नागरिक लगानी कोषको १ लाख ६६ हजार कित्ता सेयर लिलामीमा, आधार मूल्य १७००

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको छ । बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । गत विहीबार कोषको साधारण सेयर प्रतिकित्ता २६०२ रुपैयाँमा कारोबार भएको छ । गत तीन महिनामा कोषको सेयर मूल्य अधिकतम प्रतिकित्ता ३११० रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १६८५ रुपैयाँमा कारोबार भएको थियो ।

शैक्षिक संस्था बन्द गर्न सांसदहरुकाे माग

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद भीमसेनदास प्रधान र रेणुकुमारी यादवले कोरोना भाइरसको जोखिम रोक्न तत्काल भीडभाड हुने स्थलमा आवश्यक तयारी गर्न र शैक्षिक संस्था तत्कालका लागि बन्द गर्न माग गरे । सांसद रामबहादुर विष्टले कोरोना भाइरसको सम्भावित महामारीलाई लिएर बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएको भन्दै यसको नियन्त्रण गर्न के कति प्रगति भइरहेको छ भनी जानकारी माग गरेका छन् । सांसद बिमला नेपालीले संविधानअनुसार दलित विद्यार्थीका लागि व्यवस्था भएको छात्रवृत्ति वर्तमान सरकार गठन भएदेखि खोसिएको भन्दै यसले दलित समुदायमा चोट पुगेको बताउँदै सुनिश्चित गर्न माग गरिन् । सांसद भरतकुमार शाहले यातायातमा सिन्डिकेट हटिसकेको भए पनि अझै भारतबाट आउने ट्रकमा ढाँट लगाएर शुल्क लिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद महेश्वरजङ्ग गहतराजले मुलुकभर सवारी दुर्घटना बढिरहेको भन्दै सचेतना कार्यक्रम बढाउनुपर्ने बताए । सांसद मीना सुब्बाले नेपाल प्रहरीका एकजना अधिकारीले केही समयअघि काखीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनामा भइरहेको छानबिन र दोषीलाई भइरहेको कारवाहीका बारेमा जानकारीको माग गरे । सांसद मीनबहादुर विश्वकर्माले छुवाछूतका घटनामा वृद्धि भइरहेको भन्दै दलित आयोग र महिला आयोग तत्काल गठन माग गरेका छन् । सांसद यज्ञबहादुर बोगटीले कर्णाली राजमार्गको दूरावस्थाका कारण दुर्घटना बढेका भन्दै स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद यज्ञराज सुनुवारले स्तरीय सडकको अभावमा पहाडी जिल्लामा यात्रा कठिनाइ भएको भन्दै सडक सुधारका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रङ्गमती शाहीले हुम्लामा हिमपातका कारण खाना र अत्यावश्यक सुविधाबाट जनता वञ्चित हुनु परेकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद राजेन्द्रकुमार केसीले विश्व बजारमा पेट्रालियम पदार्थको मूल्य घट्दा पनि नेपालमा किन समायोजन नभएको भनी सरकारसँग प्रश्न गरे । साथै उनले सरकारले पेट्रोलमा प्रतिलिटर विभिन्न नाममा रु ४७ कर लिने गरेको भन्दै तत्काल विश्व बजारअनुसार मूल्य समायोजन गर्न माग गरे । सांसद राजेन्द्रप्रसाद गौतमले भूमिसुधार मन्त्रालयअन्तर्गत सङ्खुवासभामा विशेष नापी शुरु भएकामा स्थानीय जनता खुशी भएको उल्लेख गरेका छन् । सांसद रामबाबुकुमार यादवले सङ्घीयता कार्यान्वयनको सङ्घीय निजामती विधेयक र नागरिकता विधेयक पारितमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराए । सांसद रेणुका गुरुङले पूर्वप्रधान सेनापतिको भ्रष्टाचारसम्बन्धी प्रकरण छानबिन कहाँ पुग्यो भनी प्रश्न गरे । सांसद लक्ष्मणलाल कर्णले १० वर्षे जनयुद्धकालमा तराईका जिल्लामा हटाइएको भन्सार कार्यालय आजसम्म पनि पुनःस्थापना किन हुन नसकेको भनी प्रश्न गरे । सांसद लक्ष्मी परियारले प्रतिनिधिसभामा उपसभामुख पद यति लामो समयसम्म रिक्त राख्नुपर्ने कुनै कानूनी प्रावधान नभए पनि निर्वाचनमा किन ढिलाइ भनी प्रश्न गरेका छन् । रासस

बागलुङमा तामा खानीको सम्भाव्यता अध्ययन शुरु

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । सो तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिए । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भने, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।” खानीलाई उत्खनन गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ । तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएको वडाध्यक्ष लामिछानेले बताए । उनका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । जिल्लाको काठेखोला गाउँपालिकाको पहलमा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको हो । चिनियाँ टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका–९ तित्याङ अडडाँडा, बागलुङ नगरपालिका–११ रायडाँडा तथा काठेखोला गाउँपालिकाको रेशमामा फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । बागलुङ नगरपालिका–९ तित्याङस्थित अडडाँडामा तामा खानी उत्खननका लागि चिनियाँ प्राविधिक टोली आएर खानीको भित्रि तहमा तामाको अवस्थाको अध्ययन तथा खानी खन्ने काम गरिरहेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उक्त टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा नेपालको शुभम् ग्रुपसँग मिलेर तामा खानीको अध्ययन गर्न बागलुङ आएको हो । अडडाँडामा तामा खानीको प्रचुर सम्भावना रहेको भन्दै तामा खानीको उत्खननसमेत थालिसकेको ग्रुपका प्रतिनिधि सूर्य अधिकारीले जानकारी दिए । उनका अनुसार तित्याङ र रेशबाट ठूलो परिणाममा तामा निकाल्न सकिएमा स्थानीय तहलाई फाइदा पुग्ने बताए । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा परम्परागत तरिकाले तामा तथा फलामखानी सञ्चालनमा आए पनि पछिल्लो समय बन्द भएका थिए । रासस