चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने म्याद सकियाे, कतिले भरे सेयर ?

काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) आवेदन दिने म्याद आजबाट सकिएकाे छ । संस्थाले आयोजना प्रभावित क्षेत्रका स्थानीयकाे लागि बिक्री खुला गरेकाे उक्त सेयरमा माग भन्दा बढी आवेदन परेकाले ताेकिएकाे छिटाे मितिमै सेयर निष्काशन बन्द गरिएकाे हाे । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा १६ कराेड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार पुस १ गते बुधबार साँझ ५ बजेसम्ममा ४ हजार ८१४ आवेदकले १६ लाख ८५ हजार ५३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा करिब साढे ५ गुणा बढी हाे । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । उनीहरूले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन खुला गर्ने भएकाे थियाे ।

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीले आफ्नो सेयर प्रत्याभुति व्यवस्थापनको कार्य गर्न कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो । कम्पनीले जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता एक सय अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो । सेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंसिर ३० गते सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।

एनआईबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडमा निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने भएको छ । क्यापिटलले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको हो । यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिबाट एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने छ । यसका अतिरिक्त एनआईबिएल एस क्यापिटल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।