नेपालमा पहिलो पटक क्रियटिभ बिजनेस कप हुँदै, विजेतालाई ९ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने भएको छ । नेपालमा नयाँ सोच भएका नव उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअप इकोसिस्टम’ विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । करिब ३ वर्षदेखि सक्रिय संस्था अन्तरप्रेरणा र उद्यमशिलताको क्षेत्रमा विश्वभरि कार्यरत डेनमार्कको कोपनहेगनमा रहेको क्रियटिभ बिजनेस कपबिच नेपाली उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । यसबाट यहि वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रियटिभ बिजनेस कप प्रतिस्पर्धामा नेपाली उद्यमीलाई सहभागी हुने अवसर मिलेको छ । नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नविन र सृजनशील कार्यहरु गरिरहेका उद्यमीहरुले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताबाट छानिएका उत्कृष्ट प्रतियोगीले कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय बिजनेस कपमा आफ्नो प्रस्तुती दिन पाउने छन् । तीन दिने अन्तराष्ट्रिय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेले ७००० यूरो बराबरको नेपाली रुपैयाँ(अर्थात  ९ लाख ३ हजार रूपैयाँ) नगद पुरस्कारसँगै अन्य सुविधाहरु पाउनेछन् । क्रियटिभ बिजनेस कपले उद्यमीहरुको सशक्तिकरण, उद्यमीहरुलाई विश्व बजार, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ । हाल अन्तरप्रेरणाले नेपाली उद्यमीहरुका विचमा राष्ट्रिय प्रतियोगिताकोलागि आवेदन आव्हान गरिरहेको छ । यस बिजनेस कपमा सहभागी हुनको लागि अन्तर्प्रेरणाको वेभसाईट https://www.antarprerana.com.np/cbc बाट आवेदन दिन सकिने छ र थप जानकारी पनि पाउन सकिने छ ।

वृज सिमेन्टको प्रायोजनमा चितवनको विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण

काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा मेयर दाहालले यस फुटबल सामाग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खेलकुद विकासमा एक कोषेढुङ्गा सावित हुनेछ मेयर दाहालले बताइन् । सो विद्यालयका प्राध्यापक पुर्ण दवाडीले नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको र यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने दवाडीले बताए । वृज सिमेन्टले आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।

महासंघका विशिष्ट सदस्य ढकाल बंगलादेश प्रस्थान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल बंगलादेश गएका छन् । बंगलादेशको ढाकामा भोलिदेखि आयोजना हुने सार्क उद्योग वाणिज्य संघको ७५औं कार्य समिति बैठकमा भाग लिन ढकालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार उक्त देश प्रस्थान गरेका हुन् । सार्क उवासंघको कार्य समिति बैठकमँ नियमित एजेण्डाका साथै सार्क काउन्सिल बैठक, बीटुबी बैठक तथा अ क्लाइमेट रिसाइलेन्ट एसएः टर्निङ क्लाइमेट स्मार्ट इन्भेष्टमेन्ट अपच्र्युनिटीज इन्टु रियालिटी विषयक सम्मेलन समेत हुने कार्यक्रम छ । उक्त सम्मेलनमा प्रस्तुत विषयमाथि महासंघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नु हुने कार्यक्रम छ । कार्यक्रममा सार्क राष्ट्रका निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरू, वातावरण विज्ञहरूको सहभागिता रहने छ ।