महुली लघुवित्तको साधारण सेयर नेप्सेमा सूचीकृत, सेयर काराेबार फुकुवा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । साथै, सेयर सूचीकरण गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको नेप्सले जानकारी गराएको छ ।
यूनाईटेड मोदी हाइड्रोको नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । हाइड्रोले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको कमलादीमा रहेको हेरिटेज प्लाजाको सभाकक्षबाट भर्च्युअल माध्यमबाट सभा सञ्चालन हुनेछ । सभामा जाने प्रयोजन तथा लाभांश प्रयोजनको लागि पुस ५ गतेदेखि ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बोनसपछि अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।