ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, बैंकिङ र बीमा क्षेत्रमा २२ वर्षको अनुभव
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए । त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट आज (असार २४ गते) राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।
आईजीपीमा शैलेश थापा नियुक्त
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । बुधबारबाट आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अवकाश लिँदै छन् । २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन । क्षेत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । क्षेत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरेका थिए ।
लकडाउनमा घर बस्ने श्रमिकलाई ५० प्रतिशत तलब, काम गर्नेलाई पुरै
काठमाडौं । निजी क्षेत्रले लकडाउनको समयमा काममा रहेका कर्मचारीलाई शतप्रतिशत र घरमा बसेकाहरुलाई ५० प्रतिशत तलब दिने तयारी गरिरहेकाे छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले श्रमिकहरुलाई पनि धेरै समस्या भएको भन्दै उद्योगी व्यवसायीले सो तयारी गरिरहेका हुन् । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले एक छुट्टै समिति गठन गरेर काम पनि गरिरहेको छ । सो समितिले सरकारलाई घरमा बसेका श्रमिकहरुलाई ५० प्रतिशत र लकडाउनमा पनि निरन्तर काम गरिरहेका कामदारहरुलाई शतप्रतिशत अर्थात १०० प्रतिशत तलब दिने तयारीका साथ सरकबालाई बुझाउने तयारी भइरहेको बताइएको छ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शको बैशाख २ गते बसेको बैठकले लकडाउन अवधिमा कर्मचारीलाई आधा तलब दिने निर्णय गरेको थियो । अझै पनि उनीहरुलाई धेरै समस्या भएको भन्दै चैत महिनाको सतप्रतिशत तलव दिने र बाँकी महिनाको घरमा रहेकालाई ५० र काममा रहेकालाई सतप्रतिशत दिने तयारी भइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष शेदर गोल्छाले बताए । उनले महासंघद्वारा गठित समितिले तयार पारेको प्रतिवदेन सरकारालई बुझाउने तयारी पनि भइरहेको बताएका छन् । अहिले लकडाउनका कारण उत्पन्न भएको समस्याले आ—आफ्नो उद्योग प्रतिष्ठान र क्षेत्रका लागि सो क्षेत्रसंग सम्बन्धित श्रमिक संगठन वा श्रमिकहरुसंग पनि आपसी छलफल भइरहेको छ । ‘हामीले सुरुदेखि नै लकडाउनकमा घर बसेका श्रमिकहरुलाई ५० प्रतिशत र काममा रहेकालाई सत प्रतिशत तलब दिने भनेका थियौं, जव सरकारले सबैलाई सत प्रतिशत दिनु पर्छ भन्यो काम गर्न कोही पनि आएनन्, यसले एकदमै महत्वपूर्ण उद्योगहरुमा पनि श्रमिकहरु नहुँदा समस्या उत्पन्न भयो,’ उनले भने । ‘लकडाउनको कारण धेरै उद्योग व्यवसायहरु समस्यामा परेकोले धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको पनि उनले स्पष्ट पारे । कति कर्मचारी कटौती गर्ने भन्ने कुराकाे अध्ययन भइरहेको छ, श्रम मन्त्रालयको हेर्ने हो भने झण्डै ५ लाख श्रमिक कटौती वा विस्थापित हुन्छन् भन्ने अनुमान गरेको छ,’ उनले भने । अहिले विस्तारै उद्योग व्यवसायले आफ्नो लय लिएको बताउँदै अब धेरै समस्या आफै हटेर जाने बताए ।