कम्पनी रजिष्ट्रार कार्यालयः वर्षमा ६ काण्ड, बिदाका दिन पनि छोड्दैनन् घुस लिन

काठमाडौं । ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक–पटक आउने गरेको छ । सरकारी कुन कार्यालयमा बढी घुस लेनदेन हुन्छ भन्ने सम्झ्यो भने सबैभन्दा बढी भन्सार र मालपोत जस्ता कार्यालय पहिलो नम्बरमा आउँछन् । यी कार्यालयहरु घुस अड्डाका रुपमा परिचित हुँदै आएका छन् । यस्तै, घुस लेनदेन हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय प्रष्ट देखिन थालेको छ । पछिल्लो समय भ्रष्टाचारको आरोपमा सो कार्यालयका कर्मचारीहरु महिनैपिच्छे पक्राउ परेका सूचना तथा समाचारहरु पनि आइरहका छन् । बुधवार छुट्टी लिएर बसेका कम्पनी रजिष्ट्रार कार्यालयका सुब्बा डोरप्रसाद पन्थीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घुस लिँदालिदै पक्राउ गर्यो । पन्थीले बुधबार छुट्टी लिएका थिए । बिदा लिएको दिन पनि कम्पनी रजिष्ट्रार कार्यालयको गेटबाट पैसा लिँदै गर्दा अख्तियारको टोलिले मुचुल्का उठाएर उनलाई नियन्त्रणमा लिए । अहिले उनी माथि आयोगले अनुसन्धान सुरु गरेको छ । आजै अख्तियारले उनी माथि अनुसन्धान सुरु गरेको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले अख्तियारले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको विकासन्यूजलाई जानकारी दिए । पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालय बदनामी हुनु परेको अवस्था छ । उक्त कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । कम्पनीको यस्तो हालत देखेर आफै लाज लागेर आउँछ, कसैले सोध्यो भने म उद्योग मन्त्रालयमा काम गर्छु भन्छु,’ ती कर्मचारीले भने । कम्पनी रजिष्ट्रारको कार्यालयमा घुस काण्डको श्रृंखला यस्तो गत कार्तिकमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो र अनुसन्धानका लागि हिरासतमा राखेको थियो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई पठाएको थियो । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई बोलाएको कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व चाहिँन्छ

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशब प्रसाद भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीलाई सोधका छौं । उनीहरुले महासंघको अबको नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने र नेतृत्वमात्र नभएर व्यवसायीलाई संरक्षण गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । साहसिक नेतृत्वको आवश्यकता छ बिक्रान्त कुमार श्रेष्ठ, अध्यक्ष, स्याङ्जा उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले सबै व्यवसायीको हक समान हो भन्ने ठानोस् । समान व्यवहारले काम गरोस् । हामी साना तथा मझौला व्यवसायीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई साहसिक तरिकाले समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीले गाउँपालिकादेखि केन्द्रसम्म कर तिर्नु पर्ने अवस्था छ । यसको अन्त्य गरोस् । बंैंकले ७ प्रतिशत भनेर ऋण दिन्छ पछि ८ प्रतिशत लिन्छ । यो प्रवृतिलाई व्यवस्थित गर्ने नेतृत्व हामीलाई चाहिन्छ । सबैको अपेक्षा भनेको जसले सबैलाई समान व्यवहार गरेर अगाडि बढ्छ त्यही हामीलाई चाहिन्छ । सरकारसँग लविङ गर्न खालको हुनु पर्छ केशब प्रसाद भण्डारी, अध्यक्ष नवलपरासी उद्योग वाणिज्य संघ सरकारसँग उद्योगी व्यवसायीका समस्यालाई सरल रुपले पुर्याइदिने नेतृत्व आवश्यक छ । हामीलाई कर ठूलो समस्याका रुपमा देखा परेको छ । हामी लगानी गर्न खोज्छौं तर हामीलाई त्यो खालको वातावरण सिर्जना हुँदैन । अबको नेतृत्वले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने हुनु पर्छ । उद्योग र व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण एउटै हुनु पर्छ । कुनै पनि कानुनी कूराहरु ल्याउँदा हामी निजी क्षेत्रको सहकार्य बिना सफल र देश सम्बृद्ध बन्न सक्दैन । हामी सँग सहकार्य गरेर अगाडि बढ्ने सिर्जना अबको नेतृत्वले गर्नु पर्छ । यो निर्वाचनको अपेक्षा सरकारसँग लविङ गर्न सक्ने नेतृत्व हुनु पर्यो । जिल्ला नगरका व्यवसायीका भावना बुझ्ने नेतृत्व हुनुपर्छ । गैर कानुनी रुपबाट हुने कामलाई रोक्नु पर्यो । हाम्रा धेरै समस्या छन् । यसको नेतृत्व आउने नेतृत्वले गर्न आवश्यक छ । सबै व्यवसायीलाई समान व्यवहार गर्ने नेतृत्व आवश्यक छ खिम बहादुर हमाल, अध्यक्ष बुटवल उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीका समस्यालाई पहल गरी समाधान गर्नतर्फ अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् ।  देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । अबको नेतृत्वले राम्रो काम गरोस् भन्ने हामीले अपेक्षा गरेका छौं । करको कुरामा धेरै समस्या छ । यसको समस्या निराकरण गर्ने काम भइरहेको छैन । ठूला घराना र उद्योगीहरुका समस्याहरुलाई मात्र सुन्ने र बुझ्ने मात्र नभई समग्र व्यवसायीको हितमा काम गर्न सक्ने हुनु पर्छ । हाल हामी साना व्यवासयीहरुका धेरै समस्याहरु छन् । ती समस्याहरुलाई सरल रुपमा लिएर राज्यसँग वार्ता गर्न सक्ने हुनु पर्छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । श्रीप्रसाद भलामी ,अध्यक्ष ,गुल्मी उद्योग वाणिज्य संघ हालसम्मको नेतृत्वले सशक्त रुपमा निजी क्षेत्रका माग राख्न सकिरहेको अवस्था छैन । हाम्रा धेरै मागहरु छन् । जुझारु नेतृत्व हामीलाई आवश्यक छ । नेतृत्वका लागि मात्र नभई व्यवसायीलाई संरक्षण गर्ने खालको नेतृत्व हामीलाई आवश्यक छ । हाम्रो समस्या ढुवानीको छ । हाम्रो पहाडमा साना व्यवसायी मात्र छौं । यो समस्यालाई समाधान गर्ने नेतृत्व हामीलाई आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासंको अब आउने नेतृत्व कुशल सक्षम र सबै व्यवसायीका पिर मर्का बुझ्ने खालको हुनु पर्छ । हामी जिल्ला नगरका व्यवसायीका समस्याहरु अहिले सम्म राज्यसम्म पुगाउने प्रयास महासंघले गर्न सकेको अवस्था छैन । त्यो अवस्थालाई अबको नेतृत्वले गहन रुपमा लिन सकोस् हाम्रो यही अपेक्षा छ । सम्बन्धित समाचार: उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

चप्पल उद्योगमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौंकाे क्षति

राँझा । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी आज बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको उहाँको भनाइ छ । आगलागीबाट ८/१० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालक सिंहले दाबी छ । प्रहरीले क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ । विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । रासस