लगानी बोर्डकाे सीईओमा भेट्ररनहरुबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आकांक्षीहरुको दाैडधुप चलेको छ । बोर्डले असार २० गतेभित्र आवेदन माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग, वा विकास सम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्तिले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा आवदेन गर्न सक्ने छ । त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, लगानी प्रवद्र्धक, विकास प्रशासन, बैकिङ्ग, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । उक्त पदका लागि झण्डै एक दर्जन मानिसहरु अहिले सक्रिय भएका छन् । त्यसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायत छन् । गभर्नर पदको दौडमा हार खाएपछि डेपुटी गभर्नर शिवाकोटी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आकांक्षी देखिएका छन् । पहिला पनि डेपुटी गभर्नरबाट अवकाश पाएका अधिकारी सीईओ भएको उदाहरण छ । शिवाकोटी प्रधानमन्त्रीसँग सिधै पहुँच भएका प्रत्यासी हुन् । डेपुटी गभर्नरमा उनको कार्यकाल करिव ६ महिना बाँकी रहेकोले चार वर्षे कार्यकाल भएको लगानी बोर्डको सीईओ उनले ताकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका सुशील ज्ञवालीको कार्यकाल पनि केही महिना मात्र बाँकी छ । त्यसैले उनी प्राधिकरण छोडेर लगानी बोर्डमा फड्कन चाहेको जानकारहरु बताउँछन् । आइक्यानका अध्यक्ष तथा कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, लगानी बोर्डमै परामर्श सेवामा कार्यरत रामकृष्ण खतिवडा लगायत अरु पनि प्रतिस्पर्धामा छन् । डा श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले जोड दिएका छन् । तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच धेरै विषयमा मतभेद रहेकोले श्रेष्ठलाई बोर्डमा नियुक्ती हुनेमा आशंका गरिएको छ । आचार्यलाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपा कै बरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय भएको स्रोतको दावी छ । चार्टर्ड एकाउन्टेन्ट आचार्य कुशल प्रशासकको रुपमा स्थापित छन् । खतिवडालाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन निजी क्षेत्रका लगानीकर्ताहरुले लविङ शुरु गरेका छन् । त्यस्तै, योजना आयोगका सदस्य सुशील भट्ट पनि बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा इच्छुक रहेको जानकारहरु बताउँछन् । ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने परियोजनाको स्वीकृत दिने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद धेरैको लागि आकर्षणको केन्द्र बनेको छ जहाँ विभिन्न क्षेत्रमा स्थापित भेट्ररन (लामाे अनुभव हासिल गरेका) व्यक्तिहरुबीच प्रतिस्पर्धा हुने निश्चित छ । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्षकाे संयाेजकत्वमा रहेकाे सिफारिस समितिले तीन जनाकाे नाम मन्त्रिपरिषद्मा  पठाउने र मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षकाे लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेकाे छ । प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उक्त पद विगत ३ महिनादेखि खाली भएको थियो ।

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार

काठमाडाैं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गरेका छन् । साेमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए । उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने भन्दै प्रतिष्ठानले सरकारको ‘थिंक ट्याङ्क’का रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लैजानुपर्ने बताए । सरकारको सचिव पदबाट सेवानिवृत्त भएका डा खनाललाई केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशकमा पुण्यप्रसाद न्यौपानेको कार्यकाल सकिएपछि डा. खनाल नियुक्त भएका हुन् । रासस

त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले  जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए । “शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार/पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उहाँको अनुमान छ । आइसोलेसन निर्माणमा उपमहानगरपालिका धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा निर्माण भइरहेको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको खाली भवनमा अहिले झण्डै २८ श्ययाको आइसोलेसन कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए । धनगढी नगरका कोरोना सङ्क्रमितलाई उपचार गर्न आवश्यक पर्ने जति श्यया राखिने उनको भनाइ छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ अभाव भएपछि उपमहानगरपालिका आफ्नै आइसोलेसन कक्ष निर्माणमा जुटेको बताइएको छ । आइसोलेसनको तयारीका लागी श्यया मिलाउने, बिजुलीबत्ती तथा उपकरण जडान गर्ने काममा नगरका स्वास्थ्यकर्मी र प्राविधिक टोली रातदिन खटेर काम गरिरहेको बताइएको छ । “सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रूपमा तयार गरे पनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्”, प्रमुख वडले भने, “सबै स्थानीय तहहरुले आफैं आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।” उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायण बरालले एक/दुई दिनमै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताए । बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितको उपचारमा समस्या भएको संयोजक बरालको भनाइ छ । उपमहानगरपालिकाभित्रका कोरोना सङ्क्रमितको मात्रै उपचार गरिने आइसोलेसन कक्षभित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताइएको छ ।  रासस