स्वावलम्बन लघुवित्तले कार बेच्दै

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सवारी साधन बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ््ग सम्पत्ति सवारी साधन बिक्री गर्ने भएको हो । लघुवित्तका अनुसार टक्सन फोरडब्ल्यूडी कार बिक्रीमा राखिएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । खरिद गर्न इच्छुक व्यक्तिले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न लघुवित्तले आग्रह गरेको छ । उक्त सवारी कमलपोखरी काठमाडौंमा रहेको छ ।

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवलमा रहेको शाखा स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका उक्त शाखा बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको छ । जसको औपचारिक उद्घाटन असोज ८ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले गरेका हुन् । सीईओ लोहनीले सस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पारे । हाल १३ वटा शाखा सञ्जाल रहेको फाइनान्सले अर्को वर्ष थप केहि शाखाहरु पनि सञ्चालन गर्ने योजना बनाएको छ । संस्थाले हाल निःशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, आरटीजीएस लगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ । निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जानकारी गराएको छ ।

लक्ष्मी क्यापिटलको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको १५ औं वार्षिक साधारण सभा असोज ७ गते आइतबार सम्पन्न भएको हो । लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पनि पारित गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । क्यापिटलको हालको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले लाभांश र साधारण सभा बोलाएको थियो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सनराइज क्यापिटलसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।