सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था हट्यो

काठमाडौं । सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था हटेको छ । बुधबार बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले विधेयक माथि छलफल गर्दै उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । यसअघि सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐन संशोधन गर्न बनेको बिधेयकमार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा २५ लाख तोकेको थियो । जुन असोज २४ गते बुधबार बसेको समितिको बैठकले हटाइएको सभापति विमला सुवेदीले बताइन् । उनका अनुसार सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच किलोमिटर बाहिर मात्र बन्नसक्ने गरी इजाजत दिने व्यवस्था भने विधेयकमा राखिएको छ ।

बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ, सीआईबीले अनुसन्धान गर्दै

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते (मंगलबार) नै पक्राउ परेका हुन् । सीआईबीका अनुसार चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो विषयमा सीआईबीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ । साथै, उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरुले तत्काल ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ ।

बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीको अध्यक्षमा डुम्रे

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्षमा रमणी डुम्रे चयन भएका छन् । संघको प्रारम्भिक साधारण सभाले डुम्रेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा मोतीलाल ढकाल, सचिवमा यादव कोइराला, कोशाध्यक्षमा कमला थापा र सदस्यहरुमा महेन्द्रराज शर्मा अर्याल, गुनमाया थापा र जगन्नाथ न्यौपाने चयन भएका छन् । त्यस्तै, सहकारीको लेखा समितिमा शंकर भण्डारी, प्रकाश खनाल र जितेन्द्र यादव चयन भएका छन् । प्रारम्भिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्रमा समस्या आउनुमा सिद्धान्त, मूल्य र मान्यता नबुझ्नु भएको बताउँदै सहकारीको अभियानले सरकारलाई बुझाउन नसकेको बताइन् । त्यस्तै, सभामा बोल्दै लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गोविन्द केसीले युवाहरुको विदेश पलायन नरोक्ने हो भने मुलुकको भविष्य संकटमा पर्ने विचार व्यक्त गरेका थिए । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सञ्चालक सन्दीप सापकोटाले बैंकर र मिटर ब्याजीको प्रवेशले सहकारीमा समस्या आएको बताएका थिए । सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति रमणी डुम्रेले सहकारीको गठनले रुपन्देहीमा सहकारी अभियान नयाँ उचाईमा पुग्ने बताए ।