चेम्बर अफ कमर्सको अध्यक्ष पदमा निर्वाचित भए श्रेष्ठ
काठमाडौं । अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा अशोक कुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् । अर्घाखाँची चेम्बरले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पनि चेम्वर गठन गर्ने जानकारी दिएको छ । कार्यक्रमको पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र चेम्बरका केन्द्रीय सदस्य सन्तोष पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले अर्घाखाँचीमा उद्योग स्थापना तथा विकासका अथाह स्रोत तथा सम्भावनाहरु भएपनि उपयोग गर्न नसकिएको बताए । उनले राष्ट्रकै समृद्धिका लागि पूर्वाधार विकास, भु उपयोग नीति, निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएका छन्। आर्थिक विकासको लागि कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र दुबैले सहकार्य गरेर तिव्र रुपमा अगाडी बढाउनुपर्नेमा उनले जोड दिएका छन् । यस्त,ै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले अर्घाखाँचीको विकासलाई सहयोग पुर्याउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने जानकारी दिएका छन् । उनले अर्घाखाँची जिल्लाबाट लुम्बिनी पनि नजिकै पर्ने भएकाले र प्रसिद्ध पर्यटकीय स्थल देउराली पनि भएकाले पर्यटनको सम्भावना रहेको उल्लेख गरेका हुन् । अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक कुमार श्रेष्ठले अर्घाखाँची जिल्लामा ठुला उद्योग आउन चाहेमा उक्त उद्योगहरुलाई ३ बर्षसम्म कर नलिने बताएका छन् ।
नव नियुक्त महावाणिज्यदूतले भने– साना उद्योगीका उत्पादनको अन्तराष्ट्रिय मार्केटिङमा सघाउँछौं
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताएका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताएका छन् । आफुहरु लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको बताएकी हुन् । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उनले जोड दिएका छन् । यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा गरेको बताए ।
सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
लहान । मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरुमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योग र मिर्चैया नगरपालिका–५ स्थित जयरामनाथ डेरी उद्योगलाई शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिएका छन् । यस्तै नरहा–३ स्थित गङ्गा डेरी उद्योग, मिर्चैया नगरापलिका–६ स्थित शिव दूध डेरी उद्योग, माँ शेराबाली आइसक्रिम उद्योग, जयराम डेरी उद्योग, विष्णुपुर गाउँपालिका–१ स्थित जनसेवा डेरी उद्योग, सगरमाथा डेरी उद्योग, सिरहा नगरपालिका–१ स्थित सिरहा डेरी उद्योग, गणेश दूध डेरी उद्योग, लहान नगरपालिका–८ स्थित सन्तोषी डेरी उद्योग, मुनीसाह दूध डेरी उद्योग, केबी एण्ड सन्न डेरी उद्योग, न्यू राधाकृष्ण डेरी उद्योग, सुखीपुर नगरपालिका–८ स्थित कृष्णबलराम डेरी उद्योगलाई उत्पादन र बिक्री वितरण गर्न रोक लगाइएको प्रमुख सिंहले बताए । त्यस्तै, लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर उद्योग, फ्रेण्डस इन्टरनेशनल, मिल्को इन्डष्टिज, धनकोट माता मिनरल वाटर उद्योग, डि.एण्ड डी ट्रेडर्स, सुखीपुरस्थित गणेश सेल मिल, मनोज मिष्ठान भण्डार, माँ दुर्गा किराना किराना स्टोर र जलसो डेरी उद्योगलाई समेत उत्पादन र बिक्री वितरणमा रोक लगाइएको उनले जानकारी दिएका हुन् । अनुगमनका क्रममा अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएकाले कसुरको मात्रा हेरेर उत्पादन र बिक्री वितरणमा रोक लगाउनुदेखि शिलबन्दीसमेत गरिएको प्रमुख सिंहको भनाइ छ । डेरी उद्योगीलाई पटकपटक तोकिएको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले यस्तो गरेको प्रमुख सिंहले बताएका छन् । कारवाही गरिएको उद्योगलाई मापदण्ड अपनाएको कागजात र प्रमाण पेश गर्नसमेत निर्देशन दिएको र आवश्यक प्रमाण ल्याएपछि उत्पादन र बिक्री वितरण गर्न अनुमति दिने उनको भनाइ छ । रासस