अण्डर थर्टी स्ट्रगलः पढाई र कमाई सँगसँगै
काठमाडौ । समान्यतया नेपालमा ३० बर्षसम्मको उमेर पढाईका लागि नै छुट्याउने गरिन्छ । अण्डर थर्टीका युवाहरु सुन्दर भविश्य निर्माणका लागि पढाईमा जुट्ने गर्छन् । बाबु-आमाकै खर्चमा मास्टर्ससम्मको अध्ययन गर्ने युवाहरु धेरै छन् । तर, बुटवल वेलवासमा एक युवा समूहले अण्डर थर्टीमा नै आफ्नो पढाई र कमाई सँगसँगै अघि बढाईरहेका छन् । वेलवासका ती १३ जना युवाले रोयल छोप नामक सुख्खा अचार बेचेर नै उद्यमी बन्ने बाटो समातेका छन् । तिनै मध्यका एक हुन् प्रकाश ज्ञवाली । उनै अण्डर थर्टी युवा ज्ञवालीको पढाई र कमाई सँगसँगैको यात्राका बारेमा केही जान्ने प्रयास गरेका छौँ । यसरी शुरु भयो प्रकाश ज्ञवालीको यात्रा प्रकाश बाग्लुङ्गबाट पढ्न भनेर बुटवल आएका थिए । उनले पहिला सिस्नो कुटेर त्यसको धुलो बेच्ने गरे । त्यसबाट नाफा आर्जन गर्न नसकेपछिसमूहगत रुपमा अचार बेच्न थाले । यसबाट भने राम्रै सफलता मिलेको उनले बताए । अचारको व्यापरसँगै पढाईलाई पनि निरन्तरता दिए, अहिले बिबिएको अध्ययन गरिरहेका छन् । २०५२ सालमा जन्मिएका प्रकाशले अहिलेसम्म ५ बर्षको व्यापारिक अनुभव हासिल गरिसकेका छन् । उनले अचार उत्पादन गरी बेच्न थालेकोपनि ३ बर्ष पूरा भयो । एउटा कोठा भाडामा लिएर व्यवसाय थालेपनि हाल सिङ्गै घर लिएका छन् । बजारमा पाईने अन्य अचार स्वादिलो हुने भएपनि स्वस्थ्यकालागि खासै हितकारी नहुने प्रकाशको संलग्न युवा समूहको बुझाई छ । स्वास्थ्यलाई समेत हानी नहोस् भनेर उनीहरुले बजारमा सुख्खा अचार बनाएर बेच्ने काम शुरु गरेको बताए । अण्डर थर्टी उमेरका युवाले कस्तो अचार बनाउँछन् ? रोयल टिमुरको छोप नामक अचार हाल बजारमा पाइने अर्गानिक अचार मध्ये एक हो । सो अचारमा हर्रो, बर्रो, अमला, तिल , टिमुर, पुदिना, ज्वानो, मटौरी, नुन, खुर्सानी, ल्वाङ्, सुकमेल, तुलसी, जिम्बु आदिको समिश्रण रहेको छ । यो अचारलाई युवाहरुले आफ्नो कमाई खाने भाँडो मात्र नभई स्वास्थ्यको हितकालागि समेत कार्य गरेको बताए । प्रकाश भन्छन्–व्यवसायले पढाईमा असर पारेको छैन, बरु सहयोग गरेको छ । आफ्नै कमाई पढाईमा खर्च गर्न पाइएकोमा उनले खुशी व्यक्त गरे । यसरी नै उनकै समूहका अन्य साथीले पनि पढाई र व्यवसाय दुवै सम्हाल्दै आएका छन् । नेपालको विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा रोयल छोपले स्टल राख्ने गरेको छ । बुटवलमा साधना नेपाल इन्डस्ट्रिजबाट अचारको उत्पादन हुँदै आएको छ । काठमाडौको कोटेश्वरमा रहेको एक गोदाम मार्फत विभिन्न पसल तथा बिग मार्टमा अचारको माग पूर्ति गरिंदै आएको छ । कहाँबाट ल्याइन्छ सरसामाग्री ? अचार निमार्णको लागि तील, तुल्सी, ल्वाङ, जिम्मु, ज्वानो जस्ता आवश्यक सामाग्री नेपालको हुम्ला, जुम्ला, मुगु, अघाखाँची, मुस्ताङ लगायतका ठाउँबाट ल्याउने गरेका छन् । पढाईबाट बचेको समयमा विद्यार्थी जीवनमा प्रायः फेसबुक चलाउने, सुत्ने, फिल्म हेर्ने जस्ता काम गरिन्छ । तर, यी युवाहरुले क्षणिक मनोरञ्जन त्यागेर आफ्नो सुन्दर भविष्यको बाटो तय गर्दै छन् । स्वदेशमा काम छैन भने धेरै युवा विदेशिएका छन्, तर प्रकाश र उनको समूहमा रहेका युवाले जस्तै स्वरोजगारको बाटो अपनाए जागिर पाइएन भनेर भौतारिने अवस्था रहँदैन ।
चितवनमा मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक
