सबै प्रदेशमा एक/एक वटा औद्योगीक करिडोर

मोरङ, २६ फागुन । सरकारले मुलुकका सातवछै प्रदेशमा कम्तिमा एक एकवटा औद्योगीक करिडोर स्थापना गर्ने भएको छ । बिराटनगर भ्रमणमा रहेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफ्नो पुरानो प्रतिवद्धता अनुसार सरकारले सात प्रदेशमा औद्योगिक करिडोर सञ्चालन गर्न लागेको बताए । मोरङ व्यापार सङ्घले आयोजना गरेको कार्यक्रमा मन्त्री पाण्डेले अब जग्गा खरिद गरेर उद्योग निर्माण गर्न समस्या हुने भएकाले प्रत्येक प्रदेशमा कम्तीमा एक एक हजार बिगाह जमिनको व्यवस्था सरकारले गर्ने र त्यसमा उद्योग स्थापना गर्ने नीति बनाउन लागेको बताएका हुन । कतिपय प्रदेशमा जग्गाको व्यवस्थासमेत भइसकेको जानकारी दिँदै भूकम्प, मधेस आन्दोलन, नाकाबन्दीका कारण देशको आर्थिक अवस्था नाजुक भएको कुरा स्वीकार गरे । उनले भने“सरकारले यसका लागि विशेष योजना ल्याउने तयारी गरेको छ ।” विराटनगरको कम्पनी रजिस्ट्र्रारको कार्यालय उद्योग मन्त्रालयले स्थापना गरेको हुँदा यसलाई सुचारुरुपमा सञ्चालन गर्न मन्त्रालय कटिबद्ध रहेकोसमेत उनले बताए । कार्यक्रममा सङ्घका अध्यक्ष पवनकुमार सारडाले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र भूकम्प आदि कारण देशको आर्थिक अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको बताएका थिए । खस्केको आर्थिक अवस्थालाई सुधार गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवाल, उद्योगी ताराचन्द्र खेतानलगायतको सहभागिता रहेको थियो ।

महिलातर्फ उत्कृष्ट करदाता जया शाह पनि कर विवादमा, एशियन डिष्ट्रिलरीद्धारा ३ करोड ७१ लाख कर छलि

काठमाडौं, २४ माघ । आन्तरिक राजश्व विभागले महिला तर्फबाट सबैभन्दा बढी आय कर तिरेको भन्दै सम्मान गरेको जयाको कम्पनी एशियन डिष्ट्रिलरीले ३ करोड ७१ लाख ४१ हजार ५०५ रुपैयाँ कर छलि गरेको भेटिएको छ । शाहले आर्थिक वर्ष २०७०/७१ मा महिलातर्फबाट सबैभन्दा बढी कर तिरेको भन्दै विभागले २०७२ मंसिर १ गते चौथो राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेको थियो । जया एशियन डिष्ट्रलरीको प्रबन्ध निर्देशक छिन् । उनी विजय वहादुर शाहको छोरी हुन् । आन्तरिक राजश्व विभागले दिएको उत्कृष्ट करदाता सम्मान जयाका बाबु विजय बहादुर शाहले ग्रहण गरेका गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलको हातबाट उत्कृष्ट कर सम्मान लिदै जया शाहका बुबा विजय बहादुर शाह । कर कार्यालयले गरेको अनुसन्धानबाट उक्त रकम बराबर कर छलि गरेको पाईए पनि कम्पनीले अझै कर तिरेको छैन । कर कार्यालयले उक्त रकम हालसम्मलाई बक्यौतामा राखेको छ । उनको कम्पनीले हुँदै नभएका कर्मचारीको नाममा ३ करोड ३९ लाख ७५ हजार रुपैयाँ खर्च देखाएर त्यसको २५ प्रतिशत आयकर छलेको छ । त्यस्तै उनको कम्पनीले बैंकबाट ११ करोड ५५ लाख ५३ हजार कर्जा लिएर १ करोड ५२ लाख ५१ हजार खर्च देखाएको छ । तर लिएको कर्जाबाट कम्पनीका सञ्चालक जया शाहले ७ करोड र मेनेजमेन्ट प्रा लिले ४ करोड ३३ लाख रुपैयाँ निव्र्याजी लिएका छन् । बैंकबाट कर्जा लिने, व्याज खर्च देखाउने तर सावा सञ्चालकले अन्य प्रयोजनमा खर्च गरी कम्पनीको नाफा कम देखाएको र नियतबस कर छलि गरेको कर कार्यालयको रिर्पोटमा उल्लेख गरिएको छ । ‘कम्पनीले बोटल वासिङ खर्च ४ करोड ३५ लाख ७० हजार लेखाएको छ । जुन रकम कम्पनीको कुल बिक्री रकमको ४ प्रतिशत हो । यस्तो खर्च अन्य कम्पनीले १ प्रतिशतभन्दा कम गरेका हुन्छन् र त्यो पनि ज्याला शिर्षकमा खर्च हुन्छ । उक्त कार्य बाह्य कम्पनीबाट गराएको भए त्यसमा भ्याट, अग्रिम आय कर जोडिएर आउँछ । भ्याट वा अग्रिम कर पनि नदेखाउने, कर्मचारी खर्च पनि अधिक देखाउने, त्यसमाथि कुल बिक्रीको ४ प्रतिशत वासिङ खर्च देखाउने कार्यबाट कम्पनीको कर छलिको नियत प्रष्ट दखिन्छ’ कर कार्यालयको रिपोर्टमा प्रष्ट भनिएको छ । बोटल हासिङ शिर्षबाट मात्र ६५ लाख ३५ हजार कर छलि भएको देखिएको छ । कम्पनीले सिद्धीगणेश इन्टरप्राईजेजलाई इन्सेन्टीभ, बोनस, डिष्ट्रव्यूशन क्लेम, ढुवानी खर्च आदिको नाममा २० करोड ४० लाख ३९ हजार रुपैयाँ छुट दिएको छ । यो रकम सिद्धी गणेशलाई ढुवानी खर्च वाफत दिएको ३ करोड २९ लाख ७५ हजार वाहेक हो । यो कारोबारबाट मात्र कम्पनीले ३ करोड ६ लाख रुपैयाँ राजश्व छलि गरेको कर कार्यालयको ठहर छ । सिद्धीगणेश इन्टरप्राईजेजले पनि ३ करोड ५५ लाख रुपैयाँ भन्दा बढी कर छलेको छ । त्यस विषयमा विकासन्युजमा प्रकाशित समाचारबारे सिद्धी गणेश इन्टरप्राईजेज, कम्पनीको सञ्चाल प्रगुण राजभण्डारी, कर कार्यालय मौन बसेका छन् ।

