वृज सिमेन्टको प्रायोजनमा चितवनको विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण

काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा मेयर दाहालले यस फुटबल सामाग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खेलकुद विकासमा एक कोषेढुङ्गा सावित हुनेछ मेयर दाहालले बताइन् । सो विद्यालयका प्राध्यापक पुर्ण दवाडीले नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको र यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने दवाडीले बताए । वृज सिमेन्टले आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।

महासंघका विशिष्ट सदस्य ढकाल बंगलादेश प्रस्थान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल बंगलादेश गएका छन् । बंगलादेशको ढाकामा भोलिदेखि आयोजना हुने सार्क उद्योग वाणिज्य संघको ७५औं कार्य समिति बैठकमा भाग लिन ढकालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार उक्त देश प्रस्थान गरेका हुन् । सार्क उवासंघको कार्य समिति बैठकमँ नियमित एजेण्डाका साथै सार्क काउन्सिल बैठक, बीटुबी बैठक तथा अ क्लाइमेट रिसाइलेन्ट एसएः टर्निङ क्लाइमेट स्मार्ट इन्भेष्टमेन्ट अपच्र्युनिटीज इन्टु रियालिटी विषयक सम्मेलन समेत हुने कार्यक्रम छ । उक्त सम्मेलनमा प्रस्तुत विषयमाथि महासंघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नु हुने कार्यक्रम छ । कार्यक्रममा सार्क राष्ट्रका निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरू, वातावरण विज्ञहरूको सहभागिता रहने छ ।

मौद्रिक नीतिप्रति महासंघको मिश्रित धारणा, उद्योगको विकासबिना आर्थिक समृद्धि हुन नसक्ने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिप्रति मिश्रित धारणा व्यक्त गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक बृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य प्राप्तिलाई सहजीकरण गर्ने उद्देश्यका साथ रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालन र ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहनु सकारात्मक विषय भएको कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए। नेपाल सरकारले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई सार्थकता प्रदान गर्न यसले थप बल प्रदान गर्ने अपेक्षा गर्न सकिने उनले बताएका छन् । नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगको विकासबिना आर्थिक समृद्धि हुन नसक्ने परिप्रेक्ष्यमा यसैमा केन्द्रीत भई महासंघ मौद्रिक नीतिका बारेमा प्रतिक्रिया व्यक्त गरेको छ । जारी मौद्रिक नीति अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ भने विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था यथावत कायम गरेको छ । सरकारले आर्थिक बर्ष २०७५/७६ मा ५ लाखलाई रोजगारी दिने तथा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न सहयोग गर्ने प्रमुख माध्यम नै लघु, घरेलृु तथा साना उद्योग भएकाले मौद्रिक नीतिमा यो क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जा क्षेत्रमा स्पष्ट रुपमा समावेश नगर्नु दुर्भाग्यको विषय भएको कार्यवाहक अध्यक्ष सिंहले बताए । ‘मौद्रिक नीतिमा उल्लेखित रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारी, दलित, जनजाति, उत्पीडित, महिला, अपांगता भएका व्यक्ति, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसाय आदिलाई प्रवद्र्घन गर्न र निर्यातलाई प्रोत्साहन गर्न एक प्रतिशतमा प्रदान गर्दै आएको विशेष पुनर्कर्जा र विदेशी मुद्रामा निर्यात प्रोत्साहित गर्न लाइवोरमा ०.२५ थप गरी हुने ब्याजदरमा दिइने निर्यात पुनर्कर्जा दरलाई पनि यथावत राखिएको सन्दर्भमा विगतमा यस्तो पुर्नकर्जा लघु, घरेलु तथा साना उद्योगले प्राप्त गर्न नसकेको अवस्था रहेकोले यस किसिमको कर्जा सहज रुपमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रले पाउने व्यवस्था गर्न आवश्यक छ ।’ –उनले भने । बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिको उद्देश्य भएपनि विगतको दृष्टान्त हेर्दा वाणिज्य बैंकहरुले उल्टै नेपाल राष्ट्र बैंकलाई पेनाल्टी दिन तयार हुने तर यस क्षेत्रमा लगानी गर्न हिच्किच्याउने प्रवृत्ति रहेको भन्दै अध्यक्ष सिंहले यसतर्फ मौद्रिक नीतिले ठोस सम्बोधन गर्न आग्रह गरेका छन् । महिलाहरुबाट संचालन हुने परियोजनाका लागि १५ लाख रूपैयाँसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइनु र महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेर महिला उद्यमशीलताको विकासका लागि मौद्रिक नीतिले थप व्यवस्थित गरकोमा स्वागतयोग्य भएको उनले बताए । नेपाल राष्ट्र बैंकको स्वीकृती वेगर पनि सबै स्थानीय निकाय तथा पालिकास्तरमा बैंकका शाखा खोल्न पाउने व्यवस्थाले वित्तिय पहुँचमा सकारात्मक प्रभाव पर्ने देखिएको भन्दै उनले भने- ‘गाउँपालिकास्थित लघुवित्त वित्तीय संस्थाका कार्यालयहरुले स्वीकारयोग्य धितो लिई समूहमा आबद्ध भएका तथा नभएका व्यक्तिहरुलाई लघु उद्यम सञ्चालन गर्न १० लाख रूपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले लघु उद्यमीहरुको वित्तिय पहुँचमा सहयोग पुग्ने देखिन्छ ।’ वर्तमान सरकारको आर्थिक विकास र सम्बृद्धि प्राप्त गर्ने माध्यम भनेकै मुलुकमा औद्योगिकिरण भएको भन्दै उनले भने– ‘हामीले भन्दै आएको लघु घरेलु तथा साना उद्योगमा वित्तिय पहुँच बढाउन उद्योगमा परियोजनामुखी कर्जा व्यवस्था गर्न मौद्रिक नीति सकारात्मक देखिएन । औद्योगिकरणका लागि पर्याप्त कसरत गरिएको भएता पनि मुलुकमा रहेको तीन लाख भन्दा बढी घरेलु तथा साना उद्योगहरुलाई प्राथमिकता प्राप्त र विपन्न वर्ग कर्जामा गणना गरि वित्तिय पहँच अभिबृद्धि गर्न आगामी दिनमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले उचित कदम चाल्नेछ भन्ने अपेक्षा गर्दछौं ।’