ओयो होटलले नेपालका महिला पर्यटन उद्यमीहरुलाई सघाँउदै

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल ओयोले शुरुवातदेखि नै साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै आइरहेको छ । होटलले उद्यमीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल र घरहरुबाट यात्रुलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाई रहेको छ । नेपालमा तीव्ररुपले बढि रहेको ओयोको फ्रयानचाईज होटलहरुका एक हिस्सा महिलाद्वारा सञ्चालित होटलहरुले ओगटेका छन् र त्यस्ता होटलहरु सकारात्मकरुपमा वृद्धि भइरहेका छन् । भावी दिनहरुमा पनि थप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथाहरु बुन्न ओयो लागि परेको छ । विभिन्न नेतृव्यदायी भूमिकार व्यवसायमार्फत महिलाहरुले रुढिवादी परम्परालाई त्यागेर अगुवाको रुपमा अगाडि बढिरहेका छन् । पहिला अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताको कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सुक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकोले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडी आउँदैछन् । एउटा त्यस्तै प्रेरणदायक कथा सुशीला मोक्तानको छ जो पोखरामा अवस्थित ओयो १३४ स्ल्पिवेयल होटलकी मालिक हुन् र गत एक वर्षदेखि ओयोसँग साझेदारी गरिरहनु भएको छ । ओयोसँगको आफ्नो यात्राको बारेमा बोल्दै सुशीलाले भने, “ओयोको होटलहरुलाई गुणस्तरीय बनाउने अवधारणले हामीलाई निकै लाभ भएको छ । साथै ओयोले हाम्रा सम्पूर्ण कर्मचारीलाई प्रशिक्षण गरेर अतिथिहरुका लागि गुणस्तरीय आवास र सेवाको अनुभव प्रदान गर्न सक्षम बनाएको छ । म धेरै खुसी छु कि ओयोले म जस्ता महिलाहरुका लागि सफल व्यवसायी बन्ने सपना साकार गर्न अवसर प्रदान गरिरहेको छ ।” पोखराको ओयो २५३ होटल पिनाकलकी मालिक रमा जोशी हुन्, जो ओयोसँग नेपालमा प्रारम्भिक दिनदेखि साझेदारी गरिरहेकी छिन् । उनले भनिन्, “हामी ओयोसँग सुरुवाती दिनदेखि सहकार्य गरिरहेका छौँ । ओयोले कसरी होटलका कर्मचारीलाई आफ्नो आतिथ्य क्षमता वृद्घि गर्न सकिन्छ भनेर प्रशिक्षण दिई सक्षम बनाएकोमा म ओयोको कदर गर्छु । ओयोको प्रविधि र आतिथ्य प्रशिक्षणसँगै हामीले ठूलो संख्यामा अतिथिहरु भित्र्याएका छौँ, जसमा अधिकांश यूवाहरु पनि पर्छन् । ओयोसँग साझेदारी गरेर हाम्रो व्यवसाय र ग्राहक संख्यामा वृद्घि भएको छ ।” ओयोले एकीकृत प्रविधि प्रणाली र कार्यसञ्चालन क्षमताद्वारा एकल होटलहरुलाई रुपान्तरण र नवीकरण गर्दै ओयोका फ्रयानचाईज होटलहरुको गुणस्तर वृद्घि गर्नुका साथै अतिथियात्रुहरुको लागि उत्कृष्ट अनुभव दिन सक्षम भएको छ । साथै ओयोका होटलहरुमा ग्राहक पनि वृद्घि भइरहेका छन् । ओयोद्वारा प्रत्येक होटल संचालकलाई उच्चस्तरीय प्रविधिको पहुँच पु¥याएको छ जसले होटलका संचालकका र प्रबन्धकका लागि दैनिक सञ्चालनमा पूर्ण नियन्त्रण गर्न, लागत घटाउन, कर्मचारी दक्षता बढाउन र समय बचत गर्न मद्दत गर्छ । उनीहरुको व्यवसायसँग सम्बन्धित सम्पूर्ण कुराहरु ओयोको प्रविधिमार्फत सहजै निगरानी र प्रबंधनगर्न सकिन्छ । ओयो होटल्स् एण्ड होम्स्को नेपालमा १५० भन्दा बढि होटल र २५०० कोठाहरु रहेका छन् ।

गत आर्थिक बर्षमा चौधरी ग्रुपद्धारा सरकारी राजश्वमा रु ९.६७ अर्ब याेगदान

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन् । आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०७३/७४ को तुलनामा आर्थिक बर्ष २०७४/७५ मा २२. ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । सो ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२/७३ को तुलनामाभने यो राजश्व ७३ प्रतिशतले बढि छ । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने । चौधरीले उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्ने र  निरन्तर प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्ने बताए । चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/७६ मा नेपालमा २० अर्ब लगानी गरेकाे छ । मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौं माता जभिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सि जी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन् । सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजीब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् । चौधरी ग्रुपमा १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन् । नवलपरासीमा स्थापना गरेको सि जी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक मानिन्छ । ग्रुपले प्रदेशनम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।

डेरी उद्योग विदेशी लगानी खुला नगर्न व्यवसायीकाे माग

काठमाडाैं । संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’मा डेरी उद्याेगमा विदेशी लगानी खुला गर्न लागेकाे भन्दै डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् । सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली डेरी उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् । नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए । उनले भने,’राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर वैदेशिक रोजगारमा जानुपर्छ या कुनै उद्योगमा काम गर्नुपर्छ ।’ ‘डेरी क्षेत्रमा ३० अर्बको लगानी छ । वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढी कर तिरिरहेका छौं । गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराई रहेका छौं । बजारकाे आवश्यकता पूरा गरिरहेका छौं भने यहाँ किन चाहियो विदेशी कम्पनी ?’ उनले प्रश्न गरे । ‘विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनु पर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन लागेको छ’ भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे । नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक इश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी बनाउने बताए । डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको कुरा सरकारले स्वयं स्वीकार गरिसकेको भएपनि विदेशी लगानी भित्र्याउन खाेजेर गलत काम गरेकाे बताए । नेपालमा हाल झण्डै एकहजार ८५० डेरी उद्योग सञ्चालन रहेको बताउँदै उनले सबै उद्योग आ-आफ्नाे क्षेत्रमा सफल रहेको दावी गरे । देशको कुल गृह्रास्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुध क्षेत्रले नौ प्रतिशत योगदान दिइरहेको बताउँदै उनले यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको बताए । दुध क्षेत्रमा ३० अर्ब लगानी रहेको र २० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट दैनिक तीन करोड रुपैयाँ शहरबाट गाउँमा गइरहेको बताए । भारतमा उत्पादन भएको दुध त्यहाँ खपत नभइरहेको अवस्थामा आमुलमार्फत नेपाल ल्याएर बेच्ने षड्यन्त्र भइरहेको बताउँदै उनले भारतले अफ्रिकी तथा सार्क देशलाई केन्द्रविन्दु बनाएर भारतले आफ्नो दुध खपत गरिरहेको बताए । एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले विभिन्न बहानामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी भित्र्याउने काम भइरहेको आरोप लगाए । ‘यो क्षेत्रमा पाँच लाख भन्दा बढी किसान लागेका छन् । यदि विदेशी लगानी आयो भने ती सबै किसानको हालत के हुने हो ?  त्यसको बारेमा कसैले सोचेका छन् ? उनले प्रश्न गरे ।