शिवम् सिमेन्ट्सको प्रस्तावित नगद लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित भएको छ । आज अर्थात कार्तिक २४ गते सम्पन्न कम्पनीको पाँचौं बार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशत का दरले सेयरधनीहरुलाई नगद लाभांस पारित गरेको हो । उक्त सभा कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा अनलाईन माध्यम मार्फत समेत सहभागिता जनाई सम्पन्न भएको थियो । साथै, आर्थिक वर्ष २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।

स्टक ब्रोकरसँगकाे भेटमा बाेर्डका अध्यक्षले भने- ब्रोकर कमिशनलाई छिट्टै अन्तिम रुप दिनुपर्छ

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अब छिट्टै ब्रोकर कमिशनलाई अन्तिम रुप दिने बताएका छन् । ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेको जानकारी गराउँदै उनले सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । कार्तिक २३ गते स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको भेटमा उनले साे कुरा बताएका हुन्  । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरेका थिए । भेटमा एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने बताएका छन् । र, सोका लागि एशोसियशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै टीएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाँडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने उनकाे भनाइ थियाे । त्यस्तै, मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ढुंगानाले बताएका छन् । उक्त भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड-१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुबै आएको बताए ।  यसबीचमा अनलाइनमार्फत् कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत् लगानीको थप अवसर प्रदान गर्ने उनले बताए । साथै, उनले बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुँदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरेका छन् । त्यस्तै, भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउँदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए । उक्त भेटमा एशोसियशनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।

साधारण सभामा जान यूनिलिभर नेपालले २० दिन बुक क्लोज गर्ने

काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्तिक २७ गतेदेखि मंसिर १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन अर्थात २० दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको २७औं वार्षिक साधारण सभा यही मंसिर १६ गते अपरान्ह पाैने ४ अर्थात ३ः४५ बजे अनलाइन माध्यमबाट बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट  सेयरधनीलाई प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । कम्पनीकाे आगामी कात्तिक २७ गतेदेखि बुक क्लोज हुने भएकोले कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् । सम्बन्धित समाचारः ४५ दिनभित्र वितरण गर्ने गरी यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश