देश विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्यः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्य हुने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार” विषयक पुस्तकको बिमोचन गर्दै मन्त्री खतिवडाले त्यस्तो बताएका हुन् । मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव अपरिहार्य रहेको स्वीकार गरे । समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्नेमा विश्वस्त रहदै निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक÷औद्योगिक समुदाय बीचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालमा र भारतमा दुबै चेम्बरमा भारत नेपाल सेन्टरको स्थापना गर्ने सहमति गरेका थिए ।
औद्योगिक विवरण अनलाइनबाट मात्रै पेश गर्नुपर्ने, समय घर्किए ५० हजार जरिवाना
काठमाडौँ । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह समेत गरिसकेको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने, “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता वस्तुको उत्पादन तथा सेवा उपलब्ध भइरहेका छन् भन्नेलगायतका अद्यावधिक तथ्यांक विभागलाई उपलब्ध हुने हुँदा आगामी दिनमा रणनीति बनाउन सहज हुनेछ । ” तोकिएको समयमा विवरण पेश नगर्ने लघु उद्योगीलाई प्रतिवर्ष पाँच हजार, घरेलु उद्योगलाई १० हजार, साना उद्योगलाई २० हजार, मझौला उद्योगलाई ४० हजार र ठूला उद्योगलाई ५० हजार जरिवाना गरिने विभागले जनाएको छ ।
चितवन मिल्क पुनः सञ्चालनको तयारी, दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने
चितवन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन् । उनीहरुले दूध प्रशोधन गरेबापत उद्योगलाई भाडा तिर्ने गरेका छन् । तर उद्योग नियमित सञ्चालन भने हुन सकेको छैन । उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने बताए । संघसँग सम्झौताअनुरुप आउने दूधको धुलो उत्पादनसँगै उद्योगले आफ्ना अन्य उत्पादन गर्नेछ । धुलो दुधबाट नियमित उत्पादन शुरु गर्न लागिएको हो । क्रमशः अन्य उत्पादन बढाउँदै लगिने भएको छ । सरकारले हाल धुलो दूध आयातमा प्रतिबन्ध लगाएको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थ उपयोग गर्न नेपाल डेरी उद्योग संघ सकारात्मक भएको छ । कम गुणस्तरको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको बेला भूकम्पले उपकरण र भवनमा क्षति पुर्याएपछि उद्योग बन्द भएको थियो । उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगमा तीन प्रकारको धुलो दूध उत्पादन गर्न सकिने बताए। दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने क्षमता उद्योगसँग छ । घ्यू, दही, पनिर र पोका दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ । विसं २०६६ मा आठ बिगाहा क्षेत्रफलमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा भरतपुर महानगरपालिका-१ ठिमुरामा उद्योग स्थापना गरिएको थियो । शुरुका वर्ष दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो । धुलो दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग भूकम्पछि पूर्णरुपमा बन्द भयो । पराजुलीका अनुसार भारतमा बिक्री नभएको गुणस्तरहीन धुलो दूधसमेत नेपाल भित्रिदा यहाँका उच्च गुणस्तरको दूधले बजार पाउन सकेको थिएन । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीसँग बचेको दूध उद्योगलाई भाडा तिरेर धुलो र नौनी उत्पादन गर्दै आएको बताए । डेरी उद्योगले बचेको दूधको धुलो उत्पादन थालेपछि दूध बढी भएको समयमा किसानलाई आलोपालो प्रथा (मिल्क होलिडे) गर्न नपरेको संघले जनाएको छ । भारतीय धुलो दूध आयात रोकेर नेपालको चितवन मिल्क, दुग्ध विकास संस्थानको विराटनगरमा रहेको उद्योग र सुजल डेरीको पोखरामा रहेको उद्योग नियमित सञ्चालन गर्न सकेमा नेपाल दूधमा आत्मनिर्भर हुने राजभण्डारीको दाबी छ । जसका लागि नेपाली कृषकलाई सरकारले अनुदान दिनुपर्ने कृषक बताउँछन् । रासस