१ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै निर्धन उत्थान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ ।  संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।  गत वर्ष यस अवधिसम्म १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनी यस वर्ष भने खुद नाफामा गएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ७६ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ ।   

१ लाखसम्मका सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले सहकारीमा १ लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।  सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सह प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।  उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बिउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त विपरीत बचत सङ्कलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

एनएमबि बैंकले सुरु गर्यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । सफ्टपोसले कुनै पनि एनएफसी समर्थित एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम, पर्यटन उद्यम र अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसले व्यवसायीहरूलाई पोस मेसिनको झन्झटबिना डिजिटल भुक्तानी लिन सहजता प्रदान गर्नेछ । एनएमबि बैंकले सफ्टपोसको प्रयोग साना व्यापारी, डेलिभरी सेवा र टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने उद्देश्यले लिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।' सफ्टपोसले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।