सिमेन्ट उद्योगबीच उपहार दिने प्रतिष्पर्धा, क्यास ब्याकदेखि चाँदीका सिक्कासम्म
काठमाडौँ । आफ्ना उत्पादनको बजार बिस्तार र प्रवद्र्धनका लागि सिमेन्ट उद्योगहरु ग्राहकहरुलाई उपहार दिने प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालका सिमेन्ट उत्पादकहरु आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई क्यास ब्याकदेखि चाँदीको सिक्कासम्म उपहार दिने योजना ल्याएका छन् । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले आफ्ना ग्राहकलाई बजार मूल्यमा प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने घोषणा गरेको छ । उदयपुर सिमेन्टका सूचना अधिकारी रामबहादुर जिसीले भने–‘हामीले प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने व्यवस्था गरेका छौँँ ।’ अर्को सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगले निर्माण कार्यको समय शुरु हुन लाग्दा असोजबाटै प्रतिबोरा २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरी बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ रहेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले बताए । यता, शिवम् सिमेन्टले ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्रामको चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्रामको चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने घोषणा गरेको छ । यसैगरी मारुती सिमेन्ट उद्योगले पनि ‘चाँदीको झिलिमिली’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै दिने घोषण गरेको छ । अर्घाखाँची सिमेन्टले पनि ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहार दिने घोषणा गरेको छ । सिमेन्ट उत्पादनको ४ दशक करिब चार दशकअघि सरकारी लगानीमा सञ्चालनमा आएको हिमाल सिमेन्ट उद्योगले नेपाल पहिलो पटक सिमेन्ट उत्पादन शुरु गरेको थियो । अहिले हिमाल सिमेन्ट बन्द भइसकेको छ । त्यसपछिका दिनमा सिमेन्ट उद्योग सञ्चालन हुने क्रम बढ्यो, नेपाली बजारमा बिस्तारै सिमेन्टको माग बढ्न थाल्यो । नेपाली उद्योगीहरुले नेपालमा सिमेन्टको उद्योगहरु आवश्यता छ भनेर सिमेन्ट उद्योगहरु लगानी शुरु गरे । त्यसैको फलस्वरुप नेपाल आज सिमेन्टमा आत्मनिर्भर हुन सफल भएको छ । सरकारले लगानी गरेर शुरु गरेको सिमेन्ट उद्योगले शुरुका चरणमा विभिन्न समस्या भोग्नु पर्यो । हिमाल सिमेन्टले नेपालीहरुलाई सिमेन्ट प्रयोग गर्ने सिकायो र उक्त उद्योग आफैँमा चाँही बन्द भयो । त्यसपछि नेपालमा विदेशी सिमेन्टले बजार पायो र विदेशबाट सिमेन्ट आयात बढ्न थाल्यो । करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योग स्थापना हुन शुरु भयो । नेपालमा नै नेपाली ब्राण्डका सिमेन्ट उत्पादनले विदेशी ब्राण्डको सिमेन्टलाई विस्थापित गर्दै नेपाली सिमेन्टले बजार लियो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने–‘पछिल्लो समय सिमेन्ट उत्पादकहरुले आफ्नो ब्राण्डको प्रोमोट गर्न उपहार योजना ल्याएका हुन् ।’ हाल नेपालमा वार्षिक ८० लाख टन हाराहारी सिमेन्ट उत्पादन भइरहेको छ । निजी क्षेत्रको लगानीमा खुलेका सिमेन्ट उद्योगका कारण सिमेन्टमा देश आत्मनिर्भर भइसकेको छ–अध्यक्ष थापाले भने ।
नेपालको व्यापार–व्यवसायमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो
काठमाडाैं । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ । उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ । नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ । रासस
साढे २ अर्ब लगानी थप्दै हेटौँडा सिमेन्ट, उत्पादन १८० प्रतिशत बढ्ने
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट इन्डष्ट्रिजले १८० प्रतिशतसम्म उत्पादन वृद्धि गर्ने भएको छ । करिब साढे २ अर्ब लगानी थपेर इन्डष्ट्रिजले उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागेकाे हाे । उद्योगले क्षमता अभिवृद्धिकाे लागि साँढे २ अर्ब लगानी समेत थप्ने भएकाे छ । उद्योगकाे क्षमता अभिवृद्धि गर्न हाल भएकाे मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएकाे हाे ।यहि अवसरमा उद्योगकाे जीर्णोद्धार पिन हुने बताइएकाे छ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी भएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले जानकारी दिए । उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्ट प्रति उपभोक्ताको चासो कम हुँदै गएको बताए । उपभोक्ताले गुणस्तरभन्दा पनि मूल्य मात्रै हेरेर सिमेन्ट खरिद गर्ने गरेका छन् । हामीले पनि सिमेन्टको मूल्य घटाउन र उपभोक्ता माझ लोकप्रिय बनाउन २ अर्ब ५० करोड लगानी थप्ने बारे बोर्डमा छलफल भैरहेको छ । बोर्डले पास गरिसके पछि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा प्रस्ताव जाने बर्ताैलाले बताए । हेटौँडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि गरी मूल्य घटाउने याेजना बनाएकाे छ । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको छ । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । के छ हेटौँडा सिमेन्टको बिक्री अवस्था निर्माण कार्यको समय सुरु हुन लागेको समयलाई मध्येनजर गर्दे असोजबाट हेटौँडा सिमेन्टले २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरि बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ थियो । मासिक ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेर सिमेन्ट उद्योगले गत ३ महिनामा करिब ३ लाख बोरा सिमेन्ट बिक्री भएको कम्पनीले जानकरी दिएको छ । कम्पनीले लक्ष्यको २० प्रतिशत मात्रै सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको एक कर्मचारीले भने निजी क्षेत्रका ठूला लगानीको सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएपछि हाम्रो सिमेन्ट बिक्रीमा ह्वातै कमी आएको छ । हेटौँडा सिमेन्टको क्लिङ्कर उत्पानदको अवस्था यस्तो छ सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ हो क्लिङ्कर । हेटौँड सिमेन्ट उद्योगले आफ्नो लक्ष्य अनुसार क्लिङ्कर उत्पादन गर्न सकेकाे छैन । उद्योगको लक्ष्य भने ४५ हजार मेट्रिकटन रहेकोमा ३४ हजार मेट्रिकटन मात्रै क्लिङ्कर उत्पादन भइरहेको छ । उद्योगमा लगानी वृद्धि भए समग्र अवस्थामा सुधार आउने कम्पनीले जानकारी दिएको छ ।