पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’

काठमाडौं । विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठूलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जानेखोजिरहेका छन्भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् । अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुन् सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका उनले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएका छन् ।अमेरिकामा रहँदा आफूले खाएका अनेक हण्डरहरुको चर्चा मात्र गरेका छैनन्, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गरेका छन् । पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ । पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ । विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्नेछन् । अमेरिकी भूमिका संघर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र संघर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गरेका छन् । पुस्तकको बारेमा भूमिका लेखेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गरेका छन् । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘डिस्नेरी’ बन्न सक्छ भन्ने उनको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरुका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गरेका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गरेका छन् । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहेका छन् । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहेको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानमीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गरे । लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउँछन् । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउँछन् । उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गरेका छन् । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख रहेका छन् । रासस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ । अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भने, ‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’  

८.९९% व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्‍याउँदै आइरहेको छ ।