अवैध रुपमा बालुवाको कारोबार गरेपछि अक्सिजन उद्योग निर्माणमा रोक
नुवाकोट । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्राइभेट लिमिटेडको भौतिक संरचना निर्माणमा यहाँको प्रशासनले रोक लगाएको छ । उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक कारोबार गरेको भन्दै प्रशासनले प्रहरीको सहयोगमा निर्माण कार्य तत्कालका लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । विदुर नगरपालिकामा दर्ता भएको उक्त उद्योग २० करोड रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको हो । उद्योगको स्थापनाका लागि घडेरी खन्ने बाहनामा संरचना निर्माणको मापदण्ड मिचेर अवैधरुपमा बालुवा खानी सञ्चालन गरी बेलकोटगढी नगरपालिका–७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा लगेर बिक्री गरेको पाइएको भन्दै विदुर नगरपालिकाले काम बन्द गराउन प्रशासनलाई गत शुक्रबार पत्र पठाएर आग्रह गरेको थियो । उद्योग राख्न लागिएको स्थानमा यसअघि सञ्चालन गरिएको अवैध बालुवा खानीलाई गत चैतमा प्रशासनले बन्द गराएको थियो । उद्योग स्थापनाको समयमा लक्षित उद्देश्यअनुरुप काम नभएको भन्दै विदुर नपामा उजुरी परेपछि भौतिक संरचना निर्माण गर्दा उत्पन्न हुने निर्माण सामग्री नगरपालिकाभित्र मात्र सहुलियत शुल्कमा बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको थियो । तोकिएको मापदण्डको उल्लंघन गरी उद्योगको संरचना निर्माण नगरी अवैध बालुवा उत्खनन गर्नतर्फ केन्द्रित रहेको पाइएकाले निर्माणको काम बन्द गराउन प्रशासनको सहयोग लिएको प्रमुख सञ्जु पण्डितले जानकारी दिए। रासस
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै
काठमाडौं । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । सो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड रूपैयाँ लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै बोर्ड र प्रवद्र्धक कम्पनीबीच प्रारम्भिक सम्झौता भइसकेको छ । आजको सम्झौतापछि कारखाना स्थापनालगायत अन्य कामका लागिसमेत मार्ग प्रशस्त भएको छ । चिनियाँ लगानीकै उद्योग होङशी शिवम्ले नवलपरासीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादन शुरु गरिसकेको सन्दर्भमा चीनको अर्को ठूलो कम्पनी हुवाजिन नेपाल आउन लागेको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले उद्योग स्थापनाको प्रारम्भिक तयारीका काम भइरहेको जानकारी दिँदै आजको सम्झौतापछि लगानी भित्र्याउनका लागि मार्ग प्रशस्त भएको जानकारी दिए । उद्योग स्थापना गर्ने सन्दर्भमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले गत वर्ष नै प्रारम्भिक लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतालाई लगानी बोर्डको बोर्ड र हुवाजिनको बोर्डले पारित गरिसकेको छ । सोही आधारमा आज लगानीको अन्तिम सम्झौता भएको प्रवक्ता वाग्लेले जानकारी दिए। विसं २०७४ मंसिर १२ मा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले रु ६० करोड खर्च गरेको छ । खानीका लागि हालसम्मकै सबैभन्दा धेरै खर्च गरिएको यो पहिलो पटक भएको बताइन्छ । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने बोर्डको भनाइ छ । बोर्डका अनुसार विसं २०७२ पुस ५ गते उक्त कम्पनीको वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृतिसमेत दिइसकेको छ । नेपालमा हाल ४१ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । पछिल्लो पटक होङसी शिवम्समेत थपिएपछि उद्योगको संख्या ४२ पुगेको छ । यस्तै एक दर्जन उद्योग निर्माणका क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । स्थापना भएकामध्ये एक दर्जनभन्दा बढी उद्योगले क्लिंकर उत्पादन गर्ने गर्छन् । सञ्चालनमा रहेका अधिकांश उद्योगले आफ्नो क्षमतासमेत विस्तार गर्दै गएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुराकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार गरेर दैनिक तीन हजार मेट्रिक टन बढी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । सरकारले स्वदेशमै सिमेन्ट उत्पादन गर्ने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेको छ । सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ७७ वटा ब्रान्डका सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट मान्यता प्राप्त गरेका छन् । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता भने ५५ लाख मेट्रिक टन पुगिसकेको संघले जानकारी दिएको छ । विकास निर्माणको काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा समेत लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, उद्योगका लागि आवश्यकपर्ने प्रसारण लाइन तथा यातायातको सहज पहुँचजस्ता विषयमा विशेष ध्यान दिइए थप लगानी भित्रने बोर्डको भनाइ छ । स्थानीयवासीसँग सहजीकरण गरी खानी क्षेत्रसँग पुग्ने पहुँचमार्ग तथा उद्योग स्थापनाका लागि केही समय भित्रै आवश्यक प्रक्रिया शुरु गर्ने जानकारी हुवासिनले आफूहरुलाई दिएको बोर्डका प्रवक्ता वाग्लेको भनाइ छ । चीनबाट यसअघि होङ्सी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब रुपैयाँ लगानी भित्राइसकेको छ । रासस
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेट, सिमेन्ट र पश्मिना उद्योग सञ्चालन गर्ने
बेइजिङ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार(आज) चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेको छ। बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डल स्तरीय वार्ता शुरु भएको छ । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले नेपाल चाइना बिजनेश फोरमलाई सम्बोधन गरेका छन् भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएको थियो । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन्। रासस