व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग-व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन् । “लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड-१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भने । महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् । रासस

उद्योग विभागमा नयाँ फाइल बन्द, सबै काम अब अनलाइनबाट

काठमाडौं । उद्योग विभागले संरचनागत सुधारको कार्यलाई जोड दिएको छ । उद्योगीले नयाँ उद्योग दर्ता, पुराना उद्योग नविकरण लगायत उद्योगबाट हुने सबै कार्य अनलाइनबाट गर्न सक्ने गरि संरचना र प्रणालीमा सुधारकाे काम गरिरहेकाे विभागका महानिर्देशन जीवलाल भुसालले बताए । कम्पनी रजिष्ट्रार कार्यालयले धेरै वर्ष पहिले नै अनलाइन प्रणाली लागू गरेपनि त्यहाँ सबै काम कागजी फाइलमा हुन्छ, सबै काम हातले भाैतिक रूपमा गर्नुपर्छ । पहिला एक दिनमा हुने काम अहिले ३ दिनमा पुरा हुन्छ । उद्याेग विभागले दिने अनलाइन सेवा पनि त्यस्तै हुने हाे कि भन्ने विकासन्युजकाे प्रश्नमा महानिर्देशक भुषालले विभागलाई कागजविहीन कार्यालय बनाउने लक्ष्यका साथ काम भईरहेको उनले बताए । ‘उद्योग विभागलाई पेपरलेस बनाउने र सबै काम डिजिटल्ली गर्ने योजनासहित काम भैरहेको छ’ उनले भने–‘योजना र बजेट सबै स्वीकृत भईसकेको छ । कम्प्यूटर इन्जिनियर हायर पनि गरिसकेका छौं । पूर्ण रुपमा डिजिटल्ली चलेको सरकारी तथा निजी संस्थाहरुले कसरी काम गरिरहेका छन्, त्यसको अध्ययन पनि गरिरहेको छौं । सोही अनुसार नयाँ भवनका कार्यलयको सेटअप बनाइरहेको छौं । उद्याेग विभागमा सेवा लिन आउने सेवाग्राहीले कागजकाे फाइल बाेक्नुपर्ने छैन ।’ उद्योग विभागको आफ्नै नयाँ भवन तयार भएकोले पनि काम गर्न सजिलो भएको उनले बताए । ‘पूर्वाधार पनि राम्रो भएको छ । टिम पनि राम्रो छ । अब हामी हामीले दिने सेवा प्रणाली पूरै परिवर्तन गर्दैछौं’ उनले भने । उद्योग विभागमा ढिला सुस्ती हुन्छ वा निर्णय भएन वा काम भएन भनेर उद्योग व्यवसायीले भन्नु नपर्ने वातावरण बनाउने उनले बताए । ‘विभिन्न ४० प्रकारका उद्योगहरु दर्ता तथा नविकरण गर्दा के के बुझाउनु पर्छ भनेर कानुन बमोजिम चेकलिष्ट तयार गरी उद्योग विभागको वेवसाइटमा सार्वजनिक रुपमा राखेको छौं । उद्योगीहरुले उल्लेखित कागजपत्रसहित निवदेन दिएपछि हामीले हुन्छ वा हुँदैन तत्काल निर्णय दिनसक्छौं’ उनले भने । कोभिड–१९ महामारी र आर्थिक मन्दीको प्रभावले नयाँ फाइल आउन बन्द भएकोले पनि संस्थागत र प्रणालीगत सुधारको काम सहज भईरहेको उनले बताए । ‘निषेधाज्ञा भएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकलको पालना गर्दै हामी अफिस आएर काम गरिरहेको छौं । सेवाग्राही आएको छैनन् । तर पुराना बाँकी काम सिध्याउने र उद्योग विभागलाई नयाँ प्रणालीमा लैजाने काममा व्यस्त छौं’ उनले भने । एक महिनाअघि मात्र उद्योग विभागको महानिर्देशकको जिम्मेवारी पाएका भुसालसँग यसअघि धेरै वर्ष उद्योग विभागमा रहेर काम गरेको अनुभव छ । साथै, चार वटा जिल्लामा स्थानीय विकास अधिकारी भएर काम गरेको अनुभव पनि उनीसँग छ । सहसचिव भएपछि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य मन्त्रालयमा काम गरेको अनुभव उनीसँग छ ।

अब केराउ र मरिचको आयात गर्न पाइने

काठमाडौं । सरकारले केराउ र मरिच आयातमा फुकुवा गरेको छ । आयतबार बसेको मन्त्रिपरिषद् बैठले केराउ र मरिच आयात गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यी दुई वस्तुलाई आयात गर्न सकिने निर्णय गरेको हो ।