नेक्सजेन म्यानेजमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ । नेक्सजेन म्यानेजमेन्टले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर बजारमा ल्याउनेछ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौता साेमबार काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भयो । सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको अधिकृत पूँजी १०० करोड रुपैयाँ र जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले स्थापना भएको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ । गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको मुनाफा जगेडा कोषमा सारिएको जानकारी दिएको छ । कम्पनीको नेटवर्थ पनि अंकित मूल्यभन्दा उच्च रहेको छ । कम्पनीका अध्यक्ष पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता कार्यक्रममा शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिति रहेको थियो ।
नेपाल रेमिटर्स एसोसिएसन र मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी
काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग औपचारिक साझेदारी गरेको छ । नेपाल रेमिटर्सले यस कदमलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपमा औंल्याएको छ । दुवै संघबीच केही चरणको छलफलपछि गरिएको सहकार्यले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने र दुवै देशका उद्योगको वृद्धि प्रोत्साहन गर्ने लक्ष्य राखेको नेपाल रेमिटर्सले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहकार्य र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्नेछ ।' साझेदारी घोषणा कार्यक्रममा मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले दुवै देशका रेमिटेन्स उद्योगले सामना गरिरहेका साझा चुनौतीबारे विचार–विमर्श गरेका थिए । दुवैले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्द्धन, डिजिटल रूपान्तरण, अवैध सञ्चालकका गतिविधि नियन्त्रण, तथा उपभोक्ता संरक्षणजस्ता विषयमा संयुक्त पहल आवश्यक भएको कुरा उल्लेख गरे । नेपाल रेमिटर्सका अध्यक्ष मित्तलका अनुसार यो सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत मात्र होइन, ज्ञान आदान–प्रदान र नवप्रवर्तनलाई पनि बल पुर्याउनेछ । उनका अनुसार अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपालीहरू र नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ दिनेछ ।
टिम भेञ्चर्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १८ हजार कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनसम्बन्धी सम्झौता सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भयो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् । विसं २०७३ सालमा स्थापना भएको टिम भेञ्चर्स लिमिटेडको कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । टिम भेञ्चर्सले हाल ऊर्जा (हाइड्रोपावर, सोलार), उत्पादन (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार तथा प्रविधि क्षेत्रमा लगानी गरिरहेको छ । आगामी वर्षहरूमा लगानीका नयाँ अवसरहरू पहिचान गर्दै थप क्षेत्र विस्तार गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीका अन्य संचालकहरूमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा तेन्जिङ सोनाम गोन्सार कार्यरत छन् ।