सिमेन्ट उद्योग प्रतिदिन ६० करोड घाटामा, वैशाखमा खानी चलाउन नपाए वर्षभरी नै सिमेन्ट उत्पादन नहुने

<p>काठमाडौं । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ६० करोड रुपैयाँ नोक्सान हुने गरेको छ ।  सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको लकडाउनको कारणले सिमेन्ट उद्योग बन्द भएको ३३ दिन भइसकेको छ । सिमेन्ट उत्पादक सघंले वैशाखमा पनि चुनढुङ्गा खानी सञ्चालन गर्न नसके वर्षभरी नै सिमेन्ट उत्पादन गर्न नसकिने जानकारी दिएको [&hellip;]</p>

काठमाडौं । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ६० करोड रुपैयाँ नोक्सान हुने गरेको छ ।  सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको लकडाउनको कारणले सिमेन्ट उद्योग बन्द भएको ३३ दिन भइसकेको छ । सिमेन्ट उत्पादक सघंले वैशाखमा पनि चुनढुङ्गा खानी सञ्चालन गर्न नसके वर्षभरी नै सिमेन्ट उत्पादन गर्न नसकिने जानकारी दिएको छ ।

३३ दिन सिमेन्ट उद्योग बन्द हुदा १९ अर्ब ८० नोक्सान भएको संघकाे भनाइ छ । नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ ।  सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लकडाउनको कारणले दैनिक सिमेन्ट उद्योगहरुले ६० करोड घाटा भहिरहेको बताए । लकडाउनले सिमेन्ट उद्योगमा धेरै समस्या आइसकेकोले सरकारले सिमेन्ट उद्योगलाई सहयोग गर्नु पर्ने उनकाे भनाइ छ ।

‘वैशाखमा नै चुनढुङ्गा खानी सञ्चालन गर्न सकियो भने मात्रै यो वर्षका लागि चाहिने सिमेन्ट उत्पादन गर्न सकिन्छ, स्थानीय सरकारको कारणले चैतमा लकडाउ हुनुभन्दा अगाडीदेखि नै चुनढुङ्गा खानी बन्द थियो, खानीबाट चुनढुङ्गा निकालेर उद्योग वा सडकमा ल्याएर राख्न सके मात्रै यो वर्षको लागि सिमेन्ट उत्पान गर्न सकिने छ, सरकारले सिमेन्ट उद्योग बचाउन राहात प्याकेज ल्याउनु पर्छ,’ अध्यक्ष थापाले भने ।

सिमेन्ट उत्पादक सघंले उद्योग मन्त्रालयलाई वैशाखमा खानी सञ्चान गर्न नसके यो वर्ष भरि सिमेन्ट उत्पादन गर्न नसकिने भनेर जानकारी गराईसकेको अध्यक्ष थापाले बताए । थापले भने हामी सिमेन्टमा आत्मानिभर भइसकेका थियौं । तर खानी सञ्चलन गर्न सकिएन भने फेरी नेपालमा विदेशबाट सिमेन्ट ल्याउन पर्ने अवस्था आउन सक्छ ।

बर्षाकाे समयमा खानी सञ्चालन गर्न नसकिने र हिउँदमा नै उद्योगलाई आवश्यक पर्ने चुनढुङ्गा उत्खनन् गर्नुपर्ने थापाको भनाइ छ ।  उनका अनुसार सिमेन्ट उद्योग बन्द हुँदा सबैभन्दा बढी पीडित उद्योगी रहेको बताए । विद्युत् खपत नगरे पनि न्यूनतम शुल्क प्राधिकरणलाई तिर्नुपर्ने, बैङ्कको व्याज पनि बुझाउनै पर्ने, कामदारलाई ज्याला पनि दिनुपर्ने थापाले बताए ।

थापाका अनुसार उद्योगीले दैनिक ६० करोड रुपैयाँ बराबरको कारोबार गर्छन् । जसमध्ये १५ प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई, २५ प्रतिशत सरकारलाई, ५ प्रतिशत बैङ्कलाई र ३ प्रतिशत कर्मचारी र ढुवानीकर्तालाई बुझाउँदै आएका थिए ।

उद्योगीका अनुसार अहिले नेपालमा दैनिक ३० देखि ३५ हजार टन क्लिङ्कर उत्पादन हुन्छ । एक टन क्लिङ्करको मूल्य अहिले ७ हजार ५ सय रुपैयाँ छ । विद्युत प्राधिकरणको पनि सबैभन्दा ठूला उपभोक्ता भनेको उद्योगहरु नै हुन् । ती उद्योग बन्द भएकासँगै विद्युत् खपत पनि घटेको छ ।  अहिले नेपालमा ६१ ओटा सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ ओटा छन् । ग्राइन्डिङ उद्योग ४० ओटा छन् ।

उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर ६१ वटा उद्योग मात्रै संचालनमा छन् ।  नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्याेग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् ।

नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको थापाले बताए ।

कसरी गर्ने खानी सञ्चालन ?

चुनढुङ्गा खानीमा धेरै मानिस चाहिदैन । चुनढुङ्गा उत्खननको लागि करिव ७ जना मजदुरहरु भए पुग्छ । र चुनढुङ्गा ढुवानीको लागि केही मात्र गाडी भए पुग्छ । सरकार सहमत भएमा सामाजिक दुरी कायम गरेर सजिलै खानी चलाउन सकिने थापा बताउछन् ।

Share News