गतेदेखि नै लागु हुने गरी आफ्नाे कार्यभार सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस उन्नती सहकार्य लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भए पश्चात उन्नति सहयकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । सोहि नामबाट गत असार २६ गते शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार शुरु भएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको सञ्चालकमा ५ जना निर्वाचित, बाबुराम विश्वकर्मा बने अध्यक्ष

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । असार २७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ५ जनालाई निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा र मान बहादुर विश्वकर्मालाई संस्थाको सञ्चालक पदमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट नरेन्द्र कडेल र गोकर्ण बहादुर कार्की क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उक्त सभा पश्चात बसेको साँझ बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक विश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

विजय लघुवित्तका सीईओ बसन्तराज लम्सालको कार्यकाल थपियो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल थपिएको छ । असार २७ गते बसेकाे संस्थाको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल आगामी चार वर्षसम्मलाई थप्ने निर्णय गरेको हो । सीईओ लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले लघुवित्तले साउन १ गतेदेखि लागू हुने अर्काे कार्यकाल थपेको संस्थाका डेपुटी सीईओ तथा कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिएका हुन् । कार्यकाल थप पश्चात लम्सालले २०८१ साल असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस विजय लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । साथै, हाल उनी नेपाल लघुवित्त बैंकर्स संघमा अध्यक्ष समेत रहेका छन् । यसअघि उनी सोही वित्तीय संस्थामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेका लम्सालले करिव २० वर्ष विभिन्न एनजीओ आइएनजीमा काम गरेका छन् । सेफर वल्डको कन्ट्री डाईरेक्ट भएर काम गरिसकेका लम्सालसँग यूएन लगायत अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा रहेर पूर्वी यूरोप, अफगानिस्तानसहित विभिन्न देशमा सामाजिक विकासका क्षेत्रमा काम गरेको अनुभव छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको यो संस्था ७ वर्षअघि सञ्चालनमा आएको हो ।