चेम्बरले दाङ र झापामा वितरण गर्यो नगद सहित विभिन्न सामानहरु
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा विभिन्न स्थानमा नगद सहित अन्य सामानहरु वितरण गर्दै आएको छ । सोही अनुरुप चेम्बरले दाङ र झापामा पनि नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । दाङ चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यसका साथसाथै सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको छ । चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ५१ हजार रूपैयाँ हस्तान्तरण गरेकाे छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई २ सय थान मास्क वितरण गरिएको छ ।
बागमती प्रदेशमा उद्योग परिसंघद्धारा राहत प्रदान
काठमाडौं । नेपाल उद्योग परिसंघले बागमती प्रदेशलाई खाद्य सामाग्री सहयोग गरेको छ । कार्यक्रममा ‘बागमती प्रदेश उद्योग परिसंघ’का संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामाग्री उपलब्ध गराएका हुन् । परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि बागमती प्रदेशलाई सो सामाग्री उपलब्ध गराएको हो । भने अन्य स्थानिय तहमा नि सहयोग प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेट प्रदेशका मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएका हुन् । नेपालका सवै प्रदेश लगायत काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ । पछिल्लो विषम परिस्थितीमा ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत संघले आग्रह गरेको छ । कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन सो स्थानमा काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बन्धमा परिसंघ सबैलाई अपिल गरेको छ ।
कोरोनासँग जुध्न परिसंघको सहयोग जारी, ५ नं प्रदेशलाई राहत वितरण
काठमाडाैं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । शुक्रबार एक कार्यक्रममा ‘प्रदेश नं ५ उद्योग परिसंघ’का संयोजक एजाज आलमले पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राहत सामाग्री उपलब्ध गराएका छन् । त्यस्तै आजै परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष शुलभ अग्रवालले ललीतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष नारायण अवालेलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।