सबै प्रदेशका मुख्य उत्पादनहरुको प्रोफाइल बनाईँदै, आयात प्रतिस्थापनका लागि उपयोगी हुने विश्वास
काठमाडौँ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रवर्धन तथा अन्तर प्रदेश व्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गरेको छ । अध्ययनको स्वरुप पद्धति तथा अध्य्यनको उद्देश्यका विविध आयाम सम्वन्धमा व्यापक र गहन छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले हिमाल, पहाड र तराईको विशिष्ट सङ्गमको रुपममा रहेको सुदुर पश्चिम प्रदेशमा उद्योग व्यापारका प्रशस्त सम्भावना रहेको वताउदै, केन्द्रले शुरु गर्न लागेको अध्ययनबाट प्रतिवेदन प्रदेशका लागि महत्वपुर्ण दस्तावेज हुने विश्वास व्यक्त गर्नु भयो । सुदुर पश्चिम सरकारको उद्द्योग वाणिज्य कृषि तथा वन मन्त्री माया भट्टले सिमित साधन श्रोतका माझ पनि आफुले केन्द्रले लिइएको यश बताइन । यसै गरि प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारिले यो अध्ययन प्रदेशको उद्योग वाणिज्य क्षेत्रको विकासका लागि महत्वपुर्ण आधार हुने र सूचना र तथ्यांकहरु जति तल्लो तहमा गएर संकलन गर्न सक्यो प्रतिवेदन त्यति नै निखारिएको हुने बताए । यसै गरि केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणाले यो अध्ययनको उद्देश्य औचित्य र महत्वबारे प्रकाश पार्दै अध्ययन पश्चात् प्राप्त प्रतिवेदनलाई प्रदेश सरकार र निजि क्षेत्र माझ छलफल गराई अनुमोदन गरिने र संघीय स्तरमा सातवटा प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजन गरि प्रदेश प्रदेश बिच व्यापार लगानी सम्बन्धी सम्झदारी गरिने समेत जानकारी गराए । प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रर्वधन तथा अन्तर प्रादेशिक व्यापारका सम्बन्धमा गहन अध्ययन गरि प्रदेशका लागि यसरी आउने प्रतिवेदन भविश्यमा उद्योग व्यापारको विकासमा आधार दस्तावेज हुने गरि तयार गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
चार महीनामै थपिए नवलपरासीमा ३८० घरेलु उद्योग, जनशक्ति अभावले
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् । ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ । उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि पछिल्लो समय नवलपरासी औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको छ । जिल्लामा लघु, घरेलु तथा साना उद्योग मात्र नभएर मझौला तथा ठूला उद्योग स्थापना हुने क्रम पनि बढ्दो छ । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा पाँच करोड सम्मको लगानी भएका सबैभन्दा धेरै सेवा उद्योग दर्ता छन् । पछिल्लो चार महीनाको अवधिमा पनि सबैभन्दा बढी १६६ वटा सेवामूलक उद्योग नै दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलको भनाई रहेको छ । आर्थिक वर्ष २०७४ र ७५ सम्म दुई हजार ४८३ सेवामूलक उद्योग दर्ता थिए । चार महीनाकै अवधिमा कृषि तथा वनपैदावरमा आधारित १२२ उद्योग दर्ता भएका छन् । यसअघि कृषि तथा वनपैदावरमा आधारित एक हजार ३१२ उद्योग दर्ता थिए । पछिल्लो चार महीनामै पर्यटनका ५२ र उत्पादनमूलक उद्योग ४० वटा पनि दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०७५/७६ को कात्तिक मसान्तसम्म जिल्लामा सेवामूलक दुई हजार ६ सय ४९, कृषि तथा वन पैदावरमा आधारित एक हजार ४३४, पर्यटनका एक हजार १३, उत्पादनमूलक ९२२, सूचना तथा सञ्चारप्रविधिका तीन र खनिज उद्योग दुई गरी कूल छ हजार २३ लघु, घरेलु तथा साना उद्योग दर्ता तथा सञ्चालनमा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् । यो नवलपरासी (बर्दघाट सुस्ता) पूर्व र (बर्दघाट सुस्ता) पश्चिम दुवै जिल्लाको तथ्याङ्क हो । दुई जिल्लामा विभाजन भए पनि पूर्वी नवलपरासीमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना नभएकाले कार्यालयले दुवै जिल्ला हेर्दै आएको छ । नवलपरासीमा स्थापना भएका लघु, घरेलु तथा साना उद्योगबाट मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण स्थान रहेको भन्दै कार्यालय प्रमुख पौडेलले स्थानीय कच्चा पदार्थ स्रोतसाधन, परम्परागत सीप र प्रविधिमा आधारित यस्ता उद्योगको स्थापना, विकास, विस्तार, संरक्षण तथा सम्वद्र्धनका लागि प्रशासनिक तथा प्रवद्र्धनात्मक कार्यमार्फत सघाउ पुराइरहने बताएका छन् । कम जनशक्ति भए पनि औद्योगिक व्यवसाय फस्टाउने वातावरण निर्माण गर्न, परम्परागत सीप, कला र संस्कृतिको विकास र स्थानीय कच्चापदार्थको परिचालन गर्न कार्यालयले निरन्तर काम गरिरहेको छ । जिल्लामा अझैपनि धेरै उद्योग बिना दर्ता सञ्चालनमा रहेको तर जनशक्ति अभावले अनुगमन र नियमन गर्न समस्या भएको छ । दुवै जिल्लामा कार्य क्षेत्र र नौ जनाको मात्रै दरबन्दी भए पनि अहिले पाँचजना मात्र कर्मचारी कार्यरत् रहेका छन् । जिल्लामा लघु तथा घरेलु उद्योगको सम्भावना अझै धेरै रहेको घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतम बताएका छन् । भारतसँगको खुला सीमाका कारण जिल्लामा उत्पादित उद्यमीका वस्तुले बजारमा प्रतिस्पर्धा गर्न नसक्नुका साथै कतिपय सञ्चालनमा रहेका उद्योगले पनि गुणस्तरमा ध्यान नदिँदा प्रतिस्पर्धा गर्न समस्या रहेको जनाएका छन् । जिल्लामा औद्योगिक वातावरण बनाउन आफूहरूले भरपुर प्रयास गरिरहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताएका छन् । सदरमुकाम परासीस्थित वाइपास सडक क्षेत्रसहित सुनवलमा औद्योगिक करिडोर स्थापनाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको अध्यक्ष भण्डारीको भनाई रहेको छ । रासस
इलामकाे किसानहरू उद्यमी बन्दै, गाउँमै ४० हजार टन चिया प्रशोधन
काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् । आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानले बताए। उद्योग स्थापना गर्ने लहर चलेपछि एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेती लागेका छन् । चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग संचालनमा रहेदैँ आएका छन् । केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न थालेको बताएका छन् । किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन् साथै ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैं उद्यमी बन्न प्रेरित भएको बताएका छन् । नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् । रासस