नवलपरासीमा धमाधम स्तरीय होटल तथा रिर्सोट खुल्दै, सयाैंले पाए राेजगारी
परासी । पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय पश्चिम नवलपरासीमा सुविधासम्पन्न होटल तथा रिर्सोट खुल्ने क्रम बढ्दो छ । विशेषगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवलदेखि बर्दघाटसम्मका आसपास क्षेत्रमा अहिले सयौँ होटल सञ्चालनमा आएका छन् । अझै धेरै होटल थपिने क्रममा पनि छन् । जिल्लामा पछिल्लोपटक पर्यटन प्रबर्धन गतिविधिले तीव्रता पाएसँगै यहाँका लगानीकर्ता होटल तथा रिर्सोटमा आकर्षित भएका हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर सरकारले पर्यटन लक्षित गतिविधि बढाएको तथा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पनि छिट्टै सञ्चालनमा ल्याउने भएपछि स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने आसमा यहाँका लगानीकर्ता उत्साहित छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ नवलपरासीका अनुसार विशेषगरी अहिले व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको भूमही क्षेत्रमा सुविधासम्पन्न होटल तथा रिर्सोट धेरै मात्रामा खुलेका छन् । लुम्बिनीबाहेक पश्चिम नवलपरासीमा रहेका पर्यटकीयस्थलमा पनि पर्यटन आकर्षित गर्न सकिने धेरै सम्भावना भएकाले लगानीकर्ता उत्साहित देखिएको सङ्घका अध्यक्ष रमेश पाण्डे बताउँछन् । “भैरहवाको विमानस्थल सञ्चालन भएपछि भैरहवासहित प्रदेशको अस्थायी राजधानीसमेत रहेको बुटवलमा पर्ने चापलाई मध्यनजर गर्दै नजिकको दूरी र त्यहाँको विकल्पको रुपमा पश्चिम नवलपरासीको भूमही, बर्दघाट, सुनवललगायतका स्थान पर्यटकको रोजाइमा पर्ने यहाँका लगानीकर्ताको विश्वास छ”, अध्यक्ष पाण्डेले भने । जिल्लामा पछिल्लोपटक पर्यटकीय गतिविधि बढ्दै गएको छ भने सामाजिक आर्थिक विकाससँगै लगानीको वातावरण बनेकाले होटल तथा ठूलो लगानीको रिर्सोटमा लगानी बढेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए । “जिल्लामा मूल भन्सारको रुपमा महेशपुर भन्सारको सञ्चालन हुनु, औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै जानु, लगानीको वातावरण बन्नु, भैरहवाको विमानस्थलबाट नजिकको दूरी, रामग्राम स्तूपमा पर्यटकको चहलपहल वृद्धि हुँदै जानुजस्ता कारणले अहिले यो क्षेत्रमा लगानी बढेको हो”, उनले भने । एक वर्षअघि भूमहीमा करिब सात करोडको लगानीमा नेचर रे रिभर भ्यू रिर्सोट सञ्चालनमा ल्याएका व्यवसायी कृष्णनारायण श्रेष्ठले पर्यटकलाई नै लक्षित गरेर आफूले लगानी गरेको बताए । “नवलपरासी जिल्ला अहिले पर्यटकीय हिसाबले अघि बढ्दैछ, यहाँका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका स्थानहरुको प्रचारप्रसार, विकास र संरक्षण गर्दै पर्यटक आकर्षण गर्ने संरचना निर्माण गर्न सके यहाँ पनि धेरै पर्यटक ल्याउन सकिन्छ, भैरहवाको विमानस्थल सञ्चालनमा आएपछि त यहाँ आएर बस्न पनि पर्यटकलाई सहज हुन्छ”, उनले भने । यसअघि जिल्लामा सुविधासम्पन्न होटल नहुँदा पाहुनालाई बुटवल भैरहवाका होटलमा बास बसाल्नुपर्ने बाध्यता रहेको तितो अनुभव सुनाउँदै उनले यहाँ आउने पर्यटकको बसाइँ पनि लम्ब्याउन सकिने बताए । रामग्राम स्तूप, लुम्बिनी जानका लागि भूमही केन्द्रविन्दु रहेको तथा बुटवल, पाल्पा