नागरिक लगानी कोषले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कोषको बुक क्लोज गर्ने निर्णय गरेको हो । कोषले सेयरधनीलाई १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै छ । सम्बन्धित समाचार नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने, पायो बोर्डको अनुमति

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । ‘ब्राेकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्’, उनले भने । अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए । उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए । बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।

पुँजीबजार विकास तथा विस्तारका लागि अघि बढ्छु- अध्यक्ष थापा

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाले पुँजी बजार विकास तथा विस्तारका लागि अघि बढ्ने बताएका छन् । उनले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार बिकासका लागि पूर्ण प्रतिबद्धता जनाएका हुन् । संघका नवनिर्वाचित अध्यक्ष थापाले शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग भेटमा साे प्रतिबद्धता गरेका हुन् । शुक्रबार अध्यक्ष थापाको नेतृत्वमा सम्पूर्ण कार्य समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्षसँग औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा शुभकामना प्रदान गरिनुका साथै पुँजी बजारको थप विकास र विस्तारका सम्बन्धमा विस्तृत छलफल भयो । उक्त अवसरमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।