काठमाडौं । मापदण्ड विपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९ नं वडाकै भोर्लेस्थित महानगर बालुवा तथा क्रसर उद्योग रहेका छन् । त्यसैगरी कविलासको अस्फाल्ट उद्योग र भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भवानी विल्डर्स कन्ट्रक्सनमार्फत सञ्चालित अस्फाल्ट उद्योग सञ्चालनमा रोक लगाइएको छ । अस्फाल्ट उद्योगले गिटी र बालुवाको प्रशोधन गर्ने गरेको थियो । मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृतसुवेदीले जानकारी दिएका छन् । नारायणगढ मुग्लिन सडक निर्माणको नाममा दर्ता नगरी र कार्यविधि विपरीत चलेको सुवेदीको भनाई छ । महानगरले स्थानीय प्रहरी प्रशासनको सहयोगमा ती उद्योग बन्द गराएको हो । क्रसर सञ्चालनसम्बन्धी हालै तयार भएको प्रदेश कानुन अनुसार स्थानीय तहमा इजाजत नलिई, कर नतिरी उद्योग चलाउन नपाउने व्यवस्था छ। नदीनालाबाट वर्षायामको समयमा भारतीय सिमानाबाट तराईमा ५०० मिटर, पहाडी क्षेत्रमा ३०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, घना वन निकुञ्ज र धार्मिक क्षेत्रबाट दुई किमी टाढादेखि नदीजन्य उत्खनन गर्न पाइने कानूनमा उल्लेख छ । रासस
४ हजार व्यक्तिलाई रोजगार प्रदान गर्ने इँटाभट्टा असार मसान्तभित्र हटाउने
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालित इँटाभट्टा उद्योग आगामी २०७६ असार मसान्तभित्रमा उद्योग हटाउने सम्झौता भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच धुलिखेलमा भएको छलफलपछि इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको हो । यसअघि नगरपालिकाले वातावरण प्रदूषण बढ्दै गएको कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न र जग्गादातालाई पनि जग्गा उपलब्ध नगराउन तथा व्यवसायीलाई इँटा नबनाउन आग्रहसहितको सूचना जारी गरी अभियान नै थालनी गरेको थियो । तर पनि व्यवसायीले उक्त सूचनाको अवज्ञा गर्दै इँटाभट्टा सञ्चालन गर्दै आइरहेका थिए । छलफलमा दुवैपक्षबीच सम्झौता गरि उक्त इँटाभट्टा उद्योग हटाउने विषयमा सहमति भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले लामो समयसम्म अल्झिरहेको विषयलाई टुङ्गोमा पुर्याउन सफल भएको बताएका छन् । सम्झौता कसैको जित र हारभित्र नपरी समृद्धिको नाराभित्र परेको र त्यसले नगरको समग्र विकासको कार्यमा थप सहयोग पुग्ने बताएका छन् । काभ्रे इँटा व्यवसायी सङ्घका अध्यक्ष जीतेन्द्र खैमलीले उद्योग बन्द नगर्न आग्रह गरेको भए पनि नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहलाई बुझेर सो सम्झौतापत्रमा हस्ताक्षर गरेको बताएका छन् । उद्योग बन्द हुँदा त्यसले समुदायलाई असर पार्ने बताउँदै, उद्योगले चार हजार मजदूरलाई रोजगारी दिएको कारण अरु ठाउँमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने उनको भनाई रहेको छ । सो क्रममा भकुण्डेबेँसीका किसान इन्द्रप्रसाद सापकोटाले नगरपालिका र इँटा व्यवसायीसँग सम्झौता गर्दा किसानले नगरपालिकासँग गरिएको २१ बुँदै सहमति पत्रलाई सम्बोधन गर्न बिर्सन नहुने बताएका छन्। भकुण्डेबेँसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उद्धवप्रसाद काफ्लेले डिप बोरिङबाट ६०० घरधुरीलाई वितरण गर्दै आएको पानी इँटाभट्टाले गरेको डिप बोरिङका कारण सुक्न गएको हो । त्यसको लागि अहिले रोशीखोलाबाट पानी तान्नको लागि बाध्य भएको र त्यसको लागि प्रक्रिया अगाडि बढाएको बताउँदै नगरपालिकाले खानेपानीको विषयमा सम्झौतापत्रमा उल्लेख गर्नुपर्ने जनाएको छ । हाल सञ्चालित इँटा उद्योग २०७६ साल असार मसान्तभित्रमा उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइ बन्द गर्ने र नगरपालिकासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, हाल उत्पादित इँटा नगर बासिन्दा भूकम्पपीडित लाभग्राहीका लागि सम्बन्धित वडाको सिफारिशमा व्यवसायीले तोकेको मूल्यमा प्रतिइँटा रु तीनको दरले छ हजार इँटासम्म छुट दिनुपर्ने, इँटा उद्योग आसपासमा रहेको सोती खोला करिडोरको ट्रयाक खोल्न करिडोरको मापदण्ड क्षेत्रभित्र पर्ने संरचना र सामग्री हटाउनुपर्ने, सहमति परिपालनाको सन्दर्भमा छुट्टै समिति गठन गरी अनुगमन गर्ने, इँटा उद्योग सञ्चालनमा प्रयोग गरिएको जग्गालाई साँध सिमाना यकिन गरी खेतीयोग्य बनाई जग्गाधनीलाई उपलब्ध गराउनुपर्ने र उल्लेखित बुँदा यसै करारबमोजिम र उल्लेख नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने सम्झौतामा उल्लेख छ । रासस