परिसंघले उद्योगी व्यवसायीलाई भन्याेः कोभिड प्रोटोकलको पूर्णपालना गर्नुहाेस्

काठमाडाैं । नेपाल उद्योग परिसंघले कोभिड प्रोटोकलको पूर्णपालनाका लागि उद्योगी व्यवसायीलाई आग्रह गरेकाे छ । संघले कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दा समेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि आग्रह गरेको हाे । त्यस्तै, औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी यस्ता कार्यहरु गर्न संघले अनुरोध गरेको छ । यसैगरी उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा संकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पुर्याउने, औद्योगिक प्रतिष्ठानमा सचेताना कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ । विशेषगरी उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघ आग्रह गर्दछ । यसबाट रोगको संक्रमणबाट बच्नको लागि सहयोग पुग्दछ भने रोग लागिहालेमा उपचार गर्न, आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ्ग गर्न र अन्य व्यक्तिलाई संक्रमण हुनबाट जोगाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ बाट नेपालका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भइरहेका छन् । कोभिडको प्रकोपको सुरुसँगै सरकाले लकडाउन, सेमिलकडाउन र निषेधाज्ञा जस्ता बन्देजहरु लगाउँदै आएको सबैमा विदितै छ । यसबाट उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरु रोगलेभन्दा भोकले प्रभावित हुने देखिएकोले नेपाल उद्योग परिसंघले कोभिडसँगै काममा लागौ भन्ने स्लोगन समेत अगाडी सारेको थियो । यसको मुख्य आशय भनेको उद्योगमा कार्यरत कामदार, श्रमिक, मजदुर र कर्मचारीहरुको मनोवल उच्च बनाई काममा फर्काउनु थियो । उनीहरुको मनोवल उच्च राख्दा उद्योग व्यवसाय सुचारु रुपमा सञ्चालन गर्नको लागि मद्दत पुग्ने र कोभिडको कारण धरासायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेदेखि परिसंघले सरकारसँग उद्योग व्यवसायहरुमा संक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्र मात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन अनुरोध गरेको थियो । नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेको देखिन्छ । त्यसैले, सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि परिसंघका सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछ ।

उद्योगी अग्रवालसहित यी हुन् सरकारबाट विभूषित भएका उद्योगी व्यवसायी

काठमाडौं । सरकारले आज विभिन्न उद्योगी तथा व्यवसायीहरुलाई सम्मानित तथा विभूषित गरेको छ । पाँचौं संविधान दिवसको अवसरमा सरकारले एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीहरुलाई विभूषित गरेको हो । उनीहरुलाई सरकारले मानपदवी, अलंकार र पदकले विभुषित गरेको हो । उद्योगी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित भएका छन् । शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो । सन् १९६० मा रावत मल गोल्यानले स्थापना गरेको व्यवसाय नै अहिलेको शंकर ग्रुपको सुरुवातको पहिलो खुड्किलो थियो । यहीबाट यस समूहको व्यवसायीक यात्रा निरन्तर अगाडि बढ्दै आएको हो । उनै रावतका कान्छा छोरा शंकरलाल अग्रवालले आफ्नो बुबाले सुरु गरेको उद्योगमा नयाँ इट्टा थप्दै लगे । उनले १९७९ मा शंकर ग्रुपको आधारशिला राखेका थिए । शंकरलाल अग्रवालले स्थापना गरेका उद्योगको सूची हरेक वर्ष वढ्दै गएको छ । माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा यो समूहले लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ । ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ । विगत ४५ वर्षमा शंकरलाल अग्रवालको नेतृत्वमा कम्पनीले ठूलो फड्को मारेको छ । यही समूहकै उत्कृष्ट कम्पनी जगदम्बा स्टील नेपालको सबैभन्दा ठूलो स्टील उत्पादक रहेको छ । यही कम्पनीमा मात्रै २५०० जनाले रोजगारी पाइरहेका छन् । जगदम्बा स्टील सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने उत्पादन मूलक उद्योग समेत हो । जगदम्बा ग्रुप र जगदम्बा होल्डिङ शंकर ग्रुप अन्तर्गतका कम्पनीहरु हुन् ।अहिले उनले नेतृत्व गरिरहेको सबै कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पछिल्ला वर्षहरुमा यो समूह ठूला करदाताको सूचीमा टप ५ भित्र पर्दै आएको छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन्। उनी क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हुन् । औंषधि उद्याेगकाे क्षेत्रमा याे अग्रणी उद्याेगकाे रूपमा स्थापित रहेकेा छ । महासंघका कार्यकारिणी सदस्य भरत आचार्यले पनि राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा विभुषण पदक प्राप्त गरेका छन् । युवा उद्यमी आचार्यकाे नेतृत्वमा एक दर्जन भन्दा बढी उद्याेग सञ्चालनमा छन् । महासंघका कार्यकारिणी सदस्य तथा सुन व्यवसायी ज्योत्सना श्रेष्ठले पनि विभुषण पाएकी छिन् । युवा उद्यमी चिराग गोयल, चन्द्र प्रकाश खेतान, व्यवसायी लाक्टा फुर्टि शेर्पा, बिमलमान श्रेष्ठ लगायत पनि सम्मानित भएका छन् । संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित भएका छन् ।

एफएनसीसीआईको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो। कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो । त्यसपश्चात पटक/पटक मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको छैन।