नेपाल भ्रमण वर्षको तयारीप्रति पर्यटन व्यवसायी असन्तुष्ट, कसरी भित्रिएलान् २० लाख पर्यटक ?
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को कामप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । नेपाल भ्रमण वर्ष २०२० को कार्यसमितिले एकलौटी र सुस्त गतिमा तयारी गरेको भन्दै पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएका हुन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियानमा रहेको सरकार र नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय कार्यक्रम समितीको टिप्पणी गर्दै पर्यटन व्यवसायीहरुले यो कार्यशैली र कामको गतिले २० लाख पर्यटक भित्र्यान असम्भव भएको बताएका हुन् । सरकारले गत वर्ष चैत २९ गते पोखराबाट निकै तामझामका शुरुवात गरेको नेपाल भ्रमण वर्ष २०२० को गति शुस्त भएको र निजी पर्यटन व्यवसायीहरूसँग पनि कुनै समन्वय नै नगरी काम गरिरहेको टिप्पणी गरिएको हो । नेपाल टुर एण्ड ट्राभल एजेन्टस्का अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्षको काम मन्दगतिमा भइरहेको बताए । ‘भ्रमण वर्षको तयारी सोचे र लक्ष्य लिए जसरी भएको छैन,’ उनले भने ‘सरकारी पक्ष त्यति डटेर लागेको देखिदैन, नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारी पक्ष अगाडि बढ्नुपर्छ । यो गतिले २० लाख पर्यटक भित्र्याउन सम्भव छैन ।’ भ्रमण वर्षका लागि हुनेपर्ने तयारी, निजी पर्यटन क्षेत्रका संस्थाहरुसँगको सहकार्य र पूर्वाधार विकासलगायतका कारणले समितिले उल्लेखनिय भूमिका खेल्न नसकेको बताइएको हो । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरस् नेपालका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी यम बहादुर खड्काले सरकारले गठन गरेको नेपाल भ्रमण वर्षको समितिले निजी पर्यटन संस्थाहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा अगाडी बढेको गुनासो गरे । खडकाले आगामी भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम समितिका संयोजकको कार्यक्षेत्र फरक भएकोले उनले पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताए । उनले भने, ‘वर्तमान संयोजक उद्योग व्यवसायी क्षेत्रको मान्छे पर्नु भयो, उहाँको पर्यटन क्षेत्रमा अनुभव नभएका कारणले पनि तयारी प्रयाप्त गर्न नसकेको हुनसक्छ ।’ यसै विषयमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यसँग सम्पर्क नभएपछि हामीले नेपाल भ्रमण वर्षको तयारीका बारेमा समितिकी सदस्य नन्दिनी थापासँग जानकारी लियौं । थापाले समिति अलि ढिला गठन र बजेट पनि ढिला विनियोजन भएका कारण काम सोचेजति तिव्र नभएको स्विकारिन् । थापाले गत आर्थिक वर्षमा विनियोजन बजेटबाट चीनको एक ठूलो ट्राभल एडभाइजरी अनलाइन (सिट्रीप) र बेलायतको लोन्ली प्लानेटसँग पर्यटन प्रवद्र्धनका लागि सम्झौता गरेको बताइन् । पर्यटन व्यवसायीहरुले आफुहरुसँग त्यति समन्वय नगरेको भने पनि थापाले भने उनीहरुसँग पनि बेला बखत बसेर राम्ररी सुझाव सल्लाह लिई लक्षित पर्यटक भित्र्याउने उद्देश्यका साथ आफुहरू अगाडी बढेको बताइन् । ‘काम धमाधम हुँदैछ, उनले भनिन् ‘नेपालमा भौतिक पूर्वाधारहरूको कमीको कारणले २० लाख पर्यटक भित्र्याउन गाह्रो भएपनि हामी लागि परेका छौं ।’ नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै अहिले पुनः ५० करोड माग गरेको उनले बताईन् । सरकारले नेपाल भ्रमण वर्षका लागि अघिल्लो र यस आर्थिक वर्षमा गरी २० करोड रुपैयाँ छुट्याएको छ । यद्यपि वर्तमान भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयपनि असन्तुष्ट देखिएको छ । सन् २०१८ मा पनि करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई ११ प्रतिशत लाभांश बितरण गर्ने
काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि.को साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११% (कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००/-(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
नेप्सेमा सामान्य सुधार, ३१ करोड ६६ लाखको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ । लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५।६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए । यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।