व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न एफएनसीसीआईको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तो परिस्थितिमा प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले उक्त आग्रह गरेको हो । कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा बिक्री गरेको लगायतका कार्यहरू भएकोमा महासंघले ध्यानाकर्षण गराएको हो । ‘कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’, संघले भन्यो- ‘यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा आग्रह गर्दछ ।’ साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि समेत महासंघले नेपाल सरकारसंग माग गरेको छ ।
विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द, लगानी डुब्ने अवस्थामा
गलकोट । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका-१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो । पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए । लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो । “सात महिनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ”, उद्योग सञ्चालक चुडाबहादुर रानाले भने, “केन्द्रीय विद्युत् नभएसम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत् ल्याउने पहल भइरहे पनि केही महिना लाग्ने भयो ।” लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौं बिक्री हुँदै आएको थियो । “लघु विद्युतले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सीप लागेन”, उनले भने, “शुरुमा सिक्दासिक्दै घाटा भयो, अहिले विद्युत् नहुँदा लगानी डुब्ने अवस्था आएको छ ।” हाते कागज उद्योगमा झण्डै ५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताए । पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो । उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्ले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ । पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युत्को आवश्यकता देखिएको छ । उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गरेका रानाले कागजबाटै वार्षिक रु ३० लाखको आर्थिक कारोवार गर्दै आएको बताउँछन् । उद्योगमा अहिले २१५ थान कागज सुकाउने फ्रेम रहेका छन् । केन्द्रीय विद्युत् गाउँ आउना साथ फ्रेम थपेर ५०० पुर्याउने उनको लक्ष्य छ । अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । “पाण्डवखानीमा अहिले विद्युतिकरणको काम भइरहेको छ, सामग्री आपूर्ती नहुँदा केही समय लाग्ने भएको छ”, बितरण केन्द्र प्रमुख गोशलीले भने, “यही दसैं, तिहारपछि विद्युत् जडान गरिनेछ, मागको हिसाबले ट्रान्सफर्मर राख्नुपर्ने भएकाले केही महिना त लाग्ला ।” बागलुङ जिल्लाको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ । रासस
महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड-१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । “आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ ।” महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ । नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड-१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाको आदेशलगायतबाट हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।