कतारबाट नेपाल फर्कनेकाे सूची सार्वजनिक, पहिलाे चरण ५ हजार बढी आउँदै

काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको सूची दोहास्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमा रोजगारीको अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनका लागि पहिलो चरणको सूचीतय गरेको जनाएको छ । श्रम अवधि सकिएको, रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, आफन्तको मृत्यु पछिको संस्कारमा लागि आउनु पर्ने, वेतलबी विदामा बसेका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ । फर्किने सबै व्यक्तिहरुको उडान अनुमति प्रक्रिया पुरा गरेर मात्र नेपाल ल्याउने व्यवस्था छ । जसमा कोरोना संक्रमण नभएको हुनु पर्नेछ । संक्रमित विरामी कुनै देशबाट पनि नेपाल आउन नपाउने व्यवस्था सरकारले लागु गरेको छ । त्यस्तै आममाफी पाएका डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासले जानकारी दिएको छ । नेपाल एयरलाइन्सका २ उडानहरु १६ र २० जुन त्यस्तै हिमालय एयरलाइन्सका १७ र २२ जुन मा हुने २ उडानमार्फत नेपालीहरु नेपाल फर्किने छन् । हवाई भाडा व्यक्ति आफूले नै तिर्नु पर्ने व्यवस्था छ । प्रति टिकट ४ सय ९० अमेरिमी डलर भाडादर सरकारले तोकेको हो । यस अगाडी सरकारले उडान भाडा ५ सय अमेरिकी डलर तोकेको थियो । शुक्रबार सरकारले सबै देशकाे भाडादर थाेरै घटाएकाे छ । नेपाल आउँन सबैभन्दा बढी भाडा लण्डनमा रहेका नेपालीले तिर्नुपर्ने, कुन देशमा रहेकालाई कति ?

बिओके क्यापिटलको अध्यक्षमा मिश्र र संचालकमा शर्मा नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके) को सहायक कम्पनी बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएको छ । संस्थाको ५९औं संचालक समितिको बैठकले मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डूको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।

५० हजारलाई रोजगारी दिने कार्यक्रम गर्दै हायर मी नेपाल, साउनबाट सञ्चालन हुने

काठमाडाैं । नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा. लि. ले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको छ । देशमै बेरोजगार भएका जनशक्तीलाई रोजगारी दिने सरकारको कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यले नेशनल एकेडेमीले उक्त परियोजना संचालन गर्न लागेकाे हाे । उक्त परियोजना श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको छ । हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको नेशनल एकेडेमीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिएका छन् । रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको छ । देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ । नेशनल एकेडेमीका अध्यक्ष भट्टराईका अनुसार परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरिनेछ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको उनले जानकारी दिएका छन् । कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट करोडौं मानिस बेरोजगार हुने देखिएको छ । यसै सन्दर्भमा संक्रमणको कारण बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको छ । सरकारले आ.व २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन “श्रम सूचना बैंकको” अवधारणा सार्वजनिक गरेको छ । स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ ।