७ महिनामा काठामाडौंमा पानी आउने, नयाँ वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी

काठमाडौं । आगामी वैशाखसम्म मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आउने भएको छ । आज सार्वजनिक लेखा समितिको कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कँडेलले सात महिनामै मेलम्चीको पानी काठमाडौं खसाल्ने बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भई सकेको र कम्पनीले काम अघि बढाइसकेको उनले बताए । सात महिनामै काम सक्ने प्रतिवद्धतासमेत जनाएको उनले बताए । सिनो हाइड्रोसँग १० महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । सात महिनामै काम सम्पन्न गरे १० प्रतिशत बोनस दिने भनेपछि सिनोले सात महिनामै निर्माण सम्पन्न गर्ने बताएको हो । तर, लामो समयदेखि मेलम्चीको काम सकिने लागेको भन्दै विगत केही वर्षदेखि मन्त्रीदेखि मन्त्रालय र आयोजनाका अधिकारीहरुले आशा देखाउने तर आयोजना सम्पन्न नहुने अवस्थाका कारण काठमाडौं बासीहरु निराश हुँदै गएका थिए । मेलम्ची बनाउने ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि आयोजना थप अन्योलमा परेको थियो । यसैबीच केही दिनअघिमात्रै सिनो हाइड्रोसँग बाँकी काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । आयोजना प्रमुख कँडेलले खानेपानीको पाइप विस्तारका क्रममा ३० करोड रुपैयाँ क्षति पुगेको समेत समितिलाई जानकारी गराए ।

तीन दाताबाट साढे ११ अर्ब अनुदान सहयोग

काठमाडौं । विकास साझेदाबाट प्रदेश तथा स्थानीय तहको शासकीय सुधार कार्यक्रमको लागि करिब साढे ११ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुँदैछ । नेपालको शासकीय सुधारको लागि तीन विकास साझेदारले उक्त रकम सहयोग गर्न लागेका हुन् । भोलि बुधबार बेलयती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी), स्वीस र नर्वेले संयुक्त रुपमा नेपाल सरकारलाई उक्त वित्तीय अनुदान सहायता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उक्त रकम बजेटरी सहायता अन्तर्गत अनुदाने हो ।

१५ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा शेयर उठाउने अवसर

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा रहेको १५ कम्पनीका २ लाख ७६ हजार ११ कित्ता शेयर र ३ ओटा म्युचुअल फण्डका २६ हजार ईकाईहरु बोलबकोल बढाबढमार्फत् बिक्रीका लागि लिलामीमा राखिएको हो । सो बिक्री सोमबारदेखि खुला भई भदौ २२ गतेसम्म खुला रहनेछ । उक्त लिलामीमा युनिर्भुल पावरको सर्वाधिक ६७ हजार ४८० कित्ता, ग्लोबल आईएमई बैंकको ६५ हजार ९७७ कित्ता, नेपाल बैंक लिमिटेडको ५३ हजार १०६ कित्तासहित नबिल बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर, ओम डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतका शेयरहरु समेत समावेश छन् । उक्त लिलामीबाट आर्जित रकम फण्डले आफ्ना इकाईधनीहरुलाई फिर्ता गर्नेछ भने योसँगै उक्त स्कीम बन्द हुनेछ । यसअघि नबिल बैंकको नबिल ब्यालेन्स फण्डले समेत आफ्नो अवधि पूरा गरी रकम फिर्ता गरेको थियो । अहिले नेपाल शेयर बजार परिसूचक घट्दो क्रममा छ । सोसँगै सबैजसो कम्पनीको शेयरमूल्यमा समेत क्रमशः गिरावट आइरहेको छ । यो समयमा खुलेको लिलामीले लगानीकर्तालाई आफुले रोजेको कम्पनीको शेयर सस्तोमा छानीछानी किन्ने अवसर प्राप्त हुनेछ । सामान्यतया दोस्रो बजारको मूल्यभन्दा यस्तो लिलामीको कटअफ मूल्य कम हुने गरेको नजिर छ ।