बङ्गलादेशबाट आयातित उसिना चामल उपभोक्ताले रुचाएनन्
काठमाडौं, ३ भदौ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, सफा भए पनि चामल मोटो र उसिनेको कारणले उपभोक्ताले नरुचाउँदा बिक्री नभएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए । उनले यहाँका मानिसमा मसिनो चामल खाने बानी परेकाले पनि मोटो चामल किन्न नरुचाएको हुनसक्ने बताए । सूचना अधिकारी कार्कीले संस्थानले सिन्धुपाल्चोकको जुरे पहिरोमा चीन सरकारले पठाएको एक हजार २८८ क्विन्टल चामल बिक्री भए तापनि सँगै बिक्री गर्न थालेको बङ्गलादेशको उक्त उसिना चामल भने बिक्री नभएको बताए । संस्थानले चिनियाँ चामलको मूल्य प्रतिकिलो ४० र उसिना चामलको मूल्य रु ४१ तोकेको छ । “चीनबाट पठाएको चामल मसिनो टाइचिन खालको थियो र त्यो चाँडै विक्री भयो” सूचना अधिकारी कार्कीले भने – “तर बङ्गलादेशको चामल मोटा भएकाले उपभोक्ताले रुचाएनन् ।” उनले जेठदेखि बिक्री वितरण गर्न थालेको उसिना मोटा चामल अहिलेसम्म ५०० क्विन्टल मात्र बिक्री भएको जानकारी पनि गराए । भूकम्पपीडितको राहतका लागि बङ्गलादेशले पठाएको १० मेट्रिक टनमध्ये २१ हजार ८०५ क्विन्टल मात्र भूकम्पपीडितलाई वितरण गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रबाट माग नभएपछि एक वर्षसम्म ७८ हजार १९५ हजार क्विन्टल काठमाडौँ, गोर्खा, सुर्खेत, नेपालगन्ज र धनगढीस्थित संस्थानकै गोदाममै थन्किएको थियो । सरकारले गत वैशाखमा मन्त्रिपरिषद्को निर्णय गर्दै गोदाममा थन्किएको चामलमध्ये ३४ हजार क्विन्टल ‘कामका लागि खाद्यान्न योजना’ ल्याएर संस्थानमार्फत कर्णालीका चार जिल्लामा ३० हजार र कालीकोटमा चार हजार क्विन्टल बेच्न निर्देशन दिएको थियो । सो परिमाणको चामल हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा बिक्रीका लागि पठाइसकेकोे बताउँदै सूचना अधिकारी कार्कीले भने– जिल्लामा पठाएको सो चामल दसैँसम्ममा बिक्री गर्ने लक्ष्य लिएको छ । “दसैँमा विभिन्न ठाउँमा बिक्री कक्ष राखेका हुन्छौँ”, उनले भने – “त्यहीबेला उक्त चामल बिक्री गर्ने योजना रहेको छ ।” रासस
गुणस्तर तथा नापतौल विभागले नविकरण नभएका चार उद्योगका गुणस्तर चिन्ह खारेज
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले समयमा नविकरण नभएका चार ठूला उद्योगका गुणस्तर चिन्हको इजाजत रद्ध गरेको छ। विभागका अनुसार समयमा नविकरण नभएर रद्ध भएका उद्योगमा जय मंगलम सिमेन्ट, जेबिएस इन्ड्रस्ट्रिज, काठमाडौं स्टिल प्रालि र सूर्य एग्रो रहेका छन् । विभागकाले तोकिएको समयभित्र नविकरण गर्न नआएकोले इजाजतपत्र खारेज गरिएको बताउँदै काठमाडौं स्टिल र जय मंगलमको सिमेन्ट उत्पादनमा रोक लगाएको जानाएको छ। एक आर्थिक वर्षभित्र राजस्व तिरेर गुणस्तर चिन्हको नविकरण गर्नुपर्ने प्रावधान छ । तर यी चार कम्पनीले आर्थिक वर्षभित्र नविकरण गरेनन् । यी कम्पनीहरुले अब नयाँ गुणस्तर चिन्ह लिनको लागि आवेदन दिनुपर्छ । चार वटामध्ये दुर्इवटा निर्माण समाग्रीसँग सम्वन्धित छन् भने दुर्इवटा खाद्य उद्योग हुन् । जय मंगलम सिमेन्टले २०५८ साल असोज २९ गते एनएस चिन्ह लिएको थियो । यो उद्योगले ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योग बाँकेमा अवस्थित छ । फलामे डन्डी उत्पादन गर्दै आएको काठमाडौं स्टिल नवलपरासीमा छ ।
सिद्धार्थ सिमेन्टद्वारा पोखरामा डिलर तथा इन्जिनियर भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं, ३२ साउन । सिदार्थ सिमेन्ट उद्योगले पोखरामा लेखनाथ, दमौली, तम्घास, पोखरा साथै स्याङ्जाका डिलर र इन्जिनियरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ ग्रुपको तर्फबाट जगदिश अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल आदिको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा सिदार्थ ग्रुपका संचालक राहुल अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै सबै संगै अगाडी बढेमा सजिलै सफलता हात पर्ने कुरा उपस्थित सबैलाई सुझाव दिएका छन् । यसै क्रममा पोखरा उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष तथा बाबा हार्डवेयर एण्ड स्यानिटरी का संचालक दिलिपराज श्रेष्ठले नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएकोमा सिद्धार्थ सिमेन्ट लाई धन्यवाद ज्ञापन साथै आगामी दिनको लागि प्रगतिको कामना गरेका छन् । सोही क्रममा लेखनाथ नगरपालिकाबाट अधिकारी ग्लास एण्ड हार्डवेयर का संचालक भरत कुमार अधिकारीले नेपालको विकाससंगै सिद्धार्थ सिमेन्टको भूमिका बारेमा प्रस्ट पार्दै सिदार्थ सिमेन्टको प्रगतिको कामना गरेका छन् । त्यसैगरी तनहुँ सिंचाई कार्यालयका इन्जिनियर सुमन भट्टराईले सरकारी कार्यका लागि धेरै नेपाली सिमेन्टहरु टेस्ट गर्दा सिद्धार्थ सिमेन्टलाई आफूले सधैं उच्च गुणस्तरकोे पाएको जानकारी दिए । उनले प्राविधिक, डिलर कम्पनीहरु र सम्पूर्ण नागरिकहरुलाई नेपाली निर्माण कार्यमा पी. पी. सि र ओ. पी. सि को बारेमा जानकारी पु¥याउन अनुरोध गर्दै पी. पी. सि. र ओ. पी. सि. सिमेन्टको बारेमा प्रस्ट पारेका छन् ।