‘लकडाउन’ भएपनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
काठमाडाैं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो । ती उद्योग सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानीटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शङ्कास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । त्यस्ता उद्योगले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन तथा उत्पादन नियमित तुल्याउन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्न आह्वान गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । यसैगरी मन्त्रालयले औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक, कार्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था गर्न पनि आग्रह गरेको छ । अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई नियमित पूर्ण क्षमतामा उत्पादन थाल्न निजी क्षेत्रको छाता संगठनलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ । रासस
बाहुबली सिमेण्टले वितरण गर्याे स्यानीटाइजर र मास्क
काठमाडौं। बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि. ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुनबाट जोगिन स्यानीटाइजर र मास्क वितरण गरेकाे छ । विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियान शुरू गरेकाे हाे । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिनआम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका भित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् । ‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।’ बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भने । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।
बैंकको व्याज र करको समयावधि तीन महिना थप्न वालिङ उद्योग वाणिज्य संघको आग्रह
काठमाडौं । वालिङ उद्योग वाणिज्य संघले बैंकको व्याज र करको समयावधि तीन महिना थप्न आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै व्यवसायी तथा उद्योगीले तिर्नु पर्ने बैंकको व्याज र करको सामयावधि तीन महिना थप गर्न आग्रह गरेको हो । संघले चैत मसान्तसम्म तिर्नु पर्ने करको समावधि तीन महिना बढाउन स्थानिय सरकार, प्रदेश र संघलाई आग्रह गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण व्यवसायीहरु संकटमा परेको बताउँदै संघले बैंकलाई तिर्नु पर्ने ऋणको समावधि तीन महिना थप गर्न उल्लेख गरिएको छ । यस्तै संघले विद्युत महसुलको न्युनतम शुल्क मिनाह गर्न विज्ञप्तीमार्फत उल्लेख गरेको छ । संघले यो संकटको समयमा बजारमा हुने कृतिम अभावलाई नियन्त्रण तथा रोक्नका लागि सबैलाई अनुरोध गरेको छ ।