सञ्चार सहकारीको पाँचौ अधिवेशनमा चापागाई

काठमाडौं । सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको पाँचौ अधिवेशनले प्रदीपकुमार चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो सहकारीको अधिवेशनले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्ले रहेका छन् । उक्त सहकारीको सल्लाहकारहरुमा सहकारीका संस्थापक अध्यक्ष विष्णु निष्ठुरी, पूर्व अध्यक्ष तथा राससका पूर्व महाप्रबन्धक निर्मला आचार्य तुलाधर छन् । संस्थापक अध्यक्ष निष्ठुरीका अनुसार पत्रकारहरुले कमाएको थोरै थोरै बचत गरेर सञ्चार क्षेत्रमै लगानी गर्ने र पत्रकारलाई सानो सानो रकम खोज्ने अन्त जानु नपर्ने उद्देश्यले सञ्चार सहकारीको स्थापना गरेको बताए । श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अधिवृद्धि गर्ने र सानोतिनो गर्जो टार्ने उद्देश्यले स्थापना भएको सो सञ्चार सहकारीको १९४ सदस्यहरु रहेका छन् ।

साढे ३१ कराेड लागतमा बृहत् खानेपानी आयोजना शुरु, घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यताकाे अन्त्य

रोल्पा । रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ । नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ । आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको कूल लागत रु ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ । आयोजनाका लागि ७० प्रतिशत रकम एशियाली विकास बैंकको ऋण सहायताबाट व्यहोरिने छ । यस्तै २५ प्रतिशत रकम नगर विकास कोषबाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ । पाँच प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन् । आयोजनाबाट सम्पवेल चार, रिजरवयर ट्याङ्की आठ र कार्यालय भवन निर्माण हुने लिवाङ बजार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । आयोजनाको मुख्य लाइन १० किलोमिटर र शाखा लाइन ४७ किलोमिटर हुने बताइएको छ । आयोजनाले एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भएको छ । खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका नगरवासीमा आयोजनाले खुशी ल्याएको नगरवासीको भनाइ छ । “विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो”, स्थानीय तीर्था आचार्यले भने, “खानेपानीको अनिश्चितता तथा सरसफाइका लागिसमेत घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यता छ ।”

नेपाल एग्रो लघुवित्तको चौंथो साधारण सभा सम्पन्न, १५ प्रतिशतको दरले वोनश शेयर वितरण

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाकोे चौंथो वार्षिक साधारणसभा कास्कीको पोखरामा सम्पन्न भएको छ । साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । साथै ३ लाख९३ हजार २ सय ४५ रुपैयाँ नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत गरेको अध्यक्ष रमेश कुमार कर्माचार्यले बताए । उक्तसभाबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाबीच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थालाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले दिए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था अनुसार साधारणसभाबाट कास्की जिल्ला काँहु गा.वि.स.को वडा नंं. १ नागरिकताको ठेगाना भएका शेयरधनी नवराज घिमिरे र लम्जुङ जिल्ला भुलभुले गा.वि.स. को वडा नंं. ८ नागरिकताको ठेगाना भएका शेयरधनी गंगाप्रसाद तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्रराज घिमिरेले जानकारी दिए । सो समारोहमा नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगाप्रसाद तामाङले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण गरेका थिए ।