देउराली जनता फर्मास्युटिकल्स पब्लिक कम्पनीमा जाने तयारी गर्दै

काठमाडौं, १३ माघ । देउराली जनता फर्मास्युटिकल्स प्राली पब्लिक कम्पनीमा जाने भएको छ । प्रतिष्पर्धी क्षमता विकासका लागि ठुलो लगानी आवश्यक पर्ने भएकाले पब्लिक कम्पनीमा जानेबारे तयारी गरिएको देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । आगामी दुई चार बर्ष भित्रै कम्पनी पब्लिक लिमिटेडमा जाने उनले जानकारी दिए । देउराली जनता फर्मास्युटिकल्सले हालसम्म एक अर्ब २० करोडको लगानी गरिसेकेको छ । मुलुकमा औद्योगीक लगानीको वातावरण नबनेकाले ठुलो मात्रामा लगानी थप्ने अवस्था नरहेको कार्यकारी निर्देशक शर्माले बताए । यद्यपी कम्पनीले निकट भविष्यमै ६० करोड लगानी थप्दैछ । नेपालमा लगानीका लागि पैसाको अभाव नरहेपनि औद्योगीक वातावरण भने अझै बन्न नसकेकोमा उनले दुःखेसो पोखे । कम्पनीले दिव्यम प्रोजेक्टमा तत्कालै १० करोड लगानी थप्दैछ । सो लगानीबाट ४५ जनाले रोजगारी पाउनेछन् । दिब्यम प्लान्टबाट पाचन प्रणाली सम्बन्धी औषधीहरु उत्पादन हुनेछन् । त्यस्तै, ५० करोडको लगानीमा इन्जेक्टेबल प्लान्ट समेत स्थापनाको गृह कार्य भैरहेको कार्यकारी निर्देशक शर्माले बताए । देउराली जनता फर्मास्युटिकल्सले रजत जयन्ती बनाउँदैछ । सोही अवसरमा दिव्यम प्लान्टको सुभारम्भ गर्ने उनले बताए । नेपालको कुल औषधी बजारमध्ये कम्पनीका उत्पादनले ४ दशमलब ७ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले ३६५ जनालाई रोजगारी प्रदान गरेको छ । नेपाली औषधी निर्यात गर्ने सम्भावना रहेको भएपनि प्रतिष्पर्धी क्षमताको अभावमा तत्काल निर्यात सम्भव नरहेको उनी बताउँछन् । हाल नेपालमा ३५५ औषधी उद्योगले  लाईसेन्स लिएका छन ।