एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीकाे वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । २.८५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले आईपीओ जारी गरेकै वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे हाे । कम्पनीले गत साउनमा मात्रै कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक सेयर निष्काशन गरेकाे थियाे । सम्बन्धित समाचार एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

चन्द्रागिरी हिल्सको आईपीओ पुस २४ गतेदेखि भर्न पाइने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।

एनएमबी बैंकसहित एकैदिन ८ वटा कम्पनीको सेयर मूल्य समायाेजन

काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँ खुल्ने छ । यसअघि बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४२७ रुपैयाँमा भएको थियो । सेञ्चुरी कमर्शियल बैंकको ५.२५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २०९ रुपैयाँ रहेको बैंकको सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ कायम भएको छ । नेपाल बैंकको पनि १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ३७१ रुपैयाँमा भएको थियो । त्यस्तै, कामना सेवा विकास बैंकको पनि बिहीबार सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ कायम भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १०३८ रुपैयाँ कायम भएको छ । साना किसान लघुवित्तको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ४१५ रुपैयाँ रहेको छ । बरुण हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता १८० रुपैयाँमा भएको थियो ।