नेपाली कागजको माग बढ्दो, तनहुँमा दुई करोडको लगानीमा कागज उद्योग

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो । उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिए। नेपाली कागजको माग बढेपछि उनले तीन वर्ष अघि ‘शुक्लागण्डकी कागज उद्योग’ स्थापना गरेका थिए। शुरुमा रु एक करोडको लागतमा उद्योग स्थापना गरिएको हो । “प्रत्येक स्थानीय तहमा नेपाली कागजको प्रयोग हुन्छ, एक वर्षयता सो कागजको माग बढ्दै गएको छ ।” तनहुँका साथै कास्की, गोरखा, चितवन, लमजुङलगायतका जिल्लामा नेपाली कागजको माग अत्याधिक भएकाले बजारको समस्या नभएको सिग्देलले बताए। “कागजको बिक्री वितरण बढ्दै गएको छ,” उनले भने। दश रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योगमा ३२ जनाले रोजगारी पाएका छन् । मजदुरलाई कागज उत्पादनका आधारमा पारिश्रमिक दिइन्छ । उद्योगमा एक हजार ८०० वटा कागज सुकाउने पाता छन्। गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्रा, लोक्तालगायतका कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिन्छ । लोक्ताको प्रयोग गरी नेपाली कागज उत्पादन गरिन्छ । सरकारी कामकाजमा यसको अत्याधिक प्रयोग गरिँदै आएको छ । हस्तकला र सजावटका अन्य सामग्री निर्माण गर्नसमेत नेपाली कागजको प्रयोग हुन्छ । कच्चा पदार्थलाई भुस, दाउराले पकाउने (कास्टिङ सोडा राखेर), त्यसलाई पखाल्ने अनि ब्रिज गर्ने (सफा) गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयार हुन्छ । कागजलाई घाममा सुकाउने गरिन्छ। रासस

२५ जना उद्यामी व्यवसायीले प्रधानमन्त्रीलाई नियमित गुनासो राख्ने

काठमाडौं । सरकारले निजी क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा उद्योग बाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सो परिषदमा २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् । कृषि, पर्यटन, उद्योग, निर्माण व्यवसाय, घरेलु उद्यमी, महिला उद्यमी, जलविद्युत क्षेत्र, सूचना प्रबिधी, मनोराञ्जन, शिक्षा क्षेत्र, बैंकिङ, गैर आवासिय नेपाली लगायतको सहभागीता रहेको परिषदले निजी क्षेत्रका समस्याहरु सुनेर समाधानका उपाय खोज्नेछ । परिषदमा मेगा बैंककी सिइओ अनुपमा खुजेली, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसायी आङछिरिङ शेर्पा, पद्यम ज्योति, राजेशकाजी श्रेष्ठ, सुरज वैद्य, भवानी राणा, लोकमान्य गोल्छा लगायतका २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा अर्थमन्त्री, उद्योग मन्त्री, उर्जा मन्त्री र पर्यटन मन्त्री सदस्य रहनेछन् ।

नेपाल थाइल्यान्ड ट्रेड र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य

काठमाडौं। नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ । बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ । यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ । बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । बुमरुङग्राड अस्पताल पूर्णत मेडिकल इक्युपमेन्टले सुविधा सम्पन्न रहेको अस्पता हो । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ । ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो ।