१७औँ हस्तकला व्यापार मेलाको तयारी पुरा, मंसिर १२ गतेदेखि शुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । महासङ्घले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पुरा भएको जनाएको छ । मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए । गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । साथै उनले नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने , स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका छन् । आठ प्याभिलियनसहित २०० कक्ष रहने उक्त मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकका २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । मेलाको उद्घाटन अर्थमन्त्री डा. युवाराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।
नेपाली उद्योगमा लगानी बढ्दै, २५ खर्ब ५१अर्ब लगानीका चार लाख उद्योग दर्ता
काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २५ खर्ब ५१अर्ब लगानी भएको छ । ठुला, मझौला, लघु घरेलु तथा साना र लगानी बोर्डमा दर्ता भएका गरी ४ लाख एक हजार ६ सय ६६ उद्योग दर्ता भएका छन् । चालु आवको पहिलो चौमासमा १३ हजार एक सय १६ उद्योगहरू थपिएका छन् । उद्योग विभागले पाँचौ उद्योग दिवसका अवसरमा सोमबार प्रस्तुत गरेको तथ्याकंका अनुसार पछिल्लो समय उद्योगमा लगानी बढ्दै गएको देखिएकाे हाे । यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ८२ अर्ब ५७ करोड रुपैयाँ विदेशी लगानी स्विकृति गरिएको विभागले जनाएको छ । चालु आवको यो अवधिमा वैदेशिक लगानीका एक सय चार उद्योगमा ८५ अर्ब ५७ करोड लगानी प्रतिवद्धता भएको छ । गत आवको चालु आवसम्म उर्जामूलक, उत्पादनमूलक, कृषि वन तथा पैदावरमा आधारित, निर्माण, पर्यटन, सेवामूलक, खनिज र सूचना प्रशासन तथा सञ्चार प्रवधिमा आधारित गरी कुल ४ हजार ८ सय २२ उद्योगहरु विदेशी लगानीमा स्विकृत भएका छन् । विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम गरेको बताएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु गरेको बताएको छ । विभागले पाँचौं उद्योग दिवसका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैन्त्री ऐन, ऊर्जाकाे पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरूङले उत्पादनमूलक उद्योग धेरै भएपनि सरकारले त्यसलाई कसरी विकास गरिन्छ भनी अध्यन गर्न नसकेको बताइन् । उनले सरकारले दिने सेवा सुविधामा पनि ढिलासुस्ती भएका कारण काममा सुस्तता आउने गरेको बताइन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च ब्याजदरको कारण उद्योगमा समस्या आएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको सुखी नेपाली सम्वृद्ध नोपल नारा पुरा हुने बताए । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनु पर्ने उनको भनाइ छ ।
मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै
काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।