ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।

बेष्ट फाइनान्सको सञ्चालकमा प्रधान र ढकालको कार्यकाल अनुमोदन

काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बिहीबार सम्पन्न संस्थाको २३औं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको छ । संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीकाे सीईओमा ७ जनाबीच प्रतिस्पर्धा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) नेपालले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले ‘सीईओ हण्टिङ कमिटि’ बनाएर विभिन्न कम्पनी सम्भावित पात्रहरुसँग अन्तरवार्ता लिने, व्यवसायिक योजना प्रस्तुतिकरण गर्ने कार्य गरिरहेको छ । सञ्चालक दिपेन्द्र अग्रवाल संयोजक रहेको सीईओ हण्टिङ कमिटिमा शशीराज बज्राचार्य र कृष्ण बोहोरा सदस्य रहेका छन् । उनीहरुले विभिन्न कम्पनीको वर्तमान कामु सीईओ, डेपुटी सीईओ, पूर्व सीईओहरुलाई बोलाएर उनीहरुसँग अन्तरवार्ता लिने काम गरिरहेका छन् । यस क्रममा एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पनि अन्तरवार्ता दिएको स्रोतले बतायो । बीमा समितिको नियम अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ समय लाग्ने भएकोले अन्तरवार्ता दिएका सीईओले नियुक्ती पक्का भए मात्र अहिलेको कम्पनीबाट राजीनामा दिएर कुलिङ पिरियडमा बाहिरबाटै सहयोग गर्ने बताएका छन् । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विके श्रेष्ठसँग अन्तवार्ता र प्रस्तुतिकरण लिएका छन् । भट्टराई लामो समयदेखि यूनाईटेडमा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । कम्पनीले फूल सीईओ जिम्मेवारी नदिएपछि भट्टराईको मन डुलेको हुनसक्छ भने यहि मौकामा जनरल इन्स्योरेन्स कम्पनीले उनलाई ताकेको छ । कम्पनीले दुई जना विके र श्रेष्ठसँग अन्तरवार्ता लिएको छ । एक जना लुम्बिनी इन्स्योरेन्सका डेपुटी सीईओ हुन् भने अर्का चौधरी ग्रुपका महाप्रबन्धक बुद्ध काजी श्रेष्ठ हुन् । उनी यसअघि यूनाईटेड इन्स्योरेन्स कम्पनीमा सञ्चालक थिए । जीआईसीले एभरेष्ट इन्स्योरेन्स कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठसँग पनि अन्तरवार्ता र प्रस्तुतिकरण लिएको छ । श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्स्योरेन्सको व्यवसाय निकै चम्किएको थियो । तर प्रवर्द्धक राजेन्द्र खेतानको कम्पनी मायोज चाउचाउमा आगलागी भएपछि सर्बे रिर्पोट आउनुपूर्व भुक्तानी दिएको विवादमा उनी कारवाहीमा परेका थिए । तत्कालिन बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र एभरेष्ट इन्स्योेरेन्सका अध्यक्ष राजेन्द्र खेतानको झगडामा केवल कृष्ण श्रेष्ठ चेपुवामा परेको र उनीमाथि बीमा समितिले कारवाही गरेको जानकारहरु बताउँछन् । त्यस्तै, हण्टिङ कमितिले कुमारी बैंकमा मर्ज भएपछि खाली भएका देवः विकास बैंकको पूर्व सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ, राष्ट्रिय बीमा कम्पनीमा बजार विज्ञको रुपमा काम गरेको सुकल्याण पराजुलीसँग अन्तरवार्ता लिएको छ । ‘अरुसँग पनि कुरा भइरहेको छ’ स्रोतले भन्यो–‘हामीसँग अझै एक साताभन्दा बढी समय छ ।’ हण्टिङ कमिटिले गत विहीबारदेखि सम्भावित सीईओहरुसँग अन्तरवार्ता र प्रस्तुतिकरण लिइरहेको छ । कम्पनीले यस कमिटिलाई असार महिनाभरमा नयाँ सीईओ नियुक्तीको लागि उपयुक्त नाम सिफारिस गर्न समय र जिम्मेवारी तोकेको छ । स्रोतका अनुसार कम्पनीको महाप्रबन्धक एसके टमोटको कार्यकाल सकिने केही महिना मात्र बाँकी छ । उमेर हदका कारण उनको निरञ्तरता नहुनेभएपछि नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाइएको एक सञ्चालकले नाम नखोल्ने सर्तमा बताए ।