मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा एक अर्ब ६२ करोड ३७ लाख रुपैयाँ अन्तशुल्क(राजश्व) बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले एक अर्ब २२ करोड ५५ लाख रुपैयाँ रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले २५ करोड ६५ लाख रुपैयाँ र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले २४ करोड १७ लाख रुपैयाँ अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका छन् । रासस

सुन आयातको कोटा हटाउने गभर्नरको संकेत, मिलेर निर्यातमा जुट्न सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सुन आयातको कोटा प्रणाली हटाउने संकेत गरेका छन् । नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गभर्नर डा. नेपालले सुन आयातको कोटा हटाउन केन्द्रिय बैंक तयार रहेको बताएका हुन् । ‘सुन आयातको कोटा हटाउन केन्द्रिय बैंक तयार छ, तर सबै व्यवसायी मिलेर निर्यात परिषद गठन गरेर सुनका गहना निर्यात गर्न भने सक्नुपर्छ’, गभर्नर नेपालले भने । उनले गहना निर्यातका लागि मौद्रिक नीतिले सुबिधा उपलब्ध गराएको बताउँदै त्यसलाई अझ बढाउन पनि आफु तयार रहेको स्पष्ट पारेका थिए । हाल बिहेको सिजनमा दैनिक २५ किलोग्राम सुन आयात हुँदै आएको छ । साधारण समयमा भने २० किलोग्राम आयात भैरहेको छ । नेपालमा सुन आयातको जिम्मेवारी बाणिज्य बैंकहरुले पाउँदै आएका छन् । नेपालमा सुनको माग दैनिक ५० किलोग्राम रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । बाँकी सुन भन्सार छलेर भित्रिने गरेको तथ्यहरुले नै देखाईरहेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सुनचाँदीका गहनाको निर्यात सम्भावना अधिक रहेको बताएका थिए । नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष ज्योत्सना श्रेष्ठले सुन खरिदको लागि व्यवसायीहरुले सबै बाणिज्य बैंकहरुमा खाता खोल्नुपर्ने बाध्यता रहेको बताईन् । उनले एकाध बैंकबाट सुन आयात गर्न पाउनुपर्ने धारणा पनि राखेकी थिईन् । सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिन् । त्यस्तै हालको ५० हजार रुपैयाँ भन्दा बढी मुल्यको सुन खरिद गर्न चेकबाट भुक्तानी गर्ने व्यवस्थालाई बढाएर ५ लाख रुपैयाँ भन्दा बढी पुर्याउनुपर्ने माग गरिन् । यस संघमा करिब ५०० सदस्यहरु आबद्ध रहेको र अन्यसंघहरुमा समेत नेपालभर १६ हजार भन्दा बढि सुनचाँदी व्यवसायीहरु आबद्ध रहेको छन भने प्रत्यक्ष, अप्रत्यक्ष ५२ हजार परिवार आश्रित हरेको अनुमान गरिएको छ ।

बाहिरबाटै मात्रा हेर्न मिल्ने नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर आजदेखि बजारमा, मूल्य १० हजार ६ सय

काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा  ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने भएको हो । कम्पनीले प्रति सिलिन्डर ग्याँसको मूल्य १० हजार ६ सय रुपैंया तोकेको छ । यो ग्याँस सिलिण्डर सबै परिक्षण गरेर आगलागिका बेलामा पनि बिस्फोटन नहुने गरी प्रमाणित गरिएकाले शतप्रतिशत सुरक्षित रहेको कम्पनीको दाबी छ । सिलिण्डर पारदर्शी भएकाले यसमा ग्याँसको मात्रा कति छ भनेर हेर्न सकिन्छ । यो बिल्कुलै खिया प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार विकशित देशमा परीक्षण निकायबाट मजबुत प्रमाणित भएको साथै नापतौल तथा गुणस्तर विभागबाट समेत स्वीकृति तथा प्रमाणीकरण भएको छ । गत बैशाखमा क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई लञ्च गरेको थियो ।आधुनिक प्रविधिबाट निर्मित यस कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइबरले बनेको एलपिजी सिलिन्डरलाई मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो । परम्परागत सिलिण्डरको तुलनामा बलियो भएकाले यसलाई मेनटेनेन्स गरिरहनु नपर्ने कम्पनीको दाबी छ । यो सिलिण्डरको तौल फलामे सिलिण्डरको तुलनामा आधा भन्दा कम रहेको छ । यसमा भएको ह्याण्डल रिङले यसलाई उचाल्न सजिलो बनाउने कम्पनीले जानकारी दिएको छ । बर्षेनी नेपालमा ग्याँस सिलिण्डर बिस्फोट भएर ज्यान नै गुमाउनुपर्ने, धन सम्पती क्षति हुने अवस्था बढ्दै गएको सन्दर्भमा कम्पोजिट ग्याँस विकल्प हुने कम्पनीको भनाई रहेको छ । फलामको सिलिण्डरमा बिस्फोटको खतरा हुने, सिलिण्डरमा २ केजी लेदो तल जम्ने, अपारदर्शीका साथै ग्याँसको मात्रा देख्न नसकिने हुँदा पुरानो प्रविधिलाई हटाउन खोजिएको छ । फलामको सिलिण्डरमा रहेको ग्याँस शून्य डिग्री सेल्सियसमा जम्नेमा कम्पोजिट सिलिण्डरमा माइनस ४० डिग्रीसम्म ग्याँस नजम्ने कम्पनीले जानकारी दिएको छ । नेपाल आयाल निगमले पनि सबै ग्याँस बोटलिङ कम्पनीलाई अनिवार्य रूपमा ५ प्रतिशत कम्पोजिट सिलिण्डर बेच्नुपर्ने नियम बनाउने तयारी गरिरहेको छ । अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन् । यस्ता छन् कम्पोजिट सिलिण्डरको विशेषताहरु नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण-सुरक्षित र विस्फोटन नहुने रहेको छ । यसलाई आगोले विष्फोट गर्न सक्दैन, त्यसैले उपभोक्ताहरुले आफु पूर्ण सुरक्षित भएको विश्वास गर्न सक्ने कम्पनीको दावी रहेको छ । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सकिने छ । कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल बिक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपालग्यास उद्योग पूर्ण स्वचालित छ जसमा अटोमेटिक वोटलिङ्ग प्लान्ट, परीक्षण स्थल छन भने विज्ञ प्राविधिक जनशक्तिले यसको सञ्चालन गरेका छन् । यस उद्योगको प्रत्येक सिफ्टमा १२,००० सिलिण्डर उत्पादन गर्नेे र उपभोक्ताको माग अनुसार १००० मेट्रिक टन सम्मको भण्डार गर्ने क्षमता रहेको छ । हाल यसका २६० भन्दा बढी डिलरहरुले काठमाडौं उपत्यका ग्राहकलाई सेवा पुर्याई रहेका छन् भने उपत्यका बाहिर २०० भन्दा बढी डिलरहरु रहेका छन् । मोबाइल एप सार्वजनिक नेपाल ग्यास उद्योगले आफ्नो मोवाइल एप सार्वजनिक गरेको छ । साथै, कम्पनीले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्वेसेडर घोषणा गरेको छ । उद्योगका कार्यकारी निर्देशक-गोकुल भण्डारीले संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएकोमा कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने बताए । नेपालको मापदण्ड अनुसार स्वीकृत तौल +/–१५० ग्राम रहेतापनि नेपाल ग्यास उद्योगले आफ्नो उत्पादनमा +/–२० ग्रामको मापदण्ड तय गरिएको छ । साथै, मेरो किरानालाई नेपाल ग्यास कम्पोजिट सिलिण्डरको काठमाडौं उपत्यका भित्र अनलाइन डेलिभरी पार्टनरको रुपमा पनि घोषणा गरिएको कम्पनीले जनाएको छ ।