राधी विद्युतको साधारणसभा असार २७ गते, ९ गतेदेखि नै बुक क्लाेज

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा अमृतभोग क्याटरिङ कालीकास्थानमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । साधारण सभाले कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांस कर सहित स्वीकृत गर्नेछ । त्यसैगरी चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसाधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी कार्य असार ९ गतेदेखि २२ गतेसम्म बन्द रहने छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असार ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ दिन भित्र दाखिल खारेजका लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

स्वेडा लघुवित्तको विशेष साधारण सभा असार ३ गते, के-के छन् प्रस्ताव ?

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ । साधारण सभामा एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्जर वा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थाको पूँजी बृद्धि गर्ने र सोही अनुसारको अनुपात कायम गर्ने प्रस्ताव सञ्चालक समितिले पेश गर्ने बताइएको छ । साथै हकप्रद बापतको सेयर खरिद गर्ने हक अरुपलाई बिक्री वा हक हस्तान्तरण बारेपनि छलफल हुने जनाइएको छ ।

नेप्सेको प्रष्टीकरण : अनलाइन प्रयोगकर्ताले १ मिनेट छिटो सूचना पाउँछन्

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन प्रयोगकर्ताले हेर्ने गरेको तथ्यांक र वेभसाइटमा देखिएको तथ्यांकमा फरक आएको समाचारका बीच नेप्सेले त्यस्तो फरक स्वाभाविक रहेको भन्दै आफ्नो सिस्टममा प्राविधिक समस्या नरहेको प्रष्टिकरण दिएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले ट्रेड क्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगकर्ताले जुनसुकै देशमा पनि वेभसाइट प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने गरेको र कुनै देशमा यो समय १५ मिनेटसम्म फरक पर्ने गरेको भन्दै नेप्सेको सिस्टममा भने त्यस्तो फरक १ मिनेट मात्रै रहेको बताए । उनले कुनै देशमा शुल्क तिर्नेहरुका लागि छिटो र नतिर्नेहरुका लागि ढिलो डाटा डिस्प्ले हुने व्यवस्था रहेको समेत जनाएका छन् । नेप्सेको यो स्पष्टिकरणले गर्दा युजरनेम र पासवर्ड नलिई सामान्य तरिकाले ब्रोकरमार्फत् कारोबार गर्दै आएका लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा सिफ्ट हुने दवाव पर्ने भएको छ ।