जानका लागि पनि भूमही नै केन्द्रमा पर्ने भएकाले व्यापारिक हिसाबले पनि यहाँका होटल तथा रेष्टुरेण्ट एवं रिर्सोट फस्टाउने अवसर रहेको उनले बताएका छन् । यसैगरी भूमहीमै छ महिनाअघि सञ्चालनमा आएको होटल एटलसका सञ्चालक कृष्ण श्रेष्ठले जिल्लामा सुविधासम्पन्न होटलको अभावमा यहाँ आउने पाहुनालाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पनि आफूले यो क्षेत्रमा लगानी गरेको उनले जानकारी दिएका छन् । “अहिले भूमही व्यापारिक र पर्यटनको हिसाबले मुख्य जक्सनको रुपमा स्थापित भएको छ, यहाँबाट रामग्राम स्तूप १० किलोमिटर र लुम्बिनी ४० किलोमिटरको दूरीमा मात्र छ, यहाँबाट धेरै शाखा बाटोहरु पनि छन्, अब पर्यटक अलपत्र पर्नुपर्ने अवस्था छैन”, उनले भने । नवलपरासी जिल्ला आफैँमा पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले अब यहाँका पर्यटकीयस्थलको विकास र व्यापक प्रचारप्रसारमा सरकारसहित सबै मिलेर लाग्नुपर्ने उनको धारणा छ । पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, पर्यटकीयस्थलसम्म पुग्ने सडकको स्तरवृद्धि, यातायात विस्तार तथा पर्यटकको बसाइँ लम्ब्याउन सकिने अन्य संरचना निर्माण गर्न जरुरी रहेको भन्दै उनले तीनै तहका सरकारको अब यसमा ध्यान जानुपर्ने उल्लेख गरे । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका अनुसार जिल्लामा गत आव २०७५÷७६ सम्ममा एक हजार ६३ पर्यटन उद्योग सञ्चालनमा छन् । गत आवमा मात्रै १२८ पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख नेत्रप्रसाद भुसालले बताए । “व्यवसायीहरु पर्यटन उद्योगमा आकर्षित भएपछि सयौँले रोजगारी पाएका छन्, आर्थिक क्रियाकलाप बढेको छ, मुलुककै विकासमा यसले टेवा पुर्याएको छ”, उनले भने । अहिले जिल्लामा सबै स्तरका होटलहरु खोल्ने प्रतिस्पर्धा जस्तै छ । नेचर रे रिभर भ्यू रिर्सोट, लोटस रिर्सोट, हिमालयन होटल, एटसल होटल, रोयल कटेज, सनसाइन होटललगायतका स्तरीय होटल तथा रिर्सोटहरुले अहिले जिल्लाकै प्रतिष्ठा राखेका छन् । यसबाहेक करोडौँ लगानीका अन्य ठूलाठूला होटलहरु पनि निर्माणाधीन अवस्थामा रहेका छन् । सदरमुकाम परासी क्षेत्रमा भने अझै पनि स्तरीय होटलको अभाव नै छ । सदरमुकामबाट सरकारी कार्यालय विस्थापित भएसँगै यहाँ लगानीकर्ताले लगानी गर्न रुचि देखाएका छैनन् । अब जिल्लामा रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको विकास नै प्राथमिकतामा पर्नुपर्ने पर्यटन व्यवसायीको जोड छ । पश्चिम नवलपरासीमा भगवान् गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, बुद्धसँगै सम्बन्धित कोलिय गणराज्यको राजधानी पण्डितपुर, अनोमाघाट, ऐतिहासिक पाल्हीभगवती मन्दिर, महलपोखरी, नन्दनताल, बाबा बर्दगोरिया, देवदह ताल, कृष्णधाम, संसारकोट, बुद्धमङ्गल ताल, कञ्चनगढी, चुहाडी, बालपुरी मठधुनी मन्दिर, डाकापानी सिमसार, बाउन्न घोला सिमसार, चिसापानी सिमसार, कोलवृक्ष जावा क्षेत्र, सुस्ताजस्ता स्थलहरु धार्मिक तथा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेका क्षेत्र छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यी क्षेत्रहरुको विकासमा चासो देखाउँदै लगानी गर्न थालेका छन् । यद्यपि यो पर्याप्त नभएको स्थानीयवासीले बताउँदै आएका छन् । यी क्षेत्रहरुको पर्याप्त विकास गर्न सकिए यहाँको पर्यटन व्यवसाय फस्टाउनुका साथै रोजागारीमा वृद्धि, जीवनस्तरमा परिवर्तन आउनुका साथै विदेश पलायनसमेत रोक्न सकिने होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घकाे दाबी छ । रासस
चार वर्षदेखिको जग्गा विवाद समाधान, अब ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने
धम्बोझी । बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ । त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन । उक्त विवाद धेरैपटक समाधान गर्ने प्रयास गरिए पनि समाधान हुन नसकेकामा जिल्ला प्रशासन कार्यालयमा भएको पछिल्लो सर्वदलीय बैठकमा सो समस्या समाधान भएको हो । अब भौतिक पूर्वाधार निर्माणको काम शुरु गरिने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताएका छन् । । औद्योगिक क्षेत्रको जग्गामा रहेको २०८ घरसहित करिब २६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा जग्गा दिएर सार्ने सर्वदलीय सहमति बनेपछि विवाद समाधान भएको अध्यक्ष बस्नेतले बताए । उनले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले छानबिन गरेर कसलाई कति जग्गा दिने भन्ने छिनोफानो गरेर जग्गा उपलब्ध गराउने सहमति बनेको बताएका छन् । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि सो वरपरका स्थानीयले रोजगारी पाउनुका साथै अन्य विभिन्न व्यवसायसमेत गर्नसक्ने भएकाले नजिकै जग्गा पाएमा जाने बताएका थिए । जग्गा विवादकै कारण करिब चार वर्षदेखि औद्योगिक क्षेत्र सञ्चालनको काम हुन नसकेकामा अब तीव्र गतिमा काम शुरु गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले बताए । अबका केही महिनाभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर चार वर्षभित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र घर बनाएर बसेका परिवारको उचित व्यवस्थापन गर्न सफल भएको जनाउँदै अब औद्योगिक क्षेत्र निर्माणको काम तीव्र पारिने बताएका छन् । प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारलाई रोजगारी दिने बताइएको छ ।
उद्योग महासंघको आयोजनामा ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिएका छन् । बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका थिए । आफैसँग रहेको स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको प्रवद्र्घनबाट मात्रै बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने भन्दै उनले यसका लागि सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद खनालले विज्ञान र प्रविधिलाई कसरी लघु, घरेलु तथा साना उद्योगसँग जोड्न सकिन्छ भन्नेतर्फ सरकारले योजना बनाउन लागेका जानकारी दिए । अहिले भएका लघु, घरेलु तथा साना उद्योगबाट पाउन सकिने प्रतिफल पनि पाउन नसकिएको भन्दै उनले परम्परागत उद्योगधन्दालाई विज्ञान र प्रविधिसँग जोडेर मात्रै उत्पादकत्व र उत्पादन क्षमता बृद्घि हुने बताएका हुन् । व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले समृद्घिको लागि उद्यमी हुनैपर्ने भन्दै उद्यम र उद्यमशीलता परम्परागत नभएर आधुनिक हुनुपर्नेमा जोड दिएका छन् । यसरी, मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो ।