इन्दुशङ्कर चिनी उद्योग शुक्रबारदेखि सञ्चालनमा
सर्लाही । हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् ।उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताएका छन् । गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको चलान पूर्जी वितरण थालिएको हो । उद्योगमा गत मङ्सिरमा नै डोंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरिएको थियो । चालु याममा करिब ४८ लाख क्विन्टल उखु उत्पादन गरिए पनि ३५ लाख क्विन्टल उखु उद्योगले कटान गर्ने लक्ष्य राखेको उद्योगका उखु प्रबन्धक रजकले जानकारी दिए । गत वर्ष माघ १ गतेदेखि सञ्चालन शुरु गरी चैत १५ गतेसम्म उद्योगले ३५ लाख क्विन्टल उखु पेलेको थियो । सरकारले अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेको भए पनि उद्योगले किसानसँग सहमति गरी गत वर्षको मूल्य निर्धारण गरेर कटाउन चलान पूर्जी वितरण गरेको हो । शुक्रबारदेखि उद्योग सञ्चालन शुरु गरिने उद्योगका उखु प्रबन्धक रजकले बताए । चालु यामका लागि उद्योगले उखुको मूल्य रु ४७१ र पैसा २८ तोक्दै सरकारको अनुुदानवापत किसानलाई रु ६५ र पैसा २८ उपलब्ध गराउने निर्णय गरेको छ । चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए । सरकारकोे योजनानुसार चिनी उद्योग सञ्चालनमा आलटाल भएकाले यही पुस ६ गते किसान र उद्योगबीच बसेर छलफल भएपछि उद्योगले उखु कटान चलान पुर्जी शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताएका हुन् । उद्योगहरुले उखु कटानको चलान पुर्जी वितरण शुरु गरेपछि किसानलाई उखु काट्न हतार भएको उनले बताए । यस वर्ष सर्लाही जिल्लामा करिब १७ हजार हेक्टरमा उखु खेती लगाइएको छ । सर्लाही नेपालकै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो । सर्लाहीबाट महोत्तरी, रौतहट, बारालगायत जिल्लाका चिनी उद्योगमा समेत उखु गएको पाइएको छ । रासस
औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सघन रुपमा सहकार्य अघि बढाउने
काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् । बिहीबार परिसंघमा भएको छलफलमा उद्योग सचिव यामकुमारी खतिवडाले उद्योगी व्यवसायीहरुका तर्फबाट परिसंघले प्रस्तुत गरेका औद्योगिकीकरण, निर्यात वृद्धि तथा आयात प्रतिस्थापनका विषयमा सघन सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको हुन् । सचिव खतिवडाले एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता, वातावरणीय मापदण्ड सम्बन्धी व्यवस्थामा लचकता, निकासी अनुदान प्याकेजमा विस्तार र नेपाली आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास तथा विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गर्ने लगायतका विषयमा मन्त्रालयले थप सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकार र उद्योगी व्यवसायीबीच विश्वासको वातावरण बनाउन आपसी छलफललाई निरन्तरता दिदै जाने । बताएका छन् । अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गरे । अध्यक्ष मोरले उद्योग विभागमा रहेको एकल बिन्दु सेवा केन्द्रको प्रभावकारिता बढाउन तथा निर्यातमा विविधिकरण र उद्योग सम्बन्धी कानूनको सुधारमा मन्त्रालयले देखाएको अग्रसरताले उद्योग स्थापना तथा सञ्चालनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले विशेष आर्थिक क्षेत्र सञ्चालन तथा अन्य औद्योगिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनमा देखिएका अवरोध हटाउन पहल भइरहेको जानकारी गराए । उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि विभागले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । उद्योग विभागमा रहेको उद्यमी सहजकर्ता सेण्टरको उपयोग गर्न पनि महानिर्देशक सिटौलाले आग्रह गरेका छन् । सो अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, विष्णु अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र राजेश अग्रवालले उद्योग तथा लगानी विस्तारका विषयमा प्रस्तुती गर्दै औद्योगिकीकरणको वातावरण बनाउन तत्कालीन तथा दीर्घकालीन रणनीतिहरु अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
आयातित ढाकाले बजार लिएपछि पाल्पाली ढाका उद्योग धरापमा
बेझाड । पाल्पाली ढाकाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा राम्रो ख्याति कमाएको छ । हातले बुनेका असली पाल्पाकै ढाका कपडाका उत्पादन ग्राहकको रोजाइमा पर्छ । तर पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ । तानबाट उत्पादन गरिएका असली ढाका खरिदका लागि आन्तरिक मात्र नभई विदेशी पर्यटकको आकर्षण रहेका बखत बाहिरबाट मेशिनमा उत्पादित ढाका जिल्लामा भित्रन थालेपछि यहाँको ढाकाको व्यवसाय सङ्कटमा आएको सम्बद्ध व्यवसायी बताउँछन् । जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादन हुने ढाकाका सामग्री उपहारका रुपमा लैजाने गर्छन् । कुनै समय पाल्पामा ३५/४० वटा ढाका उद्योग सञ्चालनमा रहेका थिए । ती उद्योगमा करिब छ हजारले रोजगारी पाएका थिए । तर अहिले मुस्किलले आठ/नौ वटा ढाका उद्योग सञ्चालनमा छन् । त्यसमा करिब २५० जनाले मात्र रोजगार पाएका छन् । हाते तानबाट उत्पादन गरिने ढाका गुणस्तरीयताको हिसाबले राम्रो मानिने गरिन्छ । बाहिरबाट तयारी ढाका जिल्लामा आउन थालेपछि पाल्पाली ढाका उद्योग सङ्कटमा पर्दै गएका हुन् । विसं २०१५ मा स्व. गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि यसको पाल्पामा शुरुआत भएको थियो । महर्जनका श्रीमती पूर्णमाया महर्जनका अनुसार त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतानभन्दा पनि मेशिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । विसं २०१५ मा तानसेनमा हाते तान शुरु गरे पनि विस्तारै यसको मेहनतअनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनले बताए । “यहाँ उत्पादन गरिएको ढाका ३६ जिल्लामा माग भई पठाइयो, कमाई राम्रै भइरहेको थियो, अहिले बाहिरबाट आयातित ढाकाले गर्दा यहाँको उत्पादन कम हुन थालेको छ, तैपनि उद्योग बन्द हुन भने दिने छैन”, उनले भने । पाल्पा जिल्लाको राम्रो पहिचान बोकेको ढाका हिजोआज उत्पादन कम हुँदा उद्योग नै सङ्कटमा पर्न थालेपछि रोजगारी नै बन्द हुनेमा धेरैको चिन्ता छ भने अर्कोतर्फ जिल्लाकै पहिचान मेटिने चिन्ताले पिरोलेको छ । पाल्पाको पहिचान झल्कने ढाका कपडा उद्योगलाई बचाइराख्न प्रदेश सरकारसँग समन्वय भइरहेको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताए । “जिल्लाको राम्रो पहिचान बोकेको ढाका स्वदेशमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा प्रख्यात छ, यसको संरक्षणमा उद्योग वाणिज्य सङ्घ लाग्नेछ, ढाकाको पहिचान मेटिन दिने छैनौ” उनले भने । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोशेली तथा मायाको चिनोका रुपमा ढाका कपडा, ढाका कपडाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले पनि खोजीखोजी ढाका कपडा तथा यसबाट उत्पादित सामग्री लैजाने गर्छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको अभिलेखमा १९ वटा ढाका उद्योग दर्ता भए पनि हाल मुस्किलले आठ÷नौ वटा उद्योग सञ्चालनमा छन् । देश तथा विदेशमा प्रख्याति कमाएको ढाका र करुवाले जिल्लाको पहिचान बढाएको छ । पाल्पा नाम सुन्नेबित्तिकै जो कसैलाई पनि ढाका र करुवाको स्मरण हुने गर्दछ । जिल्लाकै गौरव र विकासमा ठूलो टेवा पु¥याएको छ ढाका र करुवाले । ढाका र करुवाकै कारण यहाँ दिनहुँ थुप्रै पर्यटक भित्रने गर्दछन् । यहीँ ढाका कपडा र करुवाकै कारण पाल्पाको देश तथा विदेशमा प्रख्याति बढ्दै गएको छ । यहाँका महिलाको आयस्रोतका माध्यम नै ढाका पसल बनेको थियो । ढाका कपडाको व्यापारबाट जिल्लाका हजारौँ मानिसलाई रोजगारीको गर्ने अवसर मिलेका बखत बाहिरबाट सामान भित्रन थालेपछि रोजगारी नै खोसिन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्याउन नसके लोप हुनेमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । तानबाट ढाका कपडा बुनेर यहाँका धेरै महिला स्वरोजगार बने । घरखर्च चलाउन छोराछोरीलाई पढाउन आर्थिक अभाव झेल्दै आएका जिल्लाका ग्रामीण भेगका महिलाका लागि पाल्पाली ढाका कपडा बुन्ने एउटा राम्रो रोजीरोटीको माध्यम भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने माग स्थानीयवासीको छ । रासस