नबिल बैंकको​​​​​​​ मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, 'बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।'  मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए ।  मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।   मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।  ​​​​​​​नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ । देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको हो ।  १८ वर्षसम्मका बालबालिकालाई लक्षित यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ । साथै, खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ, जसको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ । बैंकका अनुसार ‘अल्फा ग्रो’ खाता बालबालिकामा बचतको बानी विकास गर्ने र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । यस योजनाले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउने बैंकको विश्वास छ । साथै वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा तथा पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा पाँचौं संस्करणको 'अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप' पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक विजयी भएको भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको बैंकले जनाएको छ । बैंकका अमरसिंह शाखा र पोखरा न्युरोड शाखाले क्रमशः अमरसिंह उच्च मावि र पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन् ।