साधना र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार शुरु

काठमाडौँ । साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी साधना लघुवित्त वित्तिय संस्थाको नामबाट सोमबारदेखि एकीकृत कारोबार प्रारम्भ गरेको छ । केन्द्रीय कार्यालय हरमटारी गोरखामा एक औपचारिक समारोहकाबीच नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कार्यक्रमको सुरुवात गरेका हुन् । दुबै संस्थाले प्राप्तीका निमित्त सहमति पत्रमा जेठ २५ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभावाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको असार २५ गते अन्तिम स्वकृती पत्र प्राप्त गरेको हो । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति(एक्विजिशन) पश्चात् बन्ने संस्था ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बेहोर्ने, सकार्ने गरी प्राप्ति(एक्विजिशन) गर्न स्वीकृती प्राप्त भएको हो । नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयको असार २७ गतेको पत्रवाट समेत स्वीकृति प्राप्त गरेको थियो । प्राप्ति पश्चात वित्तीय संस्थाको हालको चुक्तापूँजी रु.७ करोड ३५ लाख हुने र संस्थाको कुल निक्षेप रु २८ करोड, कुल लगानी रु. १ अरव २० करोड, शाखा संख्या कुल ४०, सदस्य संख्या ३३,००० हुने जनाइएको छ । वित्तीय संस्थाको आगामी आर्थिक वर्ष २०७६÷७७को योजना अनुसार १ः१(१०० प्रतिशत) हकप्रद शेयर तथा सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने छ ।

१ लाख ७ हजार घुस लिएको अभियोगमा महानगरका नायव सुब्बा सोती अख्तियारको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले एक लाख सात हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ । नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगले नियन्त्रणमा लिएको हो । निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बरमहलबाट रंगे हात नियन्त्रण लिइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेप्से पाँच अङ्कले बढ्यो, तर बढेन कारोबार रकम

काठमाडौँ । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोबार रकममा भने वृद्धि भएन । कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर रु ४३ करोड पाँच लाख २५ हजार ८४३ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २१ लाख ९१ हजार ९४५ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ५९ लाख छ हजार ६२५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ५४ लाख २८ हजार ४१८, नबिल बैंक रु दुई करोड ४८ लाख ४४ हजार ८०३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ३३ लाख ९२ हजार ७२४ र एनआइसिएशिया बैंक रु दुई करोड छ लाख २५ हजार ७८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, एनआइसि एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३.९० प्रतिशतले कमाए । त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